शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकता प्रक्रियालाई अनुमोदन गर्न नेकपाले बोलायो सचिवालय बैठक

आइतबार, ०८ वैशाख २०७६, १४ : १३
आइतबार, ०८ वैशाख २०७६

काठमाडौँ– पार्टी एकतालाई अन्तिम रुप दिन नेकपाले आइतबार बेलुका सचिवालय बैठक बोलाएको छ । 

आइतबार बिहान बालुवाटारमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा सोमबार नै एकता टुङ्ग्याउने गरी आइतबार दिनभर गृहकार्य गर्ने र बेलुका सचिवालय बैठक बोलाएर एकता प्रस्तावलाई अनुमोदन गर्न सचिवालय बैठक बोलाउने सहमति भएको हो । 

बालुवाटारमा बिहान भएको छलफलपछि ३ नम्बर प्रदेश कमिटीले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आइतबार ५ बजे दुई अध्यक्षबीच बैठक बस्ने र ६ बजे सचिवालय बैठक बस्नेगरी सहमति भएको जानकारी दिएका हुन् । 

यो पनि...

एकता प्रकृया टुङ्ग्याउन नेकपाका शीर्ष नेता बालुवाटारमा अन्तिम गृहकार्यमा

‘हामी दुई अध्यक्षले सल्लाह गरेर एउटा सिद्धान्तमा आधारित भएर दुई जना नेताहरुलाई दिनभरी गृहकार्य गर्ने नीतिगत निर्णय गरिसेकका छौं । किनकी ढिलो भयो, मान्छेको अनुहार हेरेर मूल्याङ्कन गर्नसक्ने स्थिति छैन । त्यसैले एउटा सिद्धान्तमा टेकेर एकता गरौ भनेर नीतिगत निर्णय गरेका छौँ’ अध्यक्ष प्रचण्डले भने,‘ ६ बजे सचिवालयको बैठक र ५ बजे दुई अध्यक्षको बैठकबाट प्रस्तावलाई अन्तिम रुप दिने प्रयास भएको जानकारी गराउन पाउँदा मलाई खुशी लागेको छ ।’ 

यो पनि...

नेकपा एकता : ओली–प्रचण्डका पछिल्ला प्रयास पनि असफल

अध्यक्ष प्रचण्डले पार्टी एकता सम्बन्धि निर्णयको अनुमोदन सचिवालयले आजै बेलुका गर्ने र निर्णय सोमबार सार्वजनिक गर्ने बताए ।  त्यसपछि नेपालमा नयाँ अभियान सुरु हुने उनको दाबी छ।

पार्टी एकतामा केही ढिलो भएको स्वीकार्दै अध्यक्ष प्रचण्डले ढिलो हुँदा एकताले पूर्णता पाउँदैन कि भन्ने लागेपनि अब त्यस्तो नहुने बताए । 

‘एक व्यक्ति एक पद’ : महाधिवेशनले छिनोफानो गर्ने 
नेकपामा एकता टुङ्ग्याउन धेरै सकस परेको विषय हो जिल्लागत नेतृत्व । यही विषयमा सहमति जुट्न नसक्दा लामो समयदेखि एकता प्रक्रिया टुंगोमा पुग्न सकेको थिएन । 

गत साउन महिनामा नेकपाको सचिवालय बैठकले पार्टी एकतालाई अन्तिम रुप दिन एक व्यक्ति एक पदको अवधारण अघि सारेको थियो । 

सचिवालयले संघीय मन्त्री, प्रादेशिक मन्त्री, प्रदेशको दल नेता र उपनेता, समितिको सभापति, प्रमुख सचेतक वा सचेतक, नगरपालिकाका मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, जिल्ला विकास समितिको सभापति लगायतलाई कुनै पनि समितिको अध्यक्ष वा सचिव नबनाउने निर्णय नै गरेको थियो ।

यो पनि...

भोलि पार्टी एकताको टुंगो लाग्छः प्रचण्ड

 यो निर्णयले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाललाई भने कुनै बन्देज लगाएको थिएन । नेकपाका धेरै नेता कार्यकर्ता दोहोरो पदमा छन् । 

जेठ ३ मा एकता घोषणा गरेका तत्कालीन एमाले र माओवादी केन्द्रबीच सचिवालयले गरेको एक व्यक्ति एक पदको निर्णयपछि धेरैपटक वार्ता र छलफलहरु भएका थिए  । सचिवालयले एकता प्रक्रिया टुङ्ग्याउन नसकेपछि सहमति जुटाउने जिम्मा अध्यक्षद्वय केपी ओली र प्रचण्डमा सुम्पियो । ओली र प्रचण्डबीच एकताको मोडलका विषयमा पटकपटक संवाद र छलफल भएपनि त्यसमा अर्का नेता माधवकुमार नेपाल सहमत हुन सकेका थिएनन् ।

 तर पछिल्लो पटक नेताहरु ६ महिनाभित्र तल्लो तहको अधिवेशन गनेगरी त्यसबेलासम्म दोहोरो पद कायमै रहनेगरी एकता टुङ्ग्याउन सहमत भएको बुझिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप