बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

२० महिनाभित्र पुनर्निर्माण सक्न प्रधानमन्त्रीको निर्देशन

बिहीबार, १२ वैशाख २०७६, १३ : ०५
बिहीबार, १२ वैशाख २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिनाभित्र भूकम्पले क्षति भएका संरचनाहरु निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । 

काठमाडौँको वसन्तपुरमा दरवार क्षेत्रमा बिहीबार आयोजित चौथो भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले क्षति पुर्याएका पुरातात्विक केही सम्पदाबाहेक अरु सबै संरचना अबको २० महिनाभित्र सक्नेगरी काम गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन दिएका हुन् । 

केही सम्पदाहरु निर्माण सम्पन्न गर्न अरु समय लाग्नसक्छ, तर धेरै संरचना निर्माण भइरहेकाले अब त्यसलाई सम्पन्न गर्न ढिला गर्नुहुँदैन । अबको २० महिनाभित्र सकिसक्नुपर्छ’ प्रधानमन्त्री ओलीको भनाई छ ।  ‘गोरखा दरबार भक्तपुरको नौ तले दरवार पुननिर्माण भइरहेको छ । धरहरा,रानीपोखरी पनि पुनर्निर्माण भइरहेको छ । भक्तपुर र पाटन दरबार बनिसक्यो’ प्रधानमन्त्री ओलीले भने, ‘सम्पदाहरुको पुरातात्विक महत्व नबिगार्ने गरि बनाइन्छ । अझ बलियो, अझ आकर्षक बनाउँछौ ।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पीडाबाट थलिएर बस्ने नभई संरचना निर्माणमा तीव्रता दिनुपर्ने बताए । उनले सरकारी विद्यालय, अस्पताल, सेना र प्रहरीका भवनहरु छिटो बनाउनुपर्ने भन्दै सम्पदा निर्माण गर्ने क्रममा अनुचित विवादमा नअल्झन आग्रह गरे । ‘विवादले पुननिर्माण बढ्दैन । ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुँदैन’ प्रधानमन्त्रीको भनाई छ । 

कार्यक्रममा प्राधिकरणका सिइओ सुशील ज्ञवालीले अबको २० महिनामा धेरै काम गर्नुपर्ने भएकाले प्राधिकरणले आफ्नो गति थप बढाउने जनाए ।   प्रधानमन्त्री ओलीले आजै काठमाडौ उपत्यकाका सम्पदाहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप