शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको जितसँगै प्रिमियर लिग उपाधि होड रोचक मोडमा

बिहीबार, १२ वैशाख २०७६, ०८ : ४१
बिहीबार, १२ वैशाख २०७६

म्यानचेस्टर डर्वीमा सिटी विजयी बनेपछि इङ्ग्लिस प्रिमियर लिगको उपाधि होड रोचक मोडमा पुगेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसैको मैदानमा २–० गोलले हरायो ।

यस जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीसँगको हारले युनाइटेलको शीर्ष चारको दौड कमजोर बनेको छ । सिटीले ३५ खेलबाट ८९ अंक बनाएको छ । सिटी दोस्रो स्थानमा झरेको लिभरपुलभन्दा १ अंकले माथि छ । लिभरपुलको ८८ अंक छ । सिटीसँगको हारपछि युनाइटेड ६४ अंकका साथ छैटौँ स्थानमा छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा युनाइटेडले सिटीलाई रोक्न सफल भयो । दोस्रो हाफमा भने सिटी आक्रामक देखियो । सिटीका लागि ५४औँ मिनेटमा बर्नाडो सिल्भाले खाता खोले । सिल्भाले इकेए गुन्डोगानको पासमा गोल गरेका थिए । त्यसपछि ६६औँ मिनेटमा लेरोय सानेले गोलगर्दै सिटीको अग्रता दोब्बर बनाए । सानेले रहिम स्ट्रलिङको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा निरिह देखिएको युनाइटेडले गोल फर्काउन सकेन । लिगमा अब तीन खेल बाँकी रहेकोले सिटी र लिभरपुलमा जसले सकारात्मक नतिजा निकाल्छ उही च्याम्पियन बन्नेछ ।

सिटीले अब बर्नली, लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ । लिभरपुलले हडर्सफिल्ड, न्युक्यासल युनाइटेड र वुल्भ्ससँग खेल्न बाँकी छ ।

यसैगरी बुधबार रातिनै भएको अर्को खेलमा आर्सनल वुल्भ्ससँग ३–१ गोलले पराजित भएको छ । वुल्भ्ससँगको लज्जासपद हारले शीर्ष चारमा रहन प्रयासरत आर्सनललाई ठूलो धक्का लागेको छ । आर्सनल ६६ अंकसहित पाँचौँ स्थानमा छ । ५१ अंक बनाएको वुल्भ्स सातौँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप