शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरा दुर्घटना फ्लोअपः विदेश जाने सपना बीच बाटोमै सकियो

बुधबार, ११ वैशाख २०७६, १८ : ३७
बुधबार, ११ वैशाख २०७६

बुटवल । ‘किन चाहिन्छ त्यो विदेश, बरु गाउँकै त्यही निमेक मजदुर ठिक थियो,’ डडेल्धुरा उप–क्षेत्रिय अपतालको शवगृह बाहिर बसेका एकजना पाका व्यक्ति भन्दै थिए– ‘विदेश जानका लागि पासपोर्ट बोकेर काठमाडौं हिँडेको छोरा गुमाउनुप¥यो ।’

उनी थिए बझाङ्गको केदारस्युँ गाउँपालिका–५ , बिरालीसयौ गाउँका ५० वर्षीय दलजित गुरुधामी ।  आज बिहान डडेल्धुरामा भएको बस दुर्घटनामा परि उनका २४ वर्षीय छोरा नरेन्द्र गुरुधामीको ज्यान गएको थियो ।

छोराको शव बुझ्न त्यहाँ आएका उनले छोरासहित भाउजु कल्सादेवी गुरुधामीलाई पनि गुमाउनुपरेको पीडा सुनाए । ‘भाउजु धनगढीमा रहेका माइतीजनलाई भेटघाट गर्न गएर फर्किदै हुनुहुन्थ्यो,’ उनले भने, ‘मेरो छोरा नरेन्द्र मलेसियाका लागि भिषा खुल्यो भन्ने सुनेर पासपोर्ट पेश गर्न काठमाडौं गएको थियो ।’

‘छोरा पासपोर्ट बुझाएर फर्किने क्रममा सत्तेरियामा ओर्लेर धनगढीबाट आएको बस चढेर घर आउँदा दुर्घटनामा प¥यो,’ उनले भने, ‘नरेन्द्र एक हप्ताअघि मात्र काठमाडौं गएको थियो ।’ 

३ बर्षअघि मलेसियाबाटै घर आएर उनी गाउँमै मजदुरी गरेर दिनको चार÷पाँच सयसम्म कमाएर घर परिवार चलाउँदै आएका थिए । ४ छोराछोरी र २४ वर्षीया श्रीमती कमलादेवि  खुसी–सुखी नै थिए । बढि पैसा कमाएर बढि सुखी हुने सपना बोकेर हिँडेका नरेन्द्रको त्यो सपना बस दुर्घटनाले बीच बाटोमै बिच्किएको छ ।

उनकी श्रीमतीको काखमा सबैभन्दा कान्छो सन्तान ६ महिनाकी छोरी छन् । बाबु दलजितका उनी एक मात्र छोरा थिए । बाबु दलजितले बिलौना गर्दै भने, ‘के गरुँ हजुर । उ त मेरो एक मात्र छोरा हो । उसैलाई दैवले चुँडेर लगिदियो ।’ 

अर्की मृतक महिला हरुलीदेवि बोहरा बझाङ्ग पिपलकोटको बताइएपनि उनका गाउँ वा नगरपालिका खुलेको छैन । उनका  कुनै आफन्त सम्पर्कमा नआएको त्यहाँका प्रमुख जिल्ला अधिकारी मोहनराज जोसीले बताए ।

बझाङ्गकै  तलाकोट गाउँपालिका–४ का अन्दाजी बर्ष ४० का धनबहादुर घर्तीको पनि घटनास्थलमै मृत्यु भएको थियो । उनी स्थानिय एक विद्यालयको शिक्षक रहेको र विद्यालयकै कामले धनगढी गएको सो गाउँपालिका प्रमुख लालबहादुर विष्टले बताए ।

डडेल्धुराको सदरमुकाम खलाङ्गा आउन १८ किलोमिटर दुरी रहेको गन्यावधारा गाउँपालिका–१ को साहुखर्कमा बस दुर्घटना भएको बताउँदै  प्र.जि.अ जोसीले भने, ‘खलाङ्गा सदरमुकामबाट माथि खोड्पेसम्म २६ किलो मिटर र बझाङ्गको सदरमुकाम चैनपुर जान १०८ किलो मिटर दुरीमा पर्दछ ।’

मृतकको संख्या ६ पुग्यो

प्रजिअ जोशीका अनुसार अपरान्हसम्म मृतकको संख्या ६ पुगेको छ ।  घटनास्थलमै भारत विहारका १८ वर्षीय मोहमद नारिसको ज्यान गएको थियो भने डडेल्धुरा उप–क्षेत्रिय अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएका भारत विहारकै  १८ वर्षीय मोहमद गुल्जारको उपचारका क्रममा मृत्यु भएको उनले बताए । 

गम्भीर घाइते बझाङ्ग मस्टा गाउँपलिकाका विनोद थापा,  कैलालीको गोदावारी १० का रेशम चौधरी, बझाङ्गको थलारा गाउँपालिकाका धनबहादुर चौहानलाई थप उपचारका लागि धनगढी पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप