शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइतबारदेखि स्वास्थ्य संस्थाको निरीक्षण

शुक्रबार, ०६ वैशाख २०७६, २० : ४७
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौँ– सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्न निवेदन दिएका १२६ स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक सूचना जारी गर्दै कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत हुन निवेदन दिएका ती स्वास्थ्य संस्थाको विशेषज्ञसम्मिलित समितिले अनुगमन गर्ने जनाएको छ । 

    मन्त्रालयले अनुगमनका क्रममा आउने प्राविधिकसमेतको टोलीलाई आवश्यक विवरण उपलब्ध गराई अनुगमन÷निरीक्षणमा सहयोग गर्न सम्पूर्ण स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका तीन जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अघिकृत रहेको चारवटा टोली अनुगमनमा जानेछ । चारमध्ये तीन वटा टोली उपत्यका बाहिरका अस्पतालको निरीक्षणमा जानेछ भने उपत्यकामा एक टोलीले निरीक्षण गर्नेछ । 

    अनुगमन टोलीले १५ दिनभित्र सूचीकरणका लागि निवेदन दिएका स्वास्थ्य संस्थाको निरीक्षण गरी तोकिएको मापदण्ड पुगेको स्वास्थ्य संस्थालाई स्वास्थ्य परीक्षणका लागि स्वीकृति दिन सरकारलाई सिफारिश गर्नेछ । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सीमित स्वास्थ्य संस्थाको एकाधिकार रहेको भन्दै मन्त्रालयले गत चैत १३ गते सम्बन्धित निकायमा दर्ता भई सञ्चालनमा आएका स्वास्थ्य संस्थालाई सूचीकरणका लागि आह्वान गरेको थियो । 

    कामदारको स्वास्थ्य परीक्षणका लागि ठूला अस्पतालले सूचीकरणका लागि निवदेन दिएका छन् । नक्खुस्थित नेपाल मेडिसिटी अस्पताल, बुटवलस्थित लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स, त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल, माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्ज प्रा।लि, भरतपुरस्थित चितवन मेडिकल कलेज प्रा।लिलगायत ठूला अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकरणका लागि निवेदन दिएका मन्त्रालयले जनाएको छ ।

    यसअघि २२६ स्वास्थ्यले मात्र कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । पछिल्ला समय विकसित प्रविधिसहित स्थापना भएका अस्पतालले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका थिएनन् । सरकारले पछिल्लो पटक २०७१ सालमा २२६ स्वास्थ्य संस्थालाई कामदारको स्वास्थ्य परीक्षण गर्न स्वीकृति प्रदान गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप