शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेकेदार छनोट

बिहीबार, ०५ वैशाख २०७६, १६ : ३८
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले तामाकोशी–काठमाडौँ ४००/२२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ । 

 

प्राधिकरणले अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट तामाकोशी–काठमाडौँ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्ड निर्माणका लागि भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडलाई छनोट गरेको हो । 

 

चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले काम नगरेपछि प्राधिकरणले ठेक्का तोडी नयाँ ठेक्कामार्फत् ठेकेदार कम्पनी छनोट गरेको हो । 

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार काम गर्न पटक–पटक दिएको निर्देशक चिनियाँ कम्पनीले नमानेपछि सम्झौताको अवधि बाँकी नै रहँदा ठेक्का तोडिएको थियो । 

 

कम्पनीले करीब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र रु ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) ठेक्का पाएको प्राधिकरणले जनाएको छ । 

 

चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले काम नगरेपछि प्राधिकरणले ठेक्का तोडी नयाँ ठेक्का गरी ठेकेदार कम्पनी छनोट गरेको हो । 

 

ठेकेदार कम्पनी केइसी इन्टरनेशनलाई २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौता गर्न आउन बुधबार पत्र दिइएको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिए । 

 

प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ लाख ५४ हजार अमेरिकी डलर र रु छ करोड १६ लाख ७४ हजार कार्यसम्पादन जमानत जफत गरेको थियो । 

 

यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार अमेरिकी डलर र रु छ करोड १६ लाख ७४ हजार बैंक जमानत पनि जफत गरिएको थियो । कम्पनीले ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । 

 

आयोजना नेपाल सरकारको लगानी र एशियाली विकास बैंक तथा नर्वे सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो । खिम्ती र तामाकोशी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन तामाकोशी–काठमाडौँ उच्च क्षमताको प्रसारण लाइन बनाउन गर्न लागिएको हो । 

 

रामेछापको खिम्तीमा बन्न लागेको सवस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४००÷२२० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाइ ४४ किलोमिटर छ । बाह्रबिसे–काठमाडौँ खण्डको ठेक्का भने लार्सन एण्ड टर्वोले पाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप