शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जागरण अभियानबाट जुर्मुराउला काँग्रेस ?

यस्तो छ कार्यक्रमको ढाँचा, भ्रातृ संस्था परिचालनको छुट्टै तयारी
शुक्रबार, ०६ वैशाख २०७६, १२ : २४
शुक्रबार, ०६ वैशाख २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस वैशाख ११ देखि पुस १६ गतेसम्मको नौ महिने लामो जागरण अभियानमा होमिदैछ । यो अभियानमार्फत काँग्रेसले आफ्ना नेता कार्यकर्तामा एकताको सन्देश प्रवाह गर्ने र सरकारका कमिकमजोरीलाई जनतासामु पुर्याउने योजना अघि सारेको छ ।

तीन चरणमा गरी  वैशाख ११ गते लोकतन्त्र दिवसको दिन सुरु हुने ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ मेलमिलाप दिवसको दिन अर्थात् पुस १६ गते समापन हुने छ ।

मङ्गलबार काँग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर ७७ जिल्ला, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने बताएको थियो । सबै जिल्ला, क्षेत्र, गाउँ, नगर, वडा र टोलसम्म सञ्चालन गर्ने तीन चरणको अभियानअन्तर्गत पहिलो चरणको अभियान वैशाख ११ मा थालेर जेठ ११ मा सम्पन्न गर्नेछ ।

त्यस्तै, दोस्रो चरणको कार्यक्रम भदौ २४ बाट सुरु भएर असोज ७ गते सक्ने तथा तेस्रो चरणमा पुस ७ देखि १६ गतेसम्म ९ दिनको कार्याक्रम तय गरेको छ ।

पहिलो चरणको कार्यक्रम जिल्ला कन्द्रित, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रित हुने काँग्रेसले जनाएको छ । सबै तहमा हुने तीन चरणको कार्यक्रममा केन्द्रीय प्रतिनिधि सहभागी गराउने काँग्रेसको तयारी छ ।

आन्तरिक विवादका कारण नागरिकले प्रतिपक्ष भएको अनुभूति गर्न नसकेको गुनासो आइरहेका बेला काँग्रेस जागरण अभियानको तयारीमा लागेको हो । जसबाट आफूमाथि लागेको निरिह प्रतिपक्षीको ट्याग मेटाएर पार्टीमा जागरण ल्याउने उद्देश्य काँग्रेसको छ । उसले राष्ट्रिय जागरण अभियानबाट १४ वटा उद्देश्य प्राप्त गर्ने लक्ष्य लिएको छ । तर एउटा पार्टी सफल हुन उसका सबै अङ्गप्रत्याङग र संगठनहरु चुस्तदुरुस्त हुन जरुरी हुन्छ । तर, काँग्रेसका संगठनहरु लथालिङ भएका कारण उ आफै कमजोर अवस्थामा गुज्रिएको काँग्रेसकै नेताहरुको ठहर छ । आन्तरिक किचलोका कारण ‘कमजोर’ अवस्थामा पुगेको काँग्रेसले आफ्नै भ्रातृ सङ्गठन र पार्टीका विभिन्न विभागलाई पुर्णता दिन ढिलाई गर्दा लथालिङ्ग अवस्थामै गुज्रेका छन् ।

अर्कोतर्फ राष्ट्रव्यापी रूपमा पार्टी पङ्क्तिमा नवीन ढङ्गको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने जागरणको उद्देश्य भए पनि नेताहरूमा १४औँ महाधिवेशनको रन्को लागिसकेकाले जागरणले नेताहरूबीचको एकतामा ‘ज्वरो’ ल्याउने हो कि भन्ने प्रश्नसमेत गर्न थालिएको छ ।

कसरी परिचालन हुन्छन् भ्रातृ सङ्गठन

पार्टीका सबै भ्रातृ सङ्गठन, शुभेच्छुक संस्थाले जागरणअन्तर्गत छुट्टाछुट्टै विषयगत कार्यक्रम गर्ने तालिका सार्वजनिक भइसकेको छ ।

भ्रातृसंस्थाले दोस्रो दिन, शुभेच्छुक संस्थाले तेस्रो दिन र विदेशस्थित जनसम्पर्क समितिले अभियान प्रारम्भपछिको पहिलो या दोस्रो दिन आफ्नो अनुकूलताअनुसार जागरण कार्यक्रम गर्ने काँग्रेसले जनाएको छ ।

यस्तै काठमाडौँस्थित जिल्ला सम्पर्क समितिले अभियान प्रारम्भपछिको पहिलो र दोस्रो आफ्नो अनुकूल छनोट गरी अभियान प्रारम्भ गर्नेछन् ।

काँग्रेसले भ्रातृसंस्था परिचालन गर्ने दावी गरिरहेपनि उसका सबै भ्रातृसंस्था लथालिङ्ग रहेकाले सोचेअनुसार परिचलन गर्न कठिन हुने देखिएको छ ।

नेविसङ्घको केन्द्रीय समितिविहीन छ भने नेपाल तरुण दलको ९५ कार्यसमिति चार जना पदाधिकारीको भरमा चलिरहेको छ । नेपाल महिला सङ्घ माउ पार्टीमा रहेको गुटबन्दीका कारण विभाजित अवस्थामा छ ।

दलित सङ्घ, किसान सङ्घ कार्यकाल सकिँदा पनि महाधिवेशन हुन नसक्दा प्रभावहीन अवस्थामा गुज्रिएका छन् । यस्तै पार्टीका २८ वटा विभाग रिक्त छन् ।

यद्यपि पार्टी विभाग गठनको तयारी भएको उपसभापति विमलेन्द्र निधिले रातोपाटीलाई बताए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समिति जस्तै ६०–४० प्रतिशतको भागबण्डाका आधारमा विभाग गठन गरिनेछ ।

त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक शक्ति सन्तुलन मिलाउन भन्दै २८ मध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ११ वटा विभाग दिने प्रस्ताव गरेका छन् । तर महत्त्वपूर्ण विभागको बाँडफाँटमा भने दुई नेतावीच सहमति जुट्निसकेको बताइएको छ । ६०–४० मा वरिष्ठ नेता पौडेल सहमत भए पनि कुन विभागको जिम्मेवारी कसले लिने भन्नेमा मक्यौता कायमै छ ।

यस्तै पार्टीमा तेस्रो समूहको नेतृत्व गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भने आफ्नो हिस्साबाटै समेट्ने देउवाको तयारी छ । केन्द्रीय कार्यसम्पादन समितिमा ६०–४० भागबन्डा हुँदा सिटौलालाई कसले समेट्ने भन्ने विवाद थियो ।

दुवै पक्षले एक–अर्कालाई देखाएपछि देउवा र पौडेल दुवैसँग सिटौला असन्तुष्ट छन् । उनको असन्तुष्टिपछि देउवाले केन्द्रीय कार्यसम्पादन मितिमा आफ्नै कोटाबाट समेट्ने जनाएका थिए ।

 ९० जना केन्द्रीय सदस्यबाट २९ जना छनोट गरेर कार्यसम्पादन समिति गठन गर्न देउवालाई सकस पर्ने देखिन्छ । तर, देउवा निकट निधीले भने कार्यसम्पादन समिति र विभाग गठन गर्न कुनै समस्या नरहेको दावी गरे ।

‘केन्द्रीय कार्यसम्पादन समिति र विभागसँगै गठन गर्ने तयारी भइरहेको छ,’ उपसभापति निधिले भने, ‘कार्यसम्पादन समितिमा विवाद छैन । वरियताका आधारमा छनोट गरिन्छ । विभाग गठनका लागि वरिष्ठ नेताज्यूसँग छलफल भइरहेका छ । केही दिनमै कार्यसम्पादन समिति र विभाग गठन हुन्छन् ।’

विधानमा सङ्गठन विभागहरू

संवैधानिक कानुन तथा संसदीय मामिला, सङ्घीय मामिला तथा स्थानीय तह, सूचना सञ्चार तथा प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, पेसागत तथा बुद्धिजीवी, भाषा, साहित्य, कला तथा संस्कृति, शिक्षा विज्ञान तथा प्रविधि विभाग छन् ।

त्यस्तै गैरसरकारी संस्था तथा सामाजिक सेवा, अनुगमन, मूल्याङ्कन तथा अभिलेख, उद्योग तथा वाणिज्य, पर्यटन, कृषि तथा भूमिसुधार, युवा तथा खेलकुद, प्राकृतिक स्रोत, जल तथा ऊर्जा, शान्ति, सुरक्षा तथा प्रशासन, श्रमिक तथा ट्रेड युनियन, जनसम्पर्क समन्वय, वैदेशिक रोजगार तथा आप्रवासन, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, स्वास्थ्य, वन, वातावरण तथा विपद् व्यवस्थापनलगायत छन् । यी सबै विभाग रिक्त छन् । पार्टीको जागरण अभियानलाई सार्थक बाउन महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ । यिनीहरूको गठन नगरेर गर्ने जागरण अभियान कर्मकाण्डी त होइन भन्ने प्रश्नमा प्रवक्ता शर्मा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरू परिणामुखी ढङ्गले परिचालित हुने दाबी गरे ।

‘विभागहरू गठन गर्ने प्रयासमा छौँ । सम्भवतः राष्ट्रिय जागरण अभियान अगावै सबै कुरा टुङ्ग्याउने प्रयासमा छौँ । तपाईंले भनेजस्तो कर्मकाण्डी हुँदैन । नेपाली काँग्रेसको सिङ्गो पार्टी पङ्क्तिले नेपाली समाजमा रहेका भिन्न मुद्दा, विषय र सन्दर्भहरूमा पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरूको अगुवाइमा प्रवेश गर्नेछ । भ्रातृ संस्थालाई प्रभावकारी तथा परिणामुखी ढङ्गले परिचालित हुनेछ,’ प्रवक्ता शर्माले भने, ‘विषयगत रूपले सम्बन्धित वर्ग र क्षेत्रलाई भ्रातृ शुभेच्छुक संस्थाले जागरण अभियानका समग्र विषय सुसूचित गर्नेछन् र आगामी दिनका लागि निरन्तर संवाद र सहकार्यलाई घनिष्ठ तुल्याउनेछन् । त्यसका लागि पार्टीले त्यही अनुसारको गृहकार्य गर्छ ।’

तर पार्टीको आन्तरिक राजनीति अस्तव्यस्त रहेको अवस्थामा जागरण अभियानले तात्विक भिन्नता आउन नसक्ने काँग्रेसभित्रैबाट विश्लेषण थालेको छ । तर काँग्रेसका केन्द्रीय सदस्य तथा समाजवादी चिन्तक प्रदीप गिरीले जागरण अभियान सकारात्मक बताए । उनले भने, ‘गिरिजाप्रसाद बाबुले ६४ सालमा पार्टी पराजितपछि काँग्रेसलाई जनता कहाँ पुर्याउनु भएको थियो । काँग्रेस जनतामाझ नगएको करिब एक दशक भइसक्यो । सबै नेता सहरिया भयौँ । काँग्रेस जनताको मर्मअनुसार चल्न सकेन । यो जागरण अभियानले एक पटक जनतासँग पुर्याउने काम गर्छ ।’

नेता गिरीले जागरण अभियानमा पार्टी नेतृत्व काँग्रेसले गरेको सफलकर्महरूबारे पनि जनतालाई बुझाउनुपर्ने बताए । ‘नागरिकलाई मुलुको वर्तमान चित्र बताउन जरुरी छ । पार्टीले पनि देशको वास्तविक अवस्था के हो ?,’ उनले भने, ‘हामी सबैले भन्दै आएको समाजवाद के हो ? नागरिकले के चाहेका छन् ? भन्ने कुरा मनन् गरियो भने जागरण अभियान प्रभावकारी पनि हुन्छ, सार्थक पनि हुन्छ ।’

 पार्टीका नेताहरू विधानभन्दा आफूलाई सर्वैसर्वा ठानेर अगाडि बढ्दा काँग्रेस समस्यामा पर्दै गएको नेता गिरीको बनाइ छ ।

 ‘तपाईंले भनेजस्तै काँग्रेस लथालिङ्ग अवस्थामा छ । त्यो साँचो हो । यसको समस्या पार्टीमा विधानभन्दा नेतामाथि हुनुको परिमाण हो । पहिलो चरणमा वैशाख ११ गतेदेखि अभियान सुरु हुने भनिएको छ । अहिले आएर सबै ठिकठाक हुन्छ भन्ने छैन । यो त पार्टी नेतृत्वले सोच्ने कुरा हो,’ उनले भने, ‘केन्द्रीय नेताहरूलाई विभिन्न ठाउँमा खटाइने भनिएको छ । पार्टीको ग्राउन्ड बेसको पनि मापन हुन्छ । त्यहीअनुसार पार्टीले आफ्नो गतिविधि बढाउनुपर्छ ।’

जे जस्तो भए पनि पार्टीलाई जनतामा पुर्याउने कुराले केही न केही सकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ ।

के छन् जागरणका १४ उद्देश्य ?

