बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँच खेलअगाडि नै युभेन्टस च्याम्पियन, रोनाल्डोको कीर्तिमान

आइतबार, ०८ वैशाख २०७६, ०७ : ४१
आइतबार, ०८ वैशाख २०७६

एजेन्सी - इटालियन सिरी ‘ए’को उपाधि युभेन्टसले जितेको छ । शनिबार राति भएको खेलमा फियोरेन्टिनालाई २–१ गोलले हराउँदै युभेन्टस लिग च्याम्पियन बनेको हो । पाँच खेल बाँकी छँदै च्याम्पियन बनेको युभेन्टसको यो लगातार आठौं लिग उपाधि हो ।

युभेन्टसको यस उपाधिमा स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमानसमेत रचेका छन् । रोनाल्डो युरोपका तीन फरक शीर्ष लिगको उपाधि जित्ने एक्लो खेलाडी बनेका हुन् । उनीबाहेक अहिलेसम्म अरू खेलाडीले इङल्यान्ड, स्पेन र इटालीको लिग जित्न सकेका छैनन् ।

३३ औँ खेलमा पुगेर उपाधि हात पारको युभेन्टसले यसअघि सन् २०११–१२ पछि लगातार सात सिजन सिरी ‘ए’ जितेको थियो । युभेन्टस जारी सिजन युरोपका लिगमध्ये सबैभन्दा चाँडो लिग जित्ने टोलीसमेत बनेको छ ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टस सुरुवातमा पछि परेको थियो । छैटौं मिनेटमा फियोरेन्टिनाका निकोला मिलेनकोभिकले पहिलो गोल गरेका थिए । त्यसपछि जोसिएको युभेन्टसले ३७ औँ मिनेटमा बराबरी गोल फर्कायो । युभेन्टसका लागि एलेक्स सान्ड्रोले बराबरी गोल गरे ।

अर्को गोल ५३ औँ मिनेटमा युभेन्टसले उपहार पाएको थियो । क्रिस्टियानो रोनाल्डोको शसक्त प्रहार फियोरेन्टिनाका रक्षक जर्मन पेजेल्लाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा युभेन्टस च्याम्पियन बन्यो ।

चारदिन अघिमात्र युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको युभेन्टसलाई यस उपाधिले केही राहत मिलेको छ । च्याम्पियन्स लिगमा युभेन्टस डच टोली आयाक्ससँग पराजित भएको थियो । जितसँगै युभेन्टसले अब ३३ खेलबाट ८७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको नापोलीले ३२ खेलबाट ६७ अंक बनाएको छ  । ११औं स्थानमा रहेको फियोरेन्टिनाको ४० अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप