शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कम्युनिष्ट सरकारबाट नागरिक आजित भइसके, पत्रकार जाग्ने बेला आयोेः सभापति देउवा

बिहीबार, ०५ वैशाख २०७६, १२ : २३
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको कम्युनिष्ट सरकारबाट नागरिक आजित भइसकेको बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई कैलालीको धनगढीमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले भने, ‘दुई तिहाइको कम्युनिष्ट सरकार आएपछि नागरिकले विकास तथा शान्ति सुरक्षा पाउनुको सट्टा हत्या र हिंसाको आतङ्कको उपहार पाएका छन् । कम्युनिष्ट पार्टीका नेताहरु झुटा आश्वासन दिएर मात्रै भोट माग्छन् । नागरिकको मर्मअनुसार काम गर्ने एक्लो पार्टी काँग्रेस मात्रै हो ।’

यस्तै, उनले प्रेस स्वतन्त्रता हनन् गरेर वर्तमान सरकारले अधिनायकवादी शासन देखाएको आरोप लगाए । 

‘सरकारले पत्रकारका कलम बन्द गर्ने खालका क्रियाकलाप गरिरहेको छ । पत्रकार सरकारको शत्रु होइन । सहयोगी हो,’ सभापति देउवाले भने,‘सरकारले आफ्ना गल्ती ढाकछोप गर्न पत्रकारमाथि अंकुश लगाउने काम गरिरहेको छ । अब पत्रकार साथीहरु पनि सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने दिन आएको छ ।’

पत्रकारले गलत समाचार लेखेमा कानुनी बाटो अदालती प्रक्रिया भएको भन्दै प्रहरी लगाएर पक्राउ गर्न लगाउनुले सरकार प्रेसलाई दमन गर्न खोज्दैछ भन्ने कुरा स्पष्ट भएको उनले बताए ।

‘भ्रष्ट कम्युनिष्ट नेताहरु देशको विकास चाहँदैनन् । त्यसैले भ्रष्टाचार विरुद्ध समाचार लेख्ने पत्रकारका कलम बन्द गराउने प्रयत्नमा सरकार लागि रहेको छ । सरकारका अधिनायकवादी गतिविधि टुलुटुलु हेरेर बस्ने होइन । सरकारविरुद्ध सशक्त भएर लाग्ने बेला आएको छ,’ सभापति देउवाले भने ।

उक्त कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक, सुदूरपश्चिमका ९ वटै जिल्लाका पार्टी सभापति, प्रदेशसभा सदस्यहरु, भ्रातृ संगठनका कार्यकर्तालगायतको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप