बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकता प्रकृया टुङ्ग्याउन नेकपाका शीर्ष नेता बालुवाटारमा अन्तिम गृहकार्यमा

महासचिव पौडेल भ्रमण छोट्याएर नेपाल फिर्ता
शुक्रबार, ०६ वैशाख २०७६, १३ : ४४
शुक्रबार, ०६ वैशाख २०७६

बैशाख ९ गतेभित्रै एकता प्रकृया टुङग्याउने योजनाका साथ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अन्तिम गृहकार्यमा जुटेका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता घोषणा गरेर पार्टीको नाम नेकपा राखेपनि सांगठानिक रुपमा नेकपाको एकता प्रकृयाले पूर्णता पाएको थिएन ।

एकतालाई मुर्तरुप दिनकै लागि अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन भ्रमणमा गएका महासचिव विष्णु पौडेललाई समेत भ्रमण छोट्याएर वैशाख ५ गते नै स्वदेश फर्काएका छन् ।

अध्यक्ष ओली र प्रचण्डको निर्देशन अनुसार महासचिव पौडेल बिहीबार साँझ नै काठमाडौँ आइसकेका छन् ।

पूर्व निर्धारित कार्यतालिका अनुसार महासचिव पौडेल वैशाख ७ गतेमात्र स्वदेश फर्कदै थिए । तर अध्यक्षद्वयले भ्रमण छोट्याएर फर्कन टेलिफोन गरेपछि उनी २ दिन अगावै नेपाल फर्किएका हुन् ।

आरामका लागि बिहीबार बिहान सिन्धुपाल्चोकको सुकुटे पुगेका अध्यक्ष प्रचण्ड शुक्रबार बिहानै काठमाडौँ फर्किएर अर्का अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग बालुवाटारमा छलफल गरेका छन् ।

पोखरा गएका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि शुक्रबार काठमाडौ फर्कदैछन् । ओली, प्रचण्ड र नेपालबीच सहमति जुटेलगत्तै सचिवालयको बैठक बोलाउने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

‘शीर्ष नेताहरुबीचको बाक्लो संवाद र छलफलले एकता प्रकृया टुङ्गिने चरणमा पुगेको संकेत गर्छ’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘सैद्धान्तिक विषयमा लगभग सहमति भैसकेको छ । केही व्यवहारिक कुराहरु मिलाउन बाँकी रहेकाले नेताहरुबीच घनिभुत छलफल भएको हो,’ सम्भवत नौ गते नै एकता प्रकृयाले अन्तिम रुप लिनेछ ।’

दुवै पार्टीबीच पार्टी एकता घोषणा भएको लामो समय बित्दा समेत एकतालाई पुर्णता दिन नसक्दा नेता कार्याकर्ताबाटै पछिल्लो समय नेतृत्वको चर्को आलोचना हुदै आएको थियो । एकता प्रकृयामा भएको ढिलाईप्रति आफ्नै नेता कार्यकर्ताबाट आलोचित बनेको नेकपाको नेतृत्वले पछिल्लो समय दवाव महशुस गर्दै एकताको गृहकार्य तीव्र बनाएको थियो । त्यसैका लागि गत साता अध्यक्षद्वय ओली, प्रचण्ड, महासवि पौडेल र अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ चन्द्रागिरी पुगेर छलफल गरेका थिए ।

वैशाख १० अघि अर्को सरप्राइज दिनेछौँ : प्रधानमन्त्री

सम्भव छ वैशाख १० अघि नै प्रमको ‘सरप्राइज’ ?

फागुन र चैतमा अध्यक्षद्वय ओली र प्रचण्ड दुवैले वैशाख नौ गतेभित्र एकता प्रकृया टुङ्ग्याएरै छाड्ने सार्वजनिक रुपमै घोषणा गरेका थिए । चन्द्रागिरीबाट फर्किएपछि महासचिव पौडेल चीन भ्रमणमा गएका थिए भने त्यसबीचमा ओली र प्रचण्डबीचमा पनि एकताबारे छलफल भएको थियो । एकता प्रकृयाका लागि तत्कालिन माओवादीतर्फ कुनै समस्या नरहेपनि तत्कालिन एमालेतर्फ जिल्ला कमिटिको नेतृत्वका लागि ओली र माधव नेपालबीच सहमति हुन सकेको थिएन ।

शीर्ष नेताबीच पछिल्लो पटक भएको छलफलमा नेता नेपालले आफ्नो पक्षबाट कम्तिमा ३३ जिल्लाको नेतृत्व पाउनुपर्ने अडान राखेका थिए । तर, नेपालको प्रस्तावमा ओली सहमत हुन सकेका छैनन् । ‘माधव नेपाललाई मनाउने जिम्मा ओलीलाई दिइएको छ । सायद उहाँहरुबीच कुरा मिल्नेबित्तिकै एकता प्रकृया टुङ्ग्याउन समय लाग्दैन’ एक शीर्ष नेताले रातोपाटीसँग भने, ‘अब बल अध्यक्ष ओलीको कोर्टमा गएको छ ।’

ती नेताका अनुसार वैशाख ९ गते परेको नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसकै दिन एकताको प्रक्रिया टुङ्याउने गरी नेताहरुबीच सम्बाद र छलफल बाक्लो भएको हो । यसका लागि अब आजसहित ३ दिन मात्रै बाँकी छ ।

नेकपाका एक नेता भन्छन्, ‘शीर्ष नेताहरुबीच सहमति भए बैशाख ७ वा ८ गते सचिवालय बैठक बोलाइन्छ । नत्र वैशाख ९ अगाडि सचिवालयको बैठकको सम्भावना पनि कमै रहेको छ ।’

नेकपाका नेताहरुले पहिलो पटक जेठ ३ गते पार्टी एकीकरणको घोषणा गर्दा तीन महिनाभित्रै सबै तहका साङ्गठनिक एकीकरण टुङ्ग्याउने बताएका थिए । त्यसबाहेक धेरै पटक समयसीमा तोकिए तर नेकपाको एकतामा आधाभन्दा बढी काम बाँकी रहे  । एकता प्रकृया टुङग्याउने सचिवालय हुँदै पछिल्लो अध्यक्ष ओली र प्रचण्डमा निहित गरिएको थियो ।

यहि बीचमा सरकारले फागुन २४ गते सीके राउत समूहसँग ११ बुँदे सहमति र फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पार्टीभित्र यी दुई निर्णयको पक्षविपक्षमा बहस नै सुरु भएको थियो । त्यसयता पुन नेताहरु एकताको गृहकार्यमा पुनः फर्किएका थिए ।

नेकपा एकता : ओली–प्रचण्डका पछिल्ला प्रयास पनि असफल

के भएको थियो चार नेताबीच चन्द्रागिरीको ‘गोप्य’ बैठकमा ?

नेकपाका एक सचिवालय सदस्यले एकताका लागि केन्द्रीय कमिटी, पोलिटव्युरो, जनवर्गिय संगठन र प्रवासमा कुरो मिलिसकेकाले मिल्न बाँकी जिल्ला तहमा पनि नेताहरुबीच सहमति नजिक पुगिसकेकाले नौ गते नै एकता टुङिगने विश्वास व्यक्त गरे । यसअघि प्रदेश कमिटी टुङ्ग्याउँदा विधि र मापदण्ड मिचेर पदाधिकारी तय गरेको भन्दै पार्टीकै वरिष्ठ नेता नेपाल समूहले असन्तुष्टि जनाएको थियो । ति नेताका अनुसार जिल्ला तहमा एकता गर्दा प्रदेशको जस्तो असन्तुष्टि नदेखियोस् भनेर नेताहरु परिपक्क निर्णय गर्नतर्फ लागेका छन् ।

यसअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच जिल्ला नेतृत्वका विषयमा सहमति जुटेको विषय बाहिर आउँदा वरिष्ठ नेता नेपालले समानान्तर कमिटी बनाउने चेतावनी दिएकाले पनि ओली र प्रचण्ड नेपाललाई सँगै राखेर सहमति खोज्न लागेका छन् । सचिवालयमा सहमति नजुटाई दुई अध्यक्षले मात्रै जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी तोके आफूलाई मान्य नुहने नेता नेपालले अडान नछाडेपछि पछिल्लो समय ओली र दाहालले नेपाललाई पनि छलफल र सम्बादमा सामेल गराउदै आएका छन् ।

११ महिनामा परिपक्क

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको ११ महिना वितेकोे छ ।

नेकपाभित्र विवाद र असन्तुष्टिको बबन्डर : अब कसरी अगाडि बढ्ला ?

यसअघि गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका सदस्यको कार्र्यिवभाजन, केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, जनवर्गीय सङ्गठनहरुको एकीकरण, प्रवासका सङ्गठन र सम्पर्क कमिटी एवम् मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन । यसबाहेक राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिने काम पनि सकिएको थिएन तर यो बीचमा नेताहरुको घनिभुत छलफलले यि मध्ये धेरै विषयमा सहमति जुटाएको नेकपा श्रोतको दावी छ ।

यसअघि नेकपाले महाधिवेशनसम्म दुई अध्यक्ष राख्ने, ४४१ सदस्यीय केन्द्रीय समिति, नौ सदस्यीय सचिवालय, महासचिवमा पौडेल तथा  श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठन गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप