शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा तारे होटलमा धमाधम लगानी

यसकारण बढ्दैछ लगानीकर्ताको आकर्षण
बिहीबार, १२ वैशाख २०७६, ०९ : १०
बिहीबार, १२ वैशाख २०७६

गत हप्ता नेपालगन्जमा फाइभ स्टार ग्रिन होटल सोल्टी वेस्टेन्ड प्रिमियरको औपचारिक उद्घाटन गरियो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  होटलको उद्घाटन गरेका थिए ।

सोल्टी शिवविक्रम होटल्स तथा रिसोर्ट प्राइभेटले सञ्चालन गरेको ग्रिन होटल सोल्टी वेस्टेन्ड प्रिमियर एक अर्ब २५ करोड रूपैयाँको लगानीमा निर्माण गरिएको सञ्चालक समितिका अध्यक्ष दिनेशबहादुर विष्टले जानकारी दिए ।

सुरुमा फोर स्टार सञ्चालन गरेको सोल्टीले केही महिनाअघि मात्र फाइभ स्टारको मान्यता पाएको हो । होटलमा ८१ वटा कोठा छन् ।

‘सोल्टी नेपालको पहिलो पर्यावरणमैत्री ग्रिन होटल हो’, विष्टले भने, ‘यूएस ग्रिन बिल्डिङ काउन्सिलले सम्पूर्ण प्राविधिक जाँच र मूल्याङ्कन गरी सिल्भर श्रेणीको लिड प्रमाणीकरण प्रमाण पत्रबाट विभूषित गरेको छ । यो लिड प्रमाणपत्र पाउने नेपालको पहिलो होटल भएको उनको दाबी छ ।

नेपालगन्जमा सुरुदेखि भएका होटलहरुको स्तरोन्नति पनि गर्न थालिएको छ ।

जसरी ५ नम्बर प्रदेशमा ठूला लगानीका उद्योगहरु खुलिरहेका छन्, त्यसैगरी स्टार होटलहरु पनि एकपछि अर्को गर्दै तीव्र रूपमा खुल्ने क्रममा रहेका छन् । ती होटलहरुमा स्थानीय युवा व्यावसायीको समूहदेखि विदेश लगानीकर्तासमेतको लगानी रहेको छ ।

प्रदेश नम्बर ५ को मुख्य सहर नेपालगन्ज, रूपन्देही, दाङ र प्रमुख धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनीमा पनि होटलमा लगानी थपिने क्रममा रहेको छ ।  

होटलहरु नयाँ खोल्न जुर्मुराएको प्रदेश नम्बर ५ को अर्को  जिल्ला हो दाङ । जहाँ घोराही केन्द्रित ठूला होटलहरु खुलिरहेका छन् । जिल्लामा पछिल्लो समय ढोको, भिग्राली, मालिइन, सिटी प्याजा मालिइन जस्ता स्तरीय होटल खुलेका छन् ।  पुरानो शैलीका होटललाई विस्थापित गर्दै अहिले अत्याधुनिक  र स्तरीय होटल सञ्चालनमा आउन थालेका हुन् ।

यस्तै रूपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि होटल व्यवसायमा ह्वात्तै लगानी बढेको छ । सँगसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा पनि सानादेखि ठूला लगानीका होटल खुल्ने क्रममा रहेका छन् । कति पुराना स्वरूपलाई बदलेर नयाँ स्वरूपमा ढाल्ने योजनामा छन् ।

प्रदेश नम्बर ५ मा अन्य भौतिक पूर्वाधार विकाससँगै स्टार होटलमा पनि लगानी बढ्दै गएको अर्थशास्त्री डा. प्रकाश क्षेष्ठको बुझाइ छ ।

‘होटल व्यवसायमा यसरी लगानी भित्रिनु प्रदेशका लागि सकारात्मक विषय हो’, उनले रातोपाटीसँग भने, ‘अझै होटलमा लगानी भित्र्याउनुपर्छ । प्रदेश सरकारले पर्यटन, कृषि जस्ता क्षेत्रको भौतिक पूर्वाधार विकास नीतिगत रूपमा सहयोग गरेको छ ।’

लुम्बिनीमा वैदेशिक लगानी

लुम्बिनीमा धार्मिक पर्यटनको सम्भावनालाई मध्यनजर गर्दै स्वदेशी लगानीमा सुरुदेखि प्रशस्त होटल खुलेका थिए । तर पछिल्ला वर्ष त्यतिमा सीमित छैन । एकपछि अर्को गर्दै विदेशी लगानी पनि आकर्षित हुन थालेको छ । कतिले करौडौँ लगानी गरेका छन् भने कतिपय लगानीको तयारीमा रहेका छन् । भैरहवादेखि उत्तर चिल्हियामा बाउन्नकोटी सामुदायिक वन नजिकै करिब ५ अर्बभन्दा बढी लगानीमा सिल्भर हेरिटेज ग्रुपको टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ ।  जुन विदशी लगानीको होटल हो ।

यस्तै भैरहवा लुम्बिनी सडकखण्डमा व्यवसायी पवन हलुवाईसहितको ३ अर्बको लगानीमा अर्को पाँच तारे होटल पवन प्यालेस इन्टरनेसनल होटल सञ्चालनमा छ ।

 यसैगरी डेढ अर्बभन्दा बढी विदेशी लगानीमा लुम्बिनीमै बुद्धमाया गार्डेन सञ्चालनमा छ  । जापानी नागरिक नोर्बु कासाइको करिब डेढ अर्ब बढी लगानीमा अर्को पाँचतारे होटल कासाइ पनि सञ्चालनमा छ । यसले विदेशी लागानीका होटलहरु यहाँ एकपछि अर्को खुल्ने क्रम तीव्र रहेको  दर्साउँछ ।

उद्योग वाणिज्य सङ्घ प्रदेश नम्बर ५ का संयोजक गुणनिधि तिवारीले  लुम्बिनीमा पर्याप्त मात्रामा होटलमा लगानी आएको भन्दै प्रतिफलको सम्भावना पनि उत्तिकै रहेको बताए ।

त्यसैगरी लुम्बिनीमै एक अर्बभन्दा बढी लगानी रहेको होटल होक्के,  लुम्बिनी गार्डेन र न्युक्रिस्टल होटल पनि सञ्चालनमा छन् । भैरहवा परासी सडक खण्डमा वसन्तपुरमा पिक ग्रुपको व्यवस्थापनमा रहेको बोधी रेडसन होटलमा पनि एक अर्बभन्दा बढी लगानी रहेको छ ।

मणिग्राममा एक अर्बभन्दा बढी लगानीमा  ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट सञ्चालनमा रहेको छ । अन्तर्राष्ट्रिय होटल चेन समूह सिल्भर हेरिटेज, अर्गाइली ग्रुप, सिग्नेट इन, कन्ट्री इन, मेरियट, गार्गी ग्रुपले पनि स्थानीय साझेदारसहित यहाँका विभिन्न होटलसँग सहकार्य गरिरहेको देखिएको छ । घोषित रूपमा टाइगर प्यालेस र पवन प्यालेस इन्टरनेसनल पाँचतारे होटल हुन् ।

यसैगरी लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, बैम्बो रिसोर्ट जस्ता ५० करोडभन्दा बढी लगानीका सुविधा सम्पन्न होटल सञ्चालनमा छन् ।

 आनन्द इन,  लिटल बुद्ध, पिसल्यान्ड, लुम्बिनी गेस्ट हाउस, मायादेवी गेस्ट हाउस, सिद्धार्थ गेस्ट हाउस, होटल आलोकाइन, आकाश इन्टरनेसन्ल, स्तुपा, शाक्य गेस्ट हाउस, होली बर्थ, मिराजइन, आदर्शाइन, हाम्रो गेस्ट हाउस, लुम्बिनी ग्रिनभ्यु, सेभेनस्टप गेस्ट हाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनफ्लवार, बुद्ध रेजेन्सी, जयबुद्ध जस्ता ५ करोडभन्दा बढी लगानी भएका ७० वटा भन्दा बढी पर्यटकीय होटल सञ्चालनमा छन् ।

लुम्बिनीमा मात्रै एकरातमा ८ हजार पर्यटकलाई सजिलै बसाउन सकिने सिद्धार्थ होटल एसोसियसन लुम्बिनी शाखा अध्यक्ष मिथुनमान श्रेष्ठले दाबी गरे ।

समूहमार्फत लगानी

५० करोडभन्दा बढी लगानीमा भैरहवाको होटल नान्स, सञ्चालनमा छ ।  त्यसैगरी ५० करोड हाराहारी लगानीमा होटल निर्वाणा भैरहवा, बुटवलमा ४० करोड बढी लगानी रहेका क्लब डेनोभो, होटल एभिन्यु, डारसीस, टुलिप, महाराजा होटल सञ्चालनमा छन् ।

 यस्ता होटलमा एक्लैले लगानी गर्न नसक्ने अवस्था पनि छ ।  पुराना होटल व्यावसयीले नयाँ होटल थप्ने  र नयाँ समूहमा  होटल विस्तार गर्ने क्रम तीव्र रहेको होटल तथा रेस्टुन्ट व्यवसायी  सङ्घ रूपन्देहीका अध्यक्ष समुद्र  जीसीले बताए ।

 उनले  होटलको स्तरवृद्धि गर्न जग्गा, भवन आदिमा धेरै लगानी हुने भएकाले  समूहमा लगानी गर्नुपर्ने भएको हो ।

यसैगरी भैरहवामा ५ करोडभन्दा माथि लगानी गरिएका होटल यति, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सीटी म्याक्स, सीटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर, प्रकाश एन्ड प्रकाश, पटवा बैङ्कक्वेट, जोशी, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवर, ममता, पवन इन्टरनेसनललगायत रहेका छन् ।

त्यसैगरी बुटवलमा  करिब ५ करोडभन्दा बढी लगानी रहेका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज,  लक्ष्मी होटल, न्युइरा, सिन्दूर, एसियन, अम्रपाली कटेज, दियालो, मिराज, वृन्दावन रहेका छन् ।

लुम्बिनीमा अरू पनि स्तरीय होटल

अस्ट्रेलियाको सबैभन्दा ठूलो होटल म्यानेजमेन्ट कम्पनी अर्गाइली होटल ग्रुपको सहयोगमा स्थानीय अम्रिक चौधरीको लगानीमा लुम्बिनीमै अर्कोे पाँचतारे होटल भिलाजियो पनि निर्माणको चरणमा छ ।  यो होटलमा एक अर्ब ५९ करोड १० लाख रूपैयाँ लगानी गरिँदैछ । व्यवसायी बालकृण भुसालले पनि अर्बभन्दा बढी लगानीमा बेलहियामा तारे होटल निर्माण गर्दैछन् ।

 काठमाडौँ सिद्धिसिद्धी समूहले एयरपोर्ट नजिक चारतारे होटल बनाउँदैछ । भैरहवाकै कृष्ण घिमिरेको नेतृत्वमा बुद्धचोकमा पनि घिमिरे समूहको अर्बौं लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ । भइरहवाको अञ्चलपुरमा सिद्धार्थ गु्रपले पनि होटल निर्माणका लागि जग्गा खरिद गरिसकेको छ ।

देवकोटाचोकमा व्यवसायी रामबहादुर कोइरीले १० करोड बढी लगानी गरेर कोइरी इन्टरनेसनल होटल निर्माण गरिरहेका छन् । अन्तर्राष्ट्रिय मेरियट समूहले पनि भैरहवामै होटल निर्माण गर्दैछ ।

यतिबेला विश्वका सफल होटल व्यवसायीहरुको समूह लुम्बिनी क्षेत्रमा होटल सञ्चालन गर्न सक्रिय देखिएका छन् ।

। रेडसन, बेलहियाको नान्स, बुद्धचौकमा निर्माणाधीन पाँचतारे होटल,  खुनगाईमा निर्माणाधीन पाँचतारे होटल, बुटवलको महाराजा प्यालेस र   मेरियट ग्रुप, सिद्धीसिद्धी ग्रुपले निर्माण गर्ने होटलहरु पनि पाँचतारे होटलका रूपमा रहने छन् ।

सिद्धार्थ होटल एसोसिएसनका महासचिव रवीन्द्र शर्मा घिमिरेले लुम्बिनी क्षेत्रमा मात्रै थप २ सय अर्ब लगानी होटल क्षेत्रमा मात्रै भित्रिँदै छ ।  पुराना होटलसँगै नयाँ होटलले लुम्बिनी आसपासका क्षेत्रमा रोजगारी र किसानहरुको जीवनयापनमा सहजता ल्याएको छ ।

होटलमा लगानी कति ?

रूपन्देहीमा लगानीका दृष्टिले होटलमा मात्रै करिब ३० अर्बभन्दा बढी लगानी रहेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए ।  पाँच नम्बरभरी कति लगानी होटलमा छ, त्यो  यकिन गर्न कठिन छ भए पनि यथेस्ट लगानी आएको छ ।

सरकारी तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७५/७६ मा तारे होटलको सङ्ख्या १ सय ३६ पुगेको छ । त्यसमध्ये करिब दर्जन होटल रूपन्देहीमा मात्रै खुलेका छन् ।

माछा रेस्टुरेन्टदेखि टावरसम्म

जसरी यहाँ होटलहरुको सङ्ख्या वृद्धि भएको छ, त्यसैगरी होटलमा विविधता पनि खोजिँदै गएको पाइन्छ । ग्राहकहरुले फरकपन चाहने भएको लागनीकर्ताहरुले पनि  भिन्न भिन्न रूपमा होटल सञ्चालन गर्न थालेका छन् । छपियामा एक जना कृषकले २० करोडको लागतमा फिस रिसोर्ट सञ्चालन गरेका छन् । सियारी ४ छपिया शिवपुरका ४८ वर्षीय गौरव गौतमले  छपिया फिस भिलेजको नाममा उक्त रिसोर्ट सञ्चालन गरेका हुन् । त्यसैगरी टेकनाथ बस्यालले १५ करोडको लागतमा शङ्कर टावरमा होटल एसआर सञ्चालन गरिरहेका छन् । यस्तै अजय चौधरीले पनि कानपारामा करोडौँ लगानीमा एग्रो रिसोर्ट सञ्चालन गरिरहेका छन् ।

लुम्बिनी पर्यटन वर्षले होटल व्यवसायीहरु उत्साहित

प्रदेश सरकारले यतिबेला लुम्बिनी भ्रमण वर्ष २०७६ को समेत घोषणा गरेर लुम्बिनीमा अझै पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

यसले बुटवलदेखि लुम्बिनीसम्मका होटल व्यवसायीहरु उत्साहित बनेका छन् ।

 लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिन दुगुना रात चौगुना रहेको छ । यतिबेला धेरैलाई लाग्न सक्छ, लुम्बिनीमा बर्सेनि लाखौँ पर्यटक आउँछन् तर तिनीहरु बस्ने ठाउँको अभाव होला कि भनेर ।

तर त्यस्तो चिन्ता गर्ने बेला नभएको होटल व्यवसायीहरु बताउँछन् । व्यवसायीहरु भन्छन्, ‘एकै रातमा हजारौँ मान्छेलाई बसाउने क्षमता छ । सुत्ने, खाने र बस्नेको चिन्ता अब गर्नुपर्दैन । हामी विश्वस्तरीय सुविधा दिन जतिबेला पनि तमतयार छौँ ।’

यो क्षेत्रमा होटलमा लगानीको आकर्षण हुनुमा बुद्ध जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, करिब एक वर्षपछि नियमित सञ्चालनमा आउने अन्तर्राष्ट्रि गौतमबुद्ध विमानस्थल लगायत रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घ कार्यसमिति सदस्य तथा  पर्यटन समिति संयोजक प्रमुख सञ्जय बजिमयले बताए ।

होटल तथा रेस्टुरेन्ट व्यावसायी सङ्घ  रूपन्देहीको अध्यक्ष समुन्द्र जिसीले लुम्बिनीमा बाह्य र आन्तरिक पर्यटकहरुको आकर्षणले होटल व्यवसायी निकै आशावादी रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप