शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब कार्डविना नै एटीएमबाट पैसा निकाल्न  मिल्ने, यस्तो छ पैसा निकाल्ने  प्रक्रिया

बुधबार, ११ वैशाख २०७६, १२ : ४९
बुधबार, ११ वैशाख २०७६

अब कार्डविना नै एटीएमबाट पैसा निकाल्न मिल्ने भएको छ । हाम्रो टेक्नोलोजी प्रालिले कार्ड रहित एटीएम भुक्तानी सेवा प्रयोगमा ल्याउने भएको छ । टेक्नोलोजीले अहिले त्यसको सफल परीक्षण गरिरहेको पनि जनाएको छ ।

सिभिल बैङ्कसँगको सहकार्यमा कार्डविना नै पैसा निकाल्न पाइने व्यवस्थाको औपचारिक उद्घाटन यही वैशाखभित्र गर्ने हाम्रो टेक्नोलोजीका सीईओ विष्णु महर्जनले रातोपाटीलाई बताए ।

एम बैङ्क एप (मोबाइल बैङ्क) मार्फत यो सेवा सुरु गरिँदैछ । हाल २ सयभन्दा बढी सहकारी र १० वटा बैङ्क तथा वित्तीय संस्थाले एम बैङ्क सेवा लिइसकेका छन् । ती संस्थाहरुबाट एक लाख भन्दा बढी ग्राहकले मोबाइल बैङ्किङ सेवा लिएका छन् ।

एटीएम नै सञ्चालन नगरेका बैङ्क, फाइनान्स र सहकारीले यो सेवाबाट लाभ लिन पाउँनेछन् । सिभिल बैङ्कको एटीएमबाट हाम्रो टेक्नोलोजीसँग आबद्ध बैङ्क तथा वित्तीय संस्थाले विनाकार्ड पैसा झिक्न पाउँनेछन् । तर ग्राहकले मोबाइल बैङ्क सेवा भने लिएको हुनुपर्नेछ । कार्डबिना एटीएमबाट पैसा झिक्न पाउँने नेपालका लागि नौलो प्रयोग हो ।

बैङ्कमा खाता खोल्न र ऋण लिनबाहेक कुनै पनि जानकारी लिन बैङ्कसम्म धाइरहन नपर्ने व्यवस्थाका लागि एम बैङ्क एप उपयुक्त छ । मोबाइलबाट बैङ्कको डिटेल, खाताको डिटेल पर्समा अर्थात मेरो मोबाइलमा हुन्छ । चेक रिक्वेस्ट र चेक स्टप गर्न मिल्छ ।

कसरी झिक्ने कार्डविना एटीएमबाट पैसा ?

सर्वप्रथम व्यक्तिसँग मोबाइल हुनु जरुरी छ । त्यसपछि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थामा गएर मोबाइल बैङ्किङ सेवा लिएको हुनुपर्छ । उनीहरुले सम्बन्धित वित्तीय संस्थाको एम एप मोबाइलमा डाउनलोड गरेर राख्नुपर्छ ।

मोबाइल बैङ्किङ एपमा कार्डलेस एटीएम विकल्प थप गरिएको छ । त्यसमा क्लिक गरेपछि ओटीपी अर्थात एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड जुन ६ अङ्कको हुन्छ, त्यो आउँछ । यो पासवर्ड २ घण्टाका लागि मात्र मान्य हुनेछ । यसकारण नेपालभरको जुनसुकै सिभिल बैङ्कको एटीएमबाट सो पासवर्ड लिएर पैसा झिक्न सकिनेछ । यसले रेमिट्यान्सको काम पनि गर्छ ।

सुरुमा एपभित्र छिर्न छुट्टै पासवर्ड हुन्छ । यदि कसैले मोबाइल हरायो र अरूले नै लगइन गर्न खोज्यो भने मिल्दैन किनभने एपमा जान सुरुमै पासवर्ड चाहिन्छ जुन तपाईंलाई मात्र थाहा हुन्छ । पहिलो पासवर्डबाट लगइन भएपछि मोबाइल बैङ्क एपमा पुगिन्छ । त्यसपछि कार्डलेस एटीएम अप्सनमा क्लिक गर्ने र सिभिल बैङ्क आउँछ ।

 अब मोबाइल बैङ्क सेवा लिँदा दर्ता भएको फोन नम्बर राख्नुपर्छ । यो नम्बर फिक्स हुन्छ । त्यसपछि रकम र कोड थिच्नुपर्छ त्यति गरेपछि उसले २५ रुपैयाँ शुल्क लाग्ने जानकारी गराउँछ ।

शुल्कमा ग्राहक मञ्जुर भएपछि उसले एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड  (सिङ्गल टाइम पासवर्ड) सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउँछ । यो पासवर्ड लिएर एटीएम मेसिनमा जाने र मेसिनमा लेखिएको कार्डलेस एटीएम बटन थिचेर मोबाइलमा आएको पासवर्ड हालेपछि  मोबाइलमा पठाएको अनुरोध अनुसारको रकम झिक्न सकिन्छ । यसरी झिक्ने रकम राष्ट्र बैङ्कले व्यवस्था गरे अनुसार नै हुनेछ ।

एटीएम नहुने संस्थाका लागि फाइदा

नेपालमा हाल ३८ हजारभन्दा बढी सहकारी छन् । जसको आफ्नो एटीएम मेसिन छैन । सहकारी मात्र होइन, कतिपय विकास बैङ्क र फाइनान्स कमपनीको समेत आफ्नो एटीएम मेसिन छैन । एटीएम बढी महँगो हुने भएकाले त्यस्ता संस्थाहरुले एम बैङ्कमार्फत कार्डलेस एटीएम सिभिल बैङ्कको एटीएमबाट प्रयोग गर्न सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप