बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरीहरुको सक्रियताले फेरिएको समाज, जब किशोरीले आफ्नै विवाह रोकिन् !

बिहीबार, १२ वैशाख २०७६, १३ : ५०
बिहीबार, १२ वैशाख २०७६

 जनकपुुर– प्रदेश नम्बर २ को सर्लाही जिल्ला शिक्षा क्षेत्रमा प्रदेशकै पिछडिएको जिल्लाका रुपमा चिनिन्छ ।

मलंगवा नगरपालिका, बलरा नगरपालिका, विष्णुपुर गाउँपालिका, रामनगर, कौडेना, ब्रह्मपुरी लगायतका स्थानीय तहमा कुनैवेला बाल विवाह, दाइजोलगायतका घटना अत्यधिक रुपमा हुन्थे । शिक्षाकै कमीले गर्दा यस्ता दण्डनीय विषयलाई पनि स्थानीयले सहजै रुपमा लिने गर्थे ।
यदि कसैले उजुरवाजुर गरे मेलमिलापको विधिबाट स्थानीयस्तरमै मिलाइन्थ्यो । तर, समयको परिवर्तनसँगै स्थानीयमा आएको चेतनाका कारण अवस्था फरक बन्दै गएको छ ।

जिल्लामा विभिन्न माध्यममार्फत बढेको जनचेतना अभिवृद्धिले अहिले वातावरण फेरिदै जान थालेको हो ।
सर्लाहीको गोडैता नगरपालिकाका किशोरीहरुले नै पहिलो पटक जव लैंगिक हिंसाबिरुद्ध आवाज उठाउन थाले तब स्थानीयस्तरमा समेत यसको प्रभाव देखिन थाल्यो ।

जसका कारण एउटै गाउँमा एक वर्षको अवधिमा ७० भन्दा बढी बाल विवाह रोकिए ।

किशोरीहरुको समूहले चलाएको लैंगिक हिंसाविरुद्धको यो अभियानले समाजमा केही परिवर्तन आएपनि पूर्णत परिवर्तन आउन नसकेको गोडैता नगरपालिकाकी स्थानीय किशोरी सबनम खातुन बताउँछिन् । 
१७ वर्षीया सबनमका अनुसार जनप्रतिनिधि र प्रशासनकै अगाडि बालविवाह हुँदा समेत मुकदर्शक बन्ने गरेका उदाहरण अझै छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापा पनि प्रदेश २ मा बाल विवाहको समस्या अत्याधिक रहेको स्वीकार गर्छन् । 
‘यसलाई रोक्न नेपाल प्रहरी पूर्ण रुपमा तत्पर छ’उनको दावी छ । प्रहरीमा उजुरी कममात्रै पर्ने गरेका कारण बाल विवाह दण्डनीय भएपनि निर्मूल हुन नसकेको प्रहरीको दावी छ । 

‘२० जना किशोरीहरुको एक समूह बनाएर बाल विवाह गर्नु हुँदैन, बाल श्रम गराउनु हुँदैन भन्नेजस्ता जनचेतना जगाउने गरेका छौ । पहिलेपहिले हाम्रो आवाज नसुन्नेहरु पनि अहिले सुन्न थालेकोमा खुशी लागेको छ’ अभियान्ता सवनम बताउँछिन् ।


किशोरीहरुले चलाएको यो अभियान सोचेजस्तो सहज भने छैन । उनीहरुले गाउँभरी घुमेर अभिभावकहरुलाई सम्झाउनुपर्छ, बुझाउनुपर्छ ।
कतिपय किशोरीहरुले त आफ्नै अभिभावकको दवाबमा पढाईसमेत छोडिसकेका थिए
। पढाइ छाडेका उनीहरुलाई सम्झाएर पुन पढ्ने वाताबरण समेत मिलाइएको छ । गडैताकै १५ वर्षीया किशोरी इन्दुकुमारी पटेल अब फेरि विद्यालय जान पाउने आशामा छन् । त्यो भन्दा पनि बढी खुशी उनलाई आफूले गाउँमा हुने बालविवाह रोकेपछि लाग्छ ।

बाल विवाह केही हदसम्म रोक्न सफल भएपनि बालात्कार तथा दाइजो लिनेदिने घटनालाई रोक्न नसकेकोमा किशोरीहरु दुःखी छन् । 
बलात्कारलाई ढाकछोप गर्न पैसाको चलखेल हुने गरेको इन्दुले बताइन् । 
उनले बलात्कारको घटनालाई बाहिर जान नदिनका लागि ठूलठूला नेताहरुले नै पहल गर्ने गरेको आरोप लगाइन् ।
तर पनि सेभ द चिल्ड्रेनको सहयोगमा सर्लाहीमा लैंगिक हिंसा र कुरितिविरुद्ध किशोरीहरुले समूह बनाएर काम थालेपछि त्यस्ता घटनामा कमी आएको हो ।
उमेर पुगेपछि मात्रै विवाह गर्नुपर्छ भन्ने चेतनामा समेत अभिवृद्धि भएको प्रतिनिधि हजरा सबनमले बताइन् ।
किशोरीहरुको आत्मबल वृद्धि गर्न संस्थाले गोडैता नगरपालिकालाई केन्द्रित गरेर ‘जेन्डर वेस्ट भाइलेन्स’ बिरुद्धको कार्यक्रम विगत एक वर्षदेखि चलाउँदै आएको छ । 

कार्यक्रममा छनौट भएका किशोरीहरुमध्ये १५ जना किशोरीहरुले प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, प्रदेश प्रहरी, मुख्यन्यायधिवक्ताको कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय जनकपुरमा समेत किशोरीहरुले सामाजिक विकृतिबारे ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रम संयोजक हजरा सबनमले सर्लाहीको सीमावर्ती क्षेत्रमा निक्कै राम्रो प्रभाव पारेको जानकारी दिइन् । त्यसकै प्रभावले आफ्नो नाम सम्म नभन्ने किशोरीहरु आज प्रदेश प्रमुख, प्रदेश प्रहरी समक्ष खुलेर कुरा गर्न थालेको सबनमले बताइन् ।

सामाजिक कार्यकताहरुका अनुसार किशोरीहरुको यो अभियानले अभिभावकहरुमा आफ्नो सन्तानको बालविवाह गर्दा कानूनी फन्दामा पर्ने डर पलाएको छ । 

बालविवाह गर्ने दरमा अभियानले कमी ल्याएपनि सीमापारी लगेर बालविवाह गर्ने परिपाटी रहेकाले किशोरीहरु चिन्तित छन् ।  यसलाई रोक्न समाजका हरेक तप्का र वर्गको पहल आवश्यक रहेको उनीहरुको बुझाइ छ । 

जब आफ्नै विवाह रोकिन् एक किशोरीले
सर्लाहीकी एक किशोरी जन्मदर्ताको हिसाबले विवाहका लागि तोकिएको उमेर २० वर्ष पुरा भइसकेको थिएन । ती किशोरीको वास्तविक उमेर १७ मात्रै हो । जनेतेन प्राथमिक तह विद्यालय सम्मको अध्ययन गरेकी उनका बुवाले नजिकै एक गाउँका केटासँग विवाह गर्ने निधो गरे । 
आफ्नो विवाह हुँदैछ भन्ने थाहा पाएपछि किशोरीले आमालाई भनिन्, ‘मम्मी म अहिले विवाह गर्दिनँ, बुवालाई भन्नुस्, मेरो उमेर पुगेको पनि छैन र केटा पनि मन परेको छैन ।’ तर छोरीको कुरा सुनेर बुवा रिसाए । 

यता किशोरीले आमालाई विवाह नगर्ने र जर्वजस्ती गरे विष सेवन गर्ने भनेर चेतावनी दिएपछि बुवा सोच्न बाध्य भएर आफ्नो