शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश पाँचमा अपराधको कहालीलाग्दो तथ्याङ्कः ९ महिनामा ६८ जनाको हत्या, २७९ महिला बलात्कृत

हत्यामा बाँके अगाडि, बलात्कारमा दाङ
सोमबार, ०९ वैशाख २०७६, ०९ : ५४
सोमबार, ०९ वैशाख २०७६

प्रदेश पाँच प्रहरी कार्यालय दाङ तुल्सीपुरले आर्थिक  वर्ष २०७५ को साउन १ गते देखि चैत्र मसान्तसम्म भएका व्यक्ति हत्या, बलात्कार, आत्माहत्या र घरेलु हिंसाको डरलाग्दो तथ्य सार्वजनिक गरेको छ ।

यद्यपि त्यस्ता अपराधिक घटनामा प्रदेश ५ मातहतको प्रहरी संगठन अभियुक्तलाई पक्राउ गर्नमा झण्डै शतप्रतिशत नै सफल भएको तथ्याङ्कले देखाएको छ ।

यसै आर्थिक वर्षमा नेपालगञ्जमा १३ वर्ष अघि एकै परिवारका पाँच जनाको विभत्स हत्या गरी फरार अभियुक्तलाई पनि प्रदेश प्रहरी र बाँके जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली पक्राउ गरी अदालतमा पेश गरेको छ ।

त्यस्तै २०७५ सालको अन्तिमतिर दाङको प्रहरीले करोडौँको ठगी र ३ जना महिला बलात्कारको आरोपीलाई पक्राउ गरि कानुनी कठघरमा उभ्याउन पनि त्यहाँको प्रहरी सफल भएको छ ।

९ महिनामा ६८ जनाको हत्या

प्रदेश पाँच प्रहरी कार्यालयका डिएसपी नवराज पोखरेलले उपलब्ध गराएको घटना विवरण अनुसार यस आर्थिक वर्षको पछिल्लो ९ महिनामा प्रदेश पाँचभर ६८ वटा हत्याका घटना घटेका छन् । ती घटनामा संलग्न १ सय १४ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कठघरामा उभ्याएको छ भने २५ जना अझै फरार रहेका छन् ।

१२ वटा जिल्लामध्ये सबै भन्दा बढी हत्याका घटना १३ वटा बाँके जिल्लामा भएका छन् । ती घटनामा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । ७ जना भने फरार रहेका छन् ।

त्यसपछि दोस्रो बढी हत्याका घटना रुपन्देहीमा १० वटा भएका छन् । ती घटनामा संलग्न १८ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । ६ जना फरार रहेका छन् ।

कपिलवस्तुमा ९ वटा हत्या घटना घटेका छन् । ती घटनामा संलग्न ७ जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासीमा पनि यस अवधिमा ८ वटा हत्याका घटना घटेका छन् । ती घटनामा सलल्गन ७ जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । २ जना फरार रहेका छन् ।

प्युठानमा ५ जनाको हत्या भएको छ जसमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ । रोल्पामा पनि यस अवधिमा ५ जनाको हत्या भएको छ जसमा त्यहाँको प्रहरीले घटनामा संलग्न ८ जनालाई प्रकाउ गरेको छ । त्यहाँ पनि शतप्रतिशत अभियुक्तहरु पक्राउ परेका छन् ।

दाङमा ४ वटा हत्या घटना घटेका छन् । त्यहाँको प्रहरी ती घटनामा संलग्न १३ जनालाई पक्राउ गरेको छ । अभियुक्त पक्राउमा दाङ प्रहरी पनि शतप्रतिशत सफल भएको छ ।

गुल्मीमा यस अवधिमा ४ वटा हत्या घटना घटेका छन । गुल्मी प्रहरी पनि ती घटनामा संलग्न चारै जनालाई पक्राउ गरी शतप्रतिशत सफल भएको छ । पाल्पामा ४ वटा हत्या घटना घटेका छन् । त्यहाँ पनि अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी शतप्रतिशत सफल भएको छ ।

बर्दिया जिल्लामा ३ वटा हत्या घटना घटेका छन् । ती घटनाका ६ जना अभियुक्तलाई त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । ३ जना फरार रहेका छन ।

पूर्वी रुकुममा एक जनाको हत्या भएको छ । त्यहाँको प्रहरीले त्यस घटनाका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । त्यहाँ पनि यस आर्थिक वर्ष भित्र घटेका हत्या घटनाका फरार अभियुक्त छैनन् ।

२७९ महिला बलात्कृत

डिएसपी पोखरेलले दिएको विवरण अनुसार यस आर्थिक वर्षको पछिल्लो ९ महिनामा प्रदेश पाँचभर २ सय ७९ जना महिला बलात्कृत भएका छन् । ती घटनामा संलग्न २ सय ६० जना पक्राउ परेका छन् । ५४ जना फरार रहेका छन ।

बलात्कारका घटना सबैभन्दा बढी दाङमा घटेका छन् । साउन १ गते देखि चैत्र मसान्तसम्म त्यस जिल्लामा ५२ जना महिला बलात्कारको शिकार भएका छन् । जसमा ४५ जना पक्राउ र १२ जना फरार रहेका छन् । बलात्कार घटनाको दोस्रो ठूलो संख्या रुपन्देहीमा देखिएको छ जहाँ ५० महिला बलात्कृत भएका छन् ।

बाँके जिल्लामा ४३ वटा बलात्कारका घटना घटेका छन् । जसमा ३८ जना पक्राउ र ८ जना फरार रहेका छन् । बर्दियामा २५ जना महिला बलात्कारको शिकार भएका छन् । त्यहाँ २८ पुरुष पक्राउ पर्नुका साथै ४ जना फरार रहेका छन् ।

पाल्पामा २१ वटा बलात्कार मुद्दाको जाहेरी परेको छ । जसमा त्यहाँको प्रहरीले २३ जना पक्राउ परेका छन् । ५ जना फरार छन् । जनसंख्याको हिसाबले प्युठानको बलात्कार घटना बढी नै देखिन्छ । जिल्लामा पछिल्लो ९ महिनामा १७ जना महिला बलात्कारको शिकार भएका छन् । जसमा १६ जना पक्राउ पक्राउ परेका छन् भने २ जना फरार रहेका छन । नवलपरासी (पश्चिम ) मा यस अवधिमा १९ जना महिला बलात्कृत भउका छन् । यहाँ १५ पुरुष पक्राउ परेका छन् भने ५ जना फरार रहेका छन् ।

कपलिवस्तुमा १८ जना महिला बलात्कृत भएका छन् । जसमा १७ पुरुष पक्राउ परेका छन् र ७ जना फरार रहेका छन । गुल्मीमा १० जना महिला बलात्कारको शिकार भएका छन् । जसमा १० पुरुष पक्राउ परेका छन् र १ जना फरार रहेका छन् ।

प्रदेश मै सबैभन्दा कम जनसंख्या भएको पुर्वी रुकुममा ९ महिनामा ७ महिला बलात्कृत भएका छन् । बलात्कार आरोपी सातै जना पक्राउ परेका छन् । रोल्पामा ६ वटा बलात्कारका मुद्दा दर्ता भएका छन । जसमा आरोपी सातैजना पक्राउ परेका छन् ।

घरेलु हिंसा १५ सय बढी

९ महिनाको यस अवधिमा प्रदेश पाँचभर १५ सय ३३ वटा घरेलु हिंसाका उजुरी परेको प्रदेश पाँच प्रहरी कार्यालयले जनाएको छ । बाँकेमा ४५८, बर्दियामा ६७, दाङमा १२९, पाल्पामा ७३, रुकुममा १६ , प्युठानमा ४८ वटा घरेलुहिंसका उजुरी परेका छन् ।

त्यस्तै रुपन्देहीमा २१८, अर्घाखाँचीमा २२, कपिलवस्तुमा २१५, नवलपरासीमा १४१, गुल्मीमा ५४ र पाल्पामा ३७ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् ।

कुल उजुरी मध्ये प्रहरीले ११ सय १६ वटा उजुरी उपर आफैले मिलापत्र गराएको छ । २ सय थान मुद्दा अदालतमा पुुगेका छन । १ सय ५ वटा मुद्दा छलफल कै प्रकृयामा छन् भने १०९ वटा उजुुरीकर्ताहरु सम्पर्क मै आएका छैनन् ।

७५८ जनाद्वारा आत्माहत्या

प्रदेश पाँचको प्रहरी कार्यालयले उपलव्ध गराएको विवरणअनुसार प्रदेशभर साउन १ गते देखि चैत्र ३० गते सम्म ७५८ जनाले आत्माहत्या गरेका छन् । रुपन्देहीमा १ सय ५८ जनाले आत्माहत्या गरेका छन् । कपिलवस्तुमा ८३ जनाले, नवलपसारीमा ५७ जनाले, पाल्पामा ६९ जनाले आत्महत्या गरेका छन । अर्घाखाँचीमा ३२ जनाले, गुल्मीमा ३४ र प्युठानमा ४५ जनाले आत्महत्या गरेका छन् । दाङमा १ सय ४५ जनाले, रोल्पामा ३६ जनाले, रुकुममा ८ जनाले, बाँकेमा ४३ जनाले र बर्दियामा ६१ जनाले आत्महत्या गरेका छन् ।

के भन्छन् प्रदेश पाँचका प्रहरी प्रमुख ?

प्रदेश पाँच प्रहरी प्रमुख डिआईजी पिताम्वर अधिकारीले हत्या र विशेष गरी महिला हिंसाका घटनामा झण्डै शतप्रतिशत आरोपीहरु पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी सफल रहको दाबी गरे ।

बाँके जिल्ला प्रहरीले हेमकर हत्याकाण्डका फरार अभियुक्तलाई १३ वर्षपछि पक्राउ गर्न सफल भएको उनले उदाहरण प्रस्तुत गरे ।

उनले खुला सीमनासँग जोडिएका पाँच जिल्ला चुनौतीको विषय भएको बताए । अवैध समान ओसारपसार, नदि कटान र नदीजन्य सामग्री र गोरु तस्करी रोक्न प्रहरी तैनाथ भइरहेको उनले बताए ।

आत्महत्याका घटना रोक्न प्रहरीले जनचेतनामुलक कार्यक्रम गर्दैै आएको पनि उनले जानकारी दिए । उनले प्रविधि प्रयोग गरि हत्या हिंसाका घटनामा बृद्धि भएकोले प्रहरीको पहुँच प्रविधिमैत्री भैनसकेका कारण समस्या आएको बताए । ‘हामी प्रविधि सक्षम भैसकेका छैनौँ,’ उनले भने, ‘नेपाल प्रहरीलाई प्रविधि मैत्री बनाउन जरुरी छ ।’

केहि चर्चित हत्या घटना

घटना –१

३ साउन २०७५ मा गुल्मीको छत्रकोट गाउँपालिका–२, पल्लीकोटमा एकजना छिमेकीद्वारा साथीको कुटेर हत्या । आरोपी प्रहरीद्वारा पक्राउ । त्यसको तीन महिनामा अदालतले २० वर्ष जेल सजायको फैसाला गरे पछि उनी कारागारभित्र पस्न साथ आफैले आफ्नो घाँटी चिरेर आत्माहत्याको प्रयास गरे । यस घटनाले सञ्चार माध्यममासमेत निकै चर्चा पायो ।

घटना –२

परिस्त्रीसँगको सम्बन्धको कारण नवलपरासीमा एक व्क्तिले श्रीमतिलाई जंगलमा लगेर घाँटी थिचेर हत्या गरे ।

घटना–३

अर्घाखाँचीमा प्रेमीसँग सम्बन्धका कारण श्रीमतिद्वारा श्रीमानको हत्या गरियो । हत्या गरी प्रेमी र आफ्नी आमाले बोरामा हालेर शवलाई जङ्गलमा लगेर फालेको युवतीद्वारा स्वीकार । अभियुक्त सबै पक्राउ ।

घटना–४

कार्तिक ११ मा कपिलवस्तुको शिवराजपुर नगरपालिकामा आफ्नै श्रीमान् वसन्त परियारको श्रीमति सुमित्रा परियारद्वारा बञ्चरो प्रहार गरी हत्या । फागुन २६ मा रुपन्देहीको देवदह नगरपालिका ९ , घोडाहस्थित आफ्नै १२ जना साथीहरुद्धारा ठक्का पट्टाको रिसईवी साँधेर अनिस पुरीको रड र ढुङ्गा प्रहार गरी हत्या ।

घटना–५

मंसिर ८ मा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ मोतिभारीमा हतियार प्रयोग गरी प्रदेश सदस्यका प्रत्यासी दीपेन्द्रकुमार चौधरीको हत्या । हत्या आरोप लागेका अजीत कुमार पाण्डे फरार ।

घटना ६

कपिलवस्तुको कृष्णनगरमा म्यानपावर ब्यवसायी पारसपुरीको गोली हानी हत्या । चैत्र–१२ मा कपिलवस्तु कै शिवराज नगरपालिकाका त्रिवेणी यादवको हत्या । हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।

घटना ७

पुस ३ गते कपिलवस्तु नगरपालिका–३ , औरहियामा रफिक हुसैनद्वारा श्रीमति तसलिन निसाको घाँटी थिचेर हत्या ।

घटना–८

फागनु १० मा कपिलवस्तुकै वाणगंगामा आफ्नै श्रीमान विष्णु भन्ने बाबुराम पौड्याल कै योजनामा साथीहरु लगाई हत्या ।

घटनाा–९

भारतिय नागरिक सुधिक हुसेन भिनाजुसँग प्रेम सम्वन्ध राख्दै श्रीमति साहिन खातुन उनै संगको पूर्व योजना मा अनुसार चैत्र ११ गते बुटवलको मैनाबगरमा आफ्नै श्रीमान फिरोज खान अन्सारीको गोली हानी हत्या । भिनाजु फरार । श्रीमति पक्राउ । यी घटनाले पछिल्लो चरण डकैती, कारोवारमा वा अन्य विषयमा रिसईवी भन्दा पनि श्रीमान श्रीमति विचको परपुरुषगमन र परिस्त्रीगमनका कारण हत्या हिंसा बढेको देखाउँ छ ।

घटना १०

रुपन्देहीका एक पत्रकारले गोरुतस्करीको समाचार लेखेको रिसमा उनकी १४ वर्षीया सुस्तमनस्तिीको छोरीलाई मध्ये रातमा घरबाट अपहरण । अर्को दिन हात खुट्टा बाँधेर गहुुुुुुँवारीमा लडाईयो ।

केहि चर्चित बलात्कार घटनाका

– गुल्मीमा आफ्नै दाजुद्धारा बहिनी बलात्कार । बहिनीले नै जाहेरी दिने आँट गरे पछि  परिवारद्वारा धम्की, उनी असुरक्षित भएको गुनासो ।

–  यस आर्थिक  वर्षमा यस प्रदेशमा बलात्कृत हुने ३ वर्षीया बालिका देखि ७० वर्षीया बृद्ध समेत

–रुपन्देहीमा चैत्र १२ गते आफ्नै श्रीमतिले श्रीमानविरुद्ध जवरजस्ती करणीको जाहेरी दिए पछि ती श्रीमान पक्राउ ।

–दाङमा हात खुङ्गा बाँधेर , मुख थुनेर हजुर बुवाद्धारा आफ्नै नातिनी बलात्कार, हजुर बुवा पक्राउ

 –गुल्मीमा महिलाद्वारा पुरुषमाथि यौनहिंसा, पुरुष अस्पताल भर्ना । महिलाद्वारा ती पुरुषलाई ५० हजार क्षतिपुर्ति ।

आत्महत्याका घटना

–पाल्पामा बृद्धबृद्धा दम्पत्तिद्वारा चरम गरिवी र अभावबाट विक्षिप्त भई एउटै डोरीको पासो लगाई सामुहिक आत्माहत्या ।

–गुल्मीमा आफुले चाहेको युवासँग विवाह गर्न नदिई अन्यत्र विवाह गराई दिएको केहि दिन नवित्दै युवतीद्वारा आत्मा हत्या ।

–रुपन्देहीमा विवाह कै दिन राती नवदुलाह र दुलहीको बुटवलको एक होटलमा बसेका थिए । विहानपख वेहुलाद्वारा आत्महत्या ।

– प्युठानमा दाजु वहिनीद्वारा भारततिर भागी प्रेम विवाह ।  प्रहरीको बलमा छुटाउन खोज्दा दुवै जनाद्वारा प्रहरी हिरासत मै विष सेवन गरेर आत्महत्या ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप