बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टेकोमै अडियो पुनर्निर्माणको चार वर्ष ! (फोटोफिचर)

बिहीबार, १२ वैशाख २०७६, १२ : १२
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं– गोरखाको वारपाक केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको चार वर्ष वितेको छ । यो चार वर्षमा भएको पुनर्निर्माणको प्रगति अत्यन्त सुस्त देखिन्छ । 

भूकम्प गएको ५ वर्षभित्रमा निजी तथा सरकारी संरचनाको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिए पनि चार वर्षको अवधिमा समग्रमा ५० प्रतिशत अर्थात आधा मात्रै पनि पुनर्निर्माणको काम पूरा हुन सकेको छैन । 
पुनर्निर्माणको यस्तै गति रहिरहने हो भने पुनर्निर्माण सम्पन्न हुन अझै चार वर्ष लाग्ने देखिन्छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सरकार फेरिएपिच्छे प्रमुख कार्यकारी अधिकृत परिवर्तन, पुनर्निर्माणका विषयमा राजनीतिक दलहरुको दाउपेच र सरकारी नीति फेरबदल भइरहँदा पुनर्निर्माणले गति लिन नसकेको प्रष्टै छ ।  

२०७२ साल वैशाख १२ र २९ गतेको  विनाशकारी भूकम्पले झण्डै १० हजारको ज्यान लिएको थियो भने लाखौँ मानिसहरु घरबारविहीन बनेका थिए । जसको असर हजारौँ सरकारी कार्यालय, मठ, मन्दिर र पुरातात्विक महत्त्वका संरचनामा समेत परेको थियो । 

भूकम्पले गोरखा, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुङ्गा लगायतका जिल्लामा बढी जनधनको क्षति गराएको चार वर्ष बित्दा पनि ती जिल्लाका भौतिक संरचना हेर्दा टिठ लाग्दो अवस्थामा देखिन्छन् । 

देशकै मुख्य सहर काठमाडाँै, ललितपुर र भक्तपुरमा भूकम्पले हल्लाएका घर तथा अन्य भौतिक संरचना अझैसम्म टेकोकै भरमा अडिएका छन् । 

पछिल्लो समयमा काठमाडौँको रानीपोखरी, धरहरा लगायतको पुनर्निर्माणमा तीव्रता देखिए पनि अन्य संरचनाहरुप्रति सकारी चासो नपुगेको देखिन्छ । भूकम्पपछिको पुनर्निर्माण गर्ने जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धि हासिल गरेको दाबी गरे पनि अनुदान सम्झौता भएका ७ लाख ६२ हजार ३ सय ७ घर परिवारमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरेको बताएको छ । 

अहिलेसम्म ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५८ परिवार घर पुनर्निर्माणका क्रममा छन् । 

भूकम्पबाट झन्डै ८ लाख हाराहारी परिवारले घर गुमाएका थिए ।

यस्तै भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालयमध्ये ५९ प्रतिशत अर्थात ४ हजार ४ सय ७६ विद्यालय मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । 

स्वास्थ्य संस्थातर्फ ५४ प्रतिशत अर्थात ६ सय ४३ को पुनर्निर्माण सम्पन्न भएको १२ प्रतिशत अर्थात १ सय ४५ पुनर्निर्माणको क्रममा रहेको जनाइएको छ । 

पुरातात्विक सम्पदा २२४ वटा अर्थात ३० प्रतिशत पुनर्निर्माण भएको छ भने २ सय २१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छ । 

यस्तै क्षति भएका १३ सय २० गुम्बामध्ये ४ सय २ मर्मत सम्भार र ८ सय ९५ पुनर्निर्माण गर्न ५ अर्ब ८५ करोड खर्च लाग्ने प्राधिकरणले जनाएको छ ।

सुरक्षा निकायका भवनहरुतर्फ ३८ प्रतिशत अर्थात १ सय ४५ को पुनर्निर्माण भए पनि ७१ वटा भवन निर्माणाधीन छन् । सरकारी भावनतर्फ ६३ प्रतिशतको पुनर्निर्माण भएको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा छ । 
प्राधिकरणले पाँच वर्षको अवधिमा पुनर्निर्माणका लागि कूल ९३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरे पनि त्यो रकमसमेत बढ्ने भएको छ । बाँकी पुनर्निर्माणको काम सक्न झन्डै थप ४ सय २९ अर्ब रुपैयाँ आवश्यक पर्ने पुनर्निर्माण प्राधिकरणको भनाइ छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप