शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाको तेस्रो वार्षिकोत्सवः महाधिवेशनबारे नेताहरुको बोली फरक–फरक

शनिबार, ०७ वैशाख २०७६, २१ : ३७
शनिबार, ०७ वैशाख २०७६

काठमाडौं– राष्ट्रिय जनता पार्टी (रापजा) नेपालले आज तेस्रो वार्षिकोत्सव मनाएको छ । 

काठमाडौँको डिल्ली बजारस्थित अमृतभोग पार्टी प्यालेसमा एक कार्यक्रमकाबीच राजपाले तेस्रो वार्षिकोत्सव मनाएको हो ।

 २०७४ वैशाख ७ गते ६ वटा मधेशवादी दल महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिक मिलेर राजपा नेपाल गठन भएको थियो ।

सोही दिनको अवसर पारेर राजपाले आज तेस्रो वार्षिकोत्सव मनाएको हो । राजपा अध्यक्ष मण्डलका नेताहरु दिउँसो २ बजेपछि कार्यक्रमस्थलमा पुगेको थिए ।  तर, अध्यक्ष मण्डलका सबैजसो नेताहरु कार्यक्रमस्थल प्रवेश गर्दैगर्दा पत्रकारबाट घेरिए । 

राजपा नेपालको निर्माणबाट यो तीन वर्षमा नेपाली जनताले के पाए ? एकताको तीन वर्षसम्म पनि महाधिवेशन किन हुन सकेन ? अब कहिले हुन्छ ? सरकारलाई दिएको समर्थन किन फिर्ता लिएको ? लगायतका प्रश्न उनीहरुमाथि सोधिएको थियो । 

सबै भन्दा पहिले कार्यक्रमस्थल आएका संयोजक भण्डारीले राजपा नेपालको निमार्णबाट शोषित, पीडित क्षेत्र र समूदायमा उत्साह छाएको बताए ।
उनले भने, ‘तीन वर्ष अघि एउटै उद्देश्य प्राप्तिका लागि लड्दै आएका ६ वटा दलको एकताबाट शोषित र पीडित जनतामा उत्साह आएको थियो । त्यो कुरा गत वर्षको निर्वाचनले पनि पुष्टि गरेको छ । राजपा नेपालले प्रदेश २ मा सरकार चलाइरहेको छ । केन्द्र्रमा तेस्रो ठूलो दलको हैसियत प्राप्त गरेको छ । प्रदेश २ को सरकारले जनपक्षीय काम गर्दै अगाडि बढ्दै छ । हामी केन्द्रमा संविधान संशोधनका लागि आवाज उठाइरहेको छौँ ।’

 संयोजक भण्डारीले संविधान संशोधन गराएरै छोड्ने दाबी पनि गरे । यस्तै उनले भोलिबाट पार्टी पदाधिकारीको बैठक बस्ने भन्दै त्यसले महाधिवेशनको मिति तय गर्ने बताए ।
 साथै केन्द्र सरकारले प्रदेश सरकारलाई बद्नाम गराउने काम गरेको आरोप पनि लगाए ।

संयोजक भण्डारीपछि कार्यक्रमस्थल आएका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि राजपाको तीन वर्षमा शोषित र पीडितको आवाज बनेको बताए । तर  नेता महतोले अहिलेको अवस्थामा विशेष महाधिवेशन गर्नु पर्नेमा जोड दिए ।

 ‘तीन वर्षमा महाधिवेशन हुन नसक्नु दुःखद हो । तर संविधान संशोधनका लागि लड्नुपरेको छ,’ नेता महतोले भने, ‘गत वर्ष निर्वाचनका कारण पनि महाधिवेशनको गृहकार्यलाई अगाडि बढाउन सकिए । अब विशेष महाधिवेश भएपनि तत्काल गर्नुपर्छ । एक नेतृत्व र सामूहिक निर्णय गर्नेगरी विशेष महाधिवेशन गर्नु पर्नेछ ।’ 

यद्यपि महाधिवेशनका लागि तीन विकल्प अघि सारिएको भन्दै भोलिदेखि बस्ने पदाधिकारी बैठकले सहमतिका आधारमा निर्णय गर्ने बताए । 

महतोपछि आएका अध्यक्ष मण्डलका अर्का सदस्य महन्थ ठाकुरले पत्रकारको प्रश्नहरुमा प्रतिक्रिया जनाउन निकै आनाकानी गरे । 

१ मिनेट जतिमात्र बेलेका ठाकुरले सबै कुराहरु भोलिदेखि बस्ने बैठकले निर्णय गर्ने बताए ।  सबै नेता कार्यकर्ताको भावना अनुसार अगाडि बढ्ने उनको भनाई थियो । नेता ठाकुरले संविधान संशोधनका लागि केपी ओली सरकारकाविरुद्ध संर्घष गरेर जाने राजपाको आगामी रणनीति रहेको बताए ।

अध्यक्ष मण्डलका सदस्य अनिल झा अन्य नेता भन्दा सरकार विरुद्ध आक्रामक देखिए । पार्टी गतिविधिबारेका प्रश्नमा प्रवेश नै नगरी केन्द्र सरकारमाथि खनिए । नेता झाले  प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश बन्धक बन्दै गएको समेत दाबी गरे । 

 ‘प्रधानमन्त्रीको दम्भका कारण मुलुक समस्याग्रस्त भन्दै भएको छ । सरकार कुनै विधि र पद्धतिमा चल्लेको छैन । उहाँहरु आफूबाहेक कसैलाई देखिराख्नु भएको छैन । कसैको कुरा सुन्नु भएको छैन । हामीले संविधान संशोधनका लागि बारम्बार ताकेता गर्यौं । उहाँले मान्नु भएन,’ नेता झाले भने ।

 सरकारले प्रदेश २ को सरकारलाई निशाना बनाएको भन्दै नेता झाले आक्रोससमेत पोखे । राजपा नेपालले उपेक्षित वर्गको प्रतिनिधित्व गर्दै आएको दाबी गर्दै आफूहरुले त्यसका लागि सदैव लडिरहने बताए । महाधिवेशनमा भने नेता झा राजेन्द्र महतोको भनाइको विरुद्धमा देखिए । उनले पूर्णमहाधिवेशन गर्नुपर्नेमा जोड दिए । 

यस्तै  अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले वर्तमान सरकार संघीयता समाप्त पार्ने प्रपञ्चमा लागेको आरोप लगाए ।

उनले भने,‘ केन्द्र सरकार संघीयता समाप्त पार्ने प्रपञ्चमा लागेको छ । तर उसको यो प्रञ्चलाई राजपा नेपालले सफल हुन दिँदैन ।’

नेता यादवले पार्टीको विशेष महाधिवेशन नभई पूर्णमहाधिवेशन गर्नुपर्ने पनि तर्क अघि सारे । 

‘अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीज्यूले महाधिवेनका लागि तीन वटा प्रस्ताव अघि गर्नु भएको छ । केही ढिलो भएपनि पूर्ण महाधिवेशन नै गर्नु पर्छ  । सबै नेताहरु तलैबाट चुनिएर आउनु पर्छ,’ नेता यादवले भने, ‘कार्यकताले कसलाई नेता बनाउन चाहेको छन् , उही हुन्छ । मधेसवादी दलमाथि टिके प्रथामा चलेको आरोप लाग्ने गरेको छ । त्यसलाई चिर्न पनि पूर्णमहाधिवेशन गर्नुपर्ने हुन्छ ।’

विशेष महाधिवेशन गर्दा पार्टीमा गणेश प्रवृति हाबी हुने उनको भनाई थियो । यसले प्रष्ट हुन्छ ,राजपामा महाधिवेशनको विषयलाई लिएर नेताहरुबीच एकमत छैन ।  महतो विशेष महाधिवेशनको पक्षमा देखिएका छन् भने झा र यादवले खुलेरै पूर्ण महाधिवेशन हुनपर्ने बताएका छन् ।

कार्यक्रमा को–को आए ?
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खेलराज रेग्मी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणा, नयाँशक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री बाबुराम भट्टाई, राष्ट्रिय प्रजातन्त्र  पार्टीका वरिष्ठ उपाध्यक्ष दिपक बोहोरा, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीलगायतको उपस्थिति थियो । सत्तारुढ दलका प्रमुख नेताहरु भने राजपाको वार्षिकोत्सवमा देखिएनन् ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको राजपा महासचिव केशव झाले जानकारी दिएका थिए । सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि सत्तारुढ दल राजपासँग रुष्ट देखिएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप