बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यार्सागुम्बाबाट एक करोड राजश्व

शुक्रबार, २० साउन २०७४, १५ : ३०
शुक्रबार, २० साउन २०७४

भीमदत्तनगर -करिब पाँच वर्षसम्म गरिएको संकलनको प्रतिवेदनले सुदूरपश्चिममा यार्सागुम्बाको अवस्था समान देखाएको छ । 

सुदूरपश्चिमको यार्सागुम्बा पाइने दार्चुला र बझाङकको तथ्यांकअनुसार यहाँ हरेक बर्सेनि संकलन हुने परिमाणमा धेरै भिन्नता छैन । अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालय दार्चुलाका सूचना अधिकृत भुवनेश्वर चौधरीले विगतको यार्सागुम्बा संकलनको परिणाम हालसम्म समान रहेको बताउनुभयो । 

गत वैशाखदेखि असारसम्म दार्चुलामा छ क्विन्टल २९ किलो यार्सागुम्बा संकलनका लागि व्यापारीले संकलन अनुमति लिएका चौधरीले जानकारी दिनुभयो । दुई क्विन्टल ४६ किलो यार्सागुम्बा निकासी गरिरहेको अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । निकासी गर्दा व्यापारीले प्रतिकिलो रु २५ हजार राजश्व बुझाउनुपर्ने प्रावधान छ । 

“चार÷पाँच वर्षको यार्सागुम्बा संकलनको परिमाणमा धेरै उतारचढाव छैन,” चौधरीले भन्नुभयो, “दार्चुलामा वर्षेनी करिब आठ क्विन्टल यार्सागुम्बा संकलन हुँदै आएको छ ।” व्यापारीले यार्सागुम्बा पाइने उच्च हिमाली भेग पुगेर संकलनकर्ताबाट तथ्यांक लिने गरेका छन् । यस वर्ष दार्चुलामा ७९ जनाले यार्सागुम्बा संकलनको अनुमति लिएका थिए । 

दार्चुलाको उच्च हिमाली भेग घुसा, खण्डेश्वरी, सित्तोला, व्याँस र राप्लाको हिमाली भेगमा यार्सागुम्बा संकलन गर्न हरेक वर्ष पाँच हजारभन्दा बढी संकलक जाने गरेका छन् । आम्दानीको राम्रो स्रोत बनेकाले संरक्षण क्षेत्रका स्थानीयवासी विद्यालयसमेत छाडेर यार्सागुम्बा टिप्न जान्छन् । तर संकलनकर्ता संरक्षण क्षेत्रको कार्यालयमा संकलक परिचय पत्र बनाउन भने आउँदैनन् । 

यार्सागुम्बा संकलन गरी जिल्ला बाहिर निर्यात गरेबापत व्यापारीले हरेक वर्ष करोडौँ राजश्व बुझाउँदै आएका छन् । दार्चुला बाहेक सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत संकलनका लागि हिमाली भेगमा पुग्छन् । “यार्सागुम्बा संकलन कार्यलाई अझै व्यवस्थित गर्न सकिएको छैन,” चौधरीले भन्नुभयो । 

बझाङमा पनि हरेक वर्ष करिब तीनदेखि पाँच क्विन्टलसम्म यार्सागुम्बा संकलन गरिन्छ । यस वर्ष तीन क्विन्टल ६७ किलो यार्सागुम्बा संकलनका लागि व्यापारीले अनुमति मागेका सहायक वन अधिकृत कर्णबहादुर खातीले राससलाई जानकारी दिनुभयो । एक्काइस जना यार्सागुम्बा व्यापारीले संकलनका लागि अनुमति मागेर स्थानीयवासीकहाँ किनमेलका लागि गएका छन् । 

“यस वर्ष अझैसम्म निकासी अनुमतिका लागि कोही आएका छैनन,” खातीले भन्नुभयो । संकलनको अनुमति समय सकिएपछि यार्सागुम्बा निकासीका लागि व्यापारीले राजश्व बुझाउने गरेका छन् । वैशाखदेखि असारसम्म बझाङको काँडा, धमेना, सुनिकोट, दउचौउर, दहबगर र सुर्मा क्षेत्रमा यार्सागुम्बा संकलन गरिन्छ । 

यार्सागुम्बा संकलन हुने बझाङ र दार्चुलामा निकासीबापत अघिल्लो आवमा व्यापारीले रु एक करोड १९ हजार राजश्व बुझाएका थिए । स्थानीयवासीबाट व्यापारीले यार्सागुम्बा खरिद गरेर बजारमा प्रतिकिलो रु १४ लाखदेखि रु १८ लाखसम्म बिक्री गर्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप