केन्द्रीय संस्करण

किन हुन्छ सैन्य विद्रोह ?

person explore access_timeबैशाख ६, २०७६ chat_bubble_outline0

भूमिका

     विश्व मानव समाजको इतिहासमा सैन्य विप्लव सामन्य परिघटना जस्तो भइसकेको छ । यो इतिहास सिद्ध तथ्य हो । भर्खरै मध्य अफ्रिकी मुलुक सुडानमा यस्तै सैन्य विप्लव भएको छ । यसले त्यहाँका राष्ट्रपति ओमर अल वसिरको तीस वर्षे शासन समाप्त गरिदिएको छ । उनी सन् १९८९ मा सैन्य विद्रोहमार्फत नै सत्तासीन भएका थिए । वस्तुतः सुडानमा वसिरको आगमन हुनु भन्दाअघिदेखि नै दक्षिणका अफ्रिकी र उत्तरका अरबी समुदायबीच अन्तरविरोध थियो । १९८३ देखि २००५ सम्म भएको गृहयुद्धलाई अफ्रिकाको सबैभन्दा लामो गुहयुद्धको रूपमा लिइन्छ । सन् २००५ मा भएको बृहत् शान्ति सम्झौता अनुरूप ६ वर्षपछि जनमत सङ्ग्रह गर्ने शर्तसहित दक्षिण सुडानलाई स्वायत्तता प्रदान गरियो । सम्झौता अनुसार २०११ मा जनमत सङ्ग्रह भयो । यसमा झण्डै शतप्रतिशत जनताले छुट्टै स्वतन्त्र राज्यको पक्षमा मतदान गरे । जसले नयाँ दक्षिण सुडानको जन्म गरायो  ।

     मुख्यतः कुनै पनि सैन्य विप्लव पछाडि शासकहरुको गैरन्यायिक, तानाशाही, भ्रष्टाचार र पारिवारिक शासन प्रणालीलाई मुख्य कारणको रूपमा पेश गरिँदै आएको छ । शान्ति, स्थायित्व र प्रजातन्त्रका लागि सैन्य कायपलट भनेर व्याख्या गर्ने गरिन्छ । कतिपय सन्दर्भमा यो सही पनि छ । तथापि सत्ता कायपलटपछि पनि त्यहाँ उनीहरुले दाबी गरेअनुरूप प्रगतिशील र न्यायिक शासन सत्ता स्थापना भएको देखिँदैन । बरु प्रायः अधिकांश सैन्य विद्रोह पश्चगामी, निरङ्कुश र विभेदकारी प्रमाणित हुँदै आएको छ । यसकारण सैन्य विप्लव आम बहस र चासोको सवाल हो । त्यसैले यस आलेखमा सैन्य विप्लवको परिभाषा, उत्पत्ति, इतिहास, यसको चरित्र, प्रकृति, उद्देश्य र देशी तथा विदेशी रणनीतिक स्वार्थ आदि विषयमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।

परिभाषाः

     वास्तवमा कू भनेको फ्रेन्च पदावली हो । यसको अर्थ राज्यविरुद्धको प्रहार वा झड्का भन्ने हुन्छ । सत्तारुढ राजनीतिक सत्तालाई सानो सैन्य शक्ति वा समूहले हिंसात्मक वा गैरहिंसात्मक विधिबाट एक्कासि सत्ताच्युत गर्ने विद्रोहलाई नै सैन्य विप्लव भनिन्छ । अवैधानिक तवरमा राजकीय सत्तामाथिको बलपूर्वक गरिने हस्तक्षेप नै सैन्य विप्लव हो । यो गैरकानुनी रूपमा सत्ता उल्ट्याउने छोटो र कम झन्जटिलो बाटो हो । अर्थात सैन्य संरचनामा पूर्ण नियन्त्रण गर्दै राज्यको सम्पूर्ण राजकीय सत्तामाथि बलपूर्वक हस्तगत वा कायपलट गर्नु नै सैन्य विप्लव हो । वास्तवमा अपवादबाहेक सबै सैन्य विद्रोह अझ पश्चगामी, अझ निरङ्कुश र अझ तानाशाही हुने इतिहास सिद्ध तथ्य हो । यो विशुद्ध बन्दुकको कभरमा गरिन्छ । यसकारण यो न्यायपूर्ण र अग्रगामी हुने सम्भावना असाध्यै न्यून हुनेगर्छ ।

उत्पतिः

वस्तुतः मानव समाजको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी प्रक्रिया अनुरूप राज्यको उत्पत्तिसँगै सैन्य संरचनाको विकास भएको देखिन्छ ।  आदिम कालमा वर्गअन्तरविरोध थिएन, जसले गर्दा राज्य पनि अस्तित्वमा थिएन । शोषण, अन्याय र विभेद थिएन । शासक र शासित थिएन । यसकारण सैन्य संरचनाको पनि कुनै जरुरत थिएन । तर समाजमा वर्गको उदयपछि अन्तरविरोधको उदय भयो । मानव समाजको चरित्र वर्गअन्तरविरोधपूर्ण हुनगयो । समाजमा वर्ग स्वार्थ हावी भयो । यही वर्गअन्तरविरोध र स्वार्थको उदयसँगै त्यसलाई दमन, नियन्त्रण र सञ्चालन वा काबुमा ल्याउन राज्यको उदय भयो । यसरी राज्यको उदयसँगै सेना, कर्मचारीतन्त्र, अदालत, प्रहरी र गुप्तचर निकाय अपरिहार्य र आधारभूत अस्त्र बन्नपुग्यो । वर्तमान अन्तरविरोधपूर्ण राज्यसत्ताको चरित्र यही ऐतिहासिक उत्पत्तिकै विकसित, विस्तारित र परिमार्जित रूप हो ।

     वस्तुतः समाजको यही वर्गअन्तरविरोध र स्वार्थ केन्द्रित चरित्रकै कारण प्राचीनकालदेखि नै ठूला ठूला रक्तपातपूर्ण सैन्य विप्लव हुँदैआएको देखिन्छ । लिखित इतिहासअघि पनि धेरै सैन्य विद्रोह भएको पाइन्छ । करिब ५ हजार वर्ष अघिबाट लिखित इतिहास आरम्भ भएको मानिन्छ । यता सैन्य विप्लवको इतिहासमा क्राइस्टभन्दा झण्डै ८ सय वर्षअघि इजरायलको सेनाले तात्कालीन राजा एलनलाई सत्ताच्युत गरेका थिए । प्राचीन सैन्य विद्रोहमा इजरायल, इजिप्ट, एथेन्स, रोम र टर्की अघि देखिन्छ । सुमेरियन, अटोमन र रोम साम्राज्य पनि सैन्य विद्रोहबाट नै खडा गरिएको थियो । झण्डै पाँच हजार वर्ष पहिला नै सुमेरियन सेना अस्तित्वमा रहेको पाइन्छ । ठीक  यही बेला भारतमा मौर्य साम्राज्य जीवित रहेको बताइन्छ । त्यतिखेर भारतमा चन्द्रगुप्ताको सैन्य सङ्गठनलाई सबैभन्दा बलियो मानिन्थ्यो ।

विश्वमा सर्वाधिक चर्चामा रहेको सैन्य विप्लवहरु मध्ये १७९९ मा नेपोलियन बोनपार्टले फ्रान्समा, १९३६ मा फ्रान्सिस्को फ्रान्कोले स्पेनमा, १९६९ मा गद्दाफीले लिबियामा, १९७१ मा इदी अमिनले युगान्डामा अनि १९७३ मा अगुस्टो पिनेचेले चिलीमा गरेको सैन्य विप्लव मुख्य रहेको छ । विश्वको प्रायः अधिकांश मुलुकहरुमा अघिपछि सैन्य विप्लव भएको देखिन्छ । त्यसमा पनि विशेष गरेर स्पेनमा ३६, थाइल्यान्डमा ३०, हैटीमा २८, पाराग्वेमा १९, चीनमा १८, जापानमा १६, फिलिपिन्समा १५, बोलिभियामा १४, स्विजरल्यान्डमा १२, इरानमा ११, टर्की, पोर्चुगल, अफगानिस्तान र बुर्किनो फासोमा १०, सिरिया र लावसमा ९ र नाइजेरियामा ८ पटक सैन्य विप्लव भइसकेको इतिहास छ ।  यस अतिरिक्त पछिल्लो समय गिनी, माडागास्कर, इजिप्ट, कङ्गो, माली, मालावी, आइभरिकोस्ट, सुडान, इरिट्रिया, बेनिन, मौरितानिया, कोमोरोस, चाड, टोगो, फिजी, लिसोथो, बुरुन्डी, गाम्बिया, बङ्गलादेश, माल्दिम्स, पपुवा न्युगिनी, इक्वेडर, यमन र जिम्बावे लगायतका अन्य थुप्रै मुलुकमासैन्य विप्लवमार्फत सत्ता हत्याइएको छ । अर्थात १९५० देखि हालसम्म सफल र असफल गरेर झण्डै पाँच सय सैन्य विद्रोह भइसकेको देखिन्छ ।

 प्रकृतिः

     सामान्यतः सतहबाट मात्र विश्लेषण गर्दा हतियारबद्ध विप्लव सबै उस्तै जस्तो देखिन्छ । तर गहिरोसँग अध्ययन गर्दा सैन्य विद्रोह पदावली उस्तै भए पनि चरित्र एउटै हुँदैन । यो विद्रोह गर्ने शक्ति वा समूहले अङ्गीकार गर्ने राजनीतिक विचार, सिद्धान्त र उद्देश्यमा निर्भर हुन्छ । अर्थात यसको वर्गचरित्र, उद्देश्य र त्यसले अपनाउने भावी रणनीतिक राजनीतिमा यसको फरक अन्तरवस्तु अन्तरनिहीत हुन्छ । यसको अग्रगामी, न्यायपूर्ण र प्रगतिशील चरित्र र औचित्य परिणाममा हेर्नुपर्ने हुन्छ । यद्यपि प्राय अधिकांश सैन्य विप्लवहरु जनहित र रूपान्तरणका पक्षमा हुनसकेको देखिन्न । यसले केवल सैन्य तानाशाह, निरङ्कुशतन्त्र र गैरन्यायिक शासनतन्त्रलाई सुदृढ गर्दै आएको छ । अर्थात एउटा तानाशाहलाई उल्ट्याएर अर्को महातानाशाह जन्माएको देखिन्छ ।

     मूलतः पहिलो गैरसंवैधानिक र बलपूर्वक सेनाको एउटा समूहले सम्पूर्ण राजकीय शक्ति हत्याउने तरिकालाई खुनी विद्रोह भनिन्छ । यो रक्तपातपूर्ण र निर्मम हुने गछै । अमेरिकी उक्साहटमा चिलीको सैनिक तानाशाह अगुस्टो पिनोचेले सन् १९७३ मा एलेन्डेको जननिर्वाचित बहुमत प्राप्त वामपन्थी सरकारलाई सत्ताच्युत गर्नु यही खुनी सैन्य विप्लवको ज्वलन्त उदाहरण हो । यसैगरी दोस्रो आफै शक्तिमा रहँदा सैन्य बलमा अझ व्यापक शक्तिको दुरुपयोग गरी शक्ति केन्द्रीकरण गर्ने महत्त्वकाङ्क्षामा पनि सैन्य विप्लव हुँदै आएको छ  । सन् १९३३ मा हिटलरले यही विधि प्रयोग गरेको देखिन्छ । यसलाई अभिभावकीय विप्लव पनि भनिन्छ ।

  त्यस्तै तेस्रो जुनबेला सेनाको प्रत्यक्ष वा परोक्ष सहयोगमार्फत सत्तासीन शासकलाई शान्तिपूर्णरूपमै पतच्युत गर्ने तरिकालाई स्वेत विप्लव भनिन्छ । उदाहरण स्वरूप सन् २०१२ मा पाराग्वेमा भएको विद्रोहलाई लिन सकिन्छ । त्यसैगरी चौथो, जनताको व्यापक सहभागिता अन्तरगत विद्रोह, आन्दोलन र ¥यालीमार्फत गरिने सङ्गठित आन्दोलनलाई नागरिक विद्रोह भनिन्छ । इटलीमा मुसोलिनीको उदय यसरी नै भएको थियो । पाँचौँ, सेनाको ठूलो हिस्साले बहालवाला  शासकलाई सहयोग नगरी अरूको इसारा वा आफ्नै महत्वाकाङ्क्षामा गरिने तरिकालाई प्रति सैन्य विप्लव भनिन्छ । सन् १९७८ मा एलसल्भाडोरमा यस्तै प्रकृतिको विद्रोह भएको थियो । यसरी स्वार्थ र परिवेश अनुरूप यसको प्रकृति पनि भिन्नभिन्न रहेको छ ।

विद्रोहको कारणः

     वस्तुतः प्रत्येक सैनिक विप्लव पछाडि जिम्मेवार कारणहरु हुने गर्दछ । तर सबै विद्रोहको न्याय र औचित्यपूर्ण कारण हुन्छ भन्ने वस्तुवादी आधार हुँदैन । यसमा पहिलो अन्याय, विभेदकारी र जनता विरोधी शासनसत्ता विरुद्ध न्याय र समानताका लागि विद्रोह अपरिहार्य हुनपुग्छ । शासकवर्गको निरङ्कुशताविरुद्ध यो विद्रोह परिलक्षित हुन्छ । अरू औसत विद्रोह जस्तै हिंसात्मक नै भए पनि यसले अझ अग्रगामी, प्रगतिशील र न्यायपूर्ण राज्यव्यवस्था निर्माणको उद्देश्य राखेको हुन्छ । यसलाई सैन्य विप्लवको प्रगतिशील, न्यायपूर्ण र वस्तुवादी कारण भन्न सकिन्छ । तर यस्तो अन्तरवस्तुसहितको सैन्य विद्रोह दुर्लभै मात्र हुँदै आएको छ ।

     दोस्रो, वर्गअन्तरविरोध र स्वार्थपूर्ण समाजमा सैन्य विप्लव पनि आत्मकेन्द्रित महत्त्वकाङ्क्षा र निहित स्वार्थमा हुनेगर्छ । संसारमा भए गरेका अधिकांश सैन्य विप्लवहरु यही उद्देश्य र कारणमा सीमित हुँदैआएको छ । तानाशाह तानाशाह, सैन्य कमाण्ड कमाण्डर, समुदाय समुदाय र राजनीतिक दलहरु बीचको स्वार्थपूर्ण तानातान बीचमा यस्तो विप्लव हुनेगर्छ । यो रूपमा पूर्वशासकको गैरराजनीतिक चरित्रको पराकाष्ठमा अपनाइएको बाध्यकारी कदम भनेर भन्ने गरिन्छ । तर सारमा यो व्यक्ति व्यक्ति बीचको टकराव, प्रतिस्पर्धा, स्वार्थ र महत्त्वाकाङ्क्षा बीचमा हुनेगर्छ । विश्वमा हुँदै आएको अधिकांश सैन्य विप्लवको मुख्य कारण यही हो । यस्तो विद्रोह लहड, सनक र प्रतिशोधमा मात्र हुँदै आएको छ, जुन अग्रगामी, न्यायिक, परिवर्तनकारी हुनसक्दैन ।

     तेस्रो, अधिकांश सैनिक विप्लवहरु विश्व साम्राज्यवाद र उसैको दिशानिर्देशनमा हुर्किएको देशीय दलालहरुको रणनीतिक उद्देश्य र स्वार्थको जगमा हुनेगर्छ । पछिल्लो समयमा भइरहेको सैन्य कायापलटको मुख्य कारण यही रहेको छ । यसमा पनि प्रायः सबै सैन्य विप्लवहरुमा विशेष गरेर अमेरिकी साम्राज्यवादको रणनीतिक स्वार्थ गाँसिएको देखिन्छ । उसले आफ्नो साम्राज्यवादी स्वार्थ अनुकूलको दलाल शासक चयन गर्न सैन्य विप्लवको रणनीति अपनाउँदै आएको छ । यसको लागि साम्राज्यवादले खास मुलुकको शासनसत्ता भित्र छिर्न वा आफू सुहाउँदो दलाल खोज्न वर्षौंसम्म सत्ता वरिपरि छिद्रहरु खोज्ने गर्छ । यही कसरत अन्तर्गत सानो छिद्र भेट्न साथ उसले सैन्य विप्लव गर्छ । यद्यपि यस्तो विप्लव पनि जनता र परिवर्तनको हितमा हुनसक्दैन । यो यथास्थितिदेखि यथास्थितिसम्मको विप्लव हो । यसले साम्राज्यवाद अनुकुल दलाल पात्र परिवर्तन बाहेक अग्रगामी र न्यायपूर्ण राजनीतिक समाधन गर्न सक्दैन ।

निष्कर्षः

     तसर्थ, सैन्य विप्लवको इतिहास धेरै पुरानो रहेको छ । संसारको अधिकांश मुलुकहरुमा कुनै न कुनै आकार प्रकारको सैनिक विद्रोह भइ नै रहेको देखिन्छ । यो मानव समाजमा वर्गअन्तरविरोध र स्वार्थ जीवित रहेसम्म जारी रहन्छ । सैन्य विप्लवको वास्तविक अन्त्य भनेको समाजमा वर्गअन्तरविरोध र स्वार्थको अन्त्यसँग जोडिएको हुन्छ । साम्राज्यवादी अन्तरविरोध र स्वार्थ रहेसम्म सैन्य विप्लवको अन्त्य हुनैसक्दैन । पछिल्लो समयमा भइरहेको सैनिक कायपलटमा झनै साम्राज्यवादी रणनीतिक स्वार्थ अझ बढी टकराएको देखिन्छ । आफ्नो स्वार्थ अनुकूल दलाल शासन स्थापित गर्न उसले यो विधि अपनाउँदै आएको छ । अर्थात, प्रत्यक्ष र परोक्ष रूपमा उसको स्वार्थ जोडिएको हुन्छ । हालसालै भएको सुडान सैन्य विप्लव पनि साम्राज्यवादी स्वार्थकै पछिल्लो कडी हो । स्मरण रहोस्, सुडानले सन् १९९७ देखि अमेरिकी नाकाबन्दीको सामना गरिरहेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...