१. नेपाली काँग्रेसको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्न ।

२. राष्ट्रव्यापी रूपमा पार्टी पङ्क्तिमा नवीन ढङ्गको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न । पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै पार्टी पङ्क्तिमा जागरण अभिवृद्धि गर्न ।

३. नेपाली काँग्रेसको नेतृत्वमा विगतमा हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएको काम, नागरिक पङ्क्तिमा व्यापक ढङ्गले सम्प्रेषित गर्न ।

४. वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसङ्गतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढङ्गले प्रष्ट्याउन ।

५. नेपाली समाजमा रहेका अनेक फरक मत संविधान वा राज्य प्रणाली बारेकै विमति समेतलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न आवश्यक छलफल र बहस विभिन्न स्तरमा अघि बढाउन ।

६. जनता मतदाता र नेपाली काँग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरूबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट तुल्याउन जनसंवादमार्फत जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई समर्पित गराउन ।

७. तराई मधेसलगायत मुलुकका कतिपय भूभागमा रहेका असन्तुष्टिहरूको समाधान सूत्र, विगतमा नेपाली काँग्रेसको सरकारले अगाडि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो भन्ने कुरालाई आम नागरिका बीचमा प्रष्ट्याउँदै त्यसका लागि आवश्यक जनमत र वातावरण निर्माण गर्न ।

८. कम्युनिस्ट पार्टीको सरकार बनेपछि कूटनीतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, सेयर बजारप्रतिको नकारात्मक व्यवहार र उब्जिएको प्रतिकूल परिणाम, बौद्धिक समुदायप्रतिको अबौद्धिक टिप्पणीहरू र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्यसंरक्षित बेथिति आदि सन्दर्भले मुलुकको छविलाई परिरहेको असरबारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तक्र्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।

९. तीनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्बन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाब बढाउन ।

१०. नेपाली समाजमा केही समययता भइरहेका निर्मला पन्त प्रकरणझैँ महिला हिंसाका अनेक घटना र प्रवृत्तिविरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न र गराउन ।

११. भूकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानमा सघाउन र यस्तो सम्भावित विपद् सामना गर्ने सतर्कताका साथ काम गर्ने स्वयंसेवी समूह निर्माण गर्न ।

१२. स्वेदशसँगै विदेशमा रहेका ५० लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, सङ्घीयताको संवद्र्धन र समृद्धिमा सहभागिताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रबन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दबाब बढाउन ।

१३. वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथिति अन्त्यका लागि दबाब बढाउँदै श्रमिक नेपाली युवाहरूको पीडामा मल्हम लगाउन ।

१४. कम्युनिस्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रतामाथि बढेको हस्तक्षप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अनेकौँ प्रयत्न आदिविरुद्ध नेपाली प्रेस जगतसँग सहकार्य गर्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।

यस्तो छ कार्यक्रमको ढाँचा

यस पटक काँग्रेसले कार्यक्रमको ढाँचा नै परिवर्तन गरेको छ । कार्यक्रममा ब्याच लगाउन प्रतिबन्ध, आशन ग्रहण र भाषणलाई पनि छरितो बनाएर काँग्रेसले केन्द्रबाटै कार्यक्रमको फरम्याट पठाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार वैशाख ११ गतेदेखि हुने राष्ट्रिय जनजागरण अभियानबाट ब्याच प्रतिबन्ध, आशनग्रहण र भाषणलाई छरितो बनाइने छ ।

जिल्ला, नगर, गाउँ, टोल र वडा सबैलाई सहज होस् भनेर केन्द्रबाटै कार्यक्रमको फम्र्याट बनाइएको भन्दै असीमित सङ्ख्याको आशन ग्रहणलाई राष्ट्रिय जनजागरण अभियानबाटै अन्त्य गर्ने दाबी प्रवक्ता शर्माको दाबी छ ।

प्रवक्ता शर्माका अनुसार कार्यक्रमका कार्यक्रममा दुई जनालाई मात्रै आशन ग्रहण गराइने छ । जसमा कार्यक्रमका सभापति र प्रमुख रहने छन् । सबै ठाउँको कार्यक्रममा आशनग्रहण, सहिदको सम्झनामा मौनधारण, राष्ट्रियगान, पार्टीका स्व. संस्थापक नेताहरूको फोटोमा माल्यार्पण, उद्घाटन, मन्तव्य, पार्टी सदस्यता वितरण र समापनको विधि अपनाइने छ ।

कार्यक्रममा चार जनाले भाषण गर्ने पाउने छ । जसअनुसार उद्घाटन समारोहमा स्वागत, पार्टी प्रवेश गरेका व्यक्ति, प्रमुख वक्ता र कार्यक्रम सभापति रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप