बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको पानी विदेश निर्यात गर्ने तयारीमा जुट्यो खानेपानी मन्त्रालय

विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम छौं : खानेपानी मन्त्री
शुक्रबार, ०६ वैशाख २०७६, १७ : ४४
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं । हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले आज शुक्रबार अन्तक्र्रिया गरेको छ । 

नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा छलफल गरेको हो । 

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा सबै नेपालीलाई शत प्रतिशत प्रशोधनसहितको खानेपानीको पहुँच पु¥याउने र खेर गइरहेको पानीलाई प्रशोधन गरी विदेश निर्यात गर्ने योजना बनिरहेको बताइन् । मन्त्री मगरले विश्व बजारमा नेपालको ग्लेशियर र स्प्रिङ वाटरलाई निर्यात गर्ने सम्भावनाको खोजी भईरहेको स्पष्ट पारिन् ।  

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘हाम्रो पहिलो प्राथमिकता सबै नेपाली जनतालाई आधारभूत खानेपानीको पहुँच पु¥याउने हो र सँगसँगै हिमालबाट बगेर खेर गैरहेको पानीलाई समेत प्रशोधन गरी विदेश निर्यात गर्ने हो । हामी सबै किसिमका सम्भावनाहरुको खोजी गरिरहेका छौं । हाम्रो देशको पानी विश्व बजारमा अरु देशको भन्दा राम्रो र स्वच्छ छ । हामी विश्व बजारमा पुरै प्रतिस्पर्धा गर्न सक्छौं ।’

नेपालको पानी विदेश निर्यात गर्ने विषयमा मापदण्ड बनाएर अघि बढ्ने तयारीमा लागेको मन्त्री मगरको भनाई छ । गुणस्तरमा कुनै सम्झौता नगरी अन्तर्राष्ट्रिय बजारमा पानी बिक्री गर्ने विषयमा सम्भाव्यता अध्ययन भईरहेको उनले जानकारी दिइन् । 

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन नेपालले पानी निर्यात गरी सम्पन्न बन्न सक्ने धारणा राखे । सचिव शर्माले पानी निर्यात गरी नेपाल धनी हुन सक्ने कुरामा कुनै सन्देह नरहेको बताए । ‘पानी निर्यातका लागि अन्तर्राष्ट्रिय बजार कहाँ कहाँ हुन सक्छ, हामी खोजी गर्छौं । हामीले उत्पादन गर्ने पानीको गुणस्तर पुरै सुधार्ने छौं ।’ सचिव शर्माले भने । 

मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको ग्लेशियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा प्रस्तुति दिएका थिए । भट्टले नेपालको पानी खाडी देशहरुमा बढी माग भएको बताउँदै व्यापार घाटा क मगर्न पानी निर्यात उपयुक्त हुने दृष्टिकोण राखे । 

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले विदेश निर्यात गरिने पानीको स्रोतको सम्भावनाको खोजी भईरहेको जानकारी दिए । अबको दुई हप्ताभित्र सम्भाव्यता अध्ययनका लागि सूचना जारी गर्न लागिएको महानिर्देशक दासको भनाई छ ।

पूर्व सचिव सुमनप्रसाद शर्माले पानी निर्यात गर्ने अवधारणा राम्रो रहेको बताउँदै यसका लागि संयन्त्र र विधि पहिले नै तयार गर्नुपर्ने सुझाव दिए । 

उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले नेपालको पानीमा लगानी गर्न विदेशी कम्पनीहरुलाई आव्हान गर्नुपूर्व सरकारले मुहान र जग्गा जमिन उपलब्ध गराउनुपर्ने धारणा राखे ।  

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले ग्लेशियर र स्प्रिङ वाटरको प्रचुर सम्भावना रहेको बताउँदै नेपालले पानी निर्यात गरी फाइदा लिन सक्नुपर्ने बताए । 

अर्का वक्ता विष्णु दाहालले पानी बिक्री गरेर मात्रै नेपालको समृद्धि हासिल हुने ठोकुवा गरे । उनले हामीसँग भएको स्रोतको उचित प्रयोग गरी पानी निर्यात गर्न ढिलाई गर्न नहुने बताए । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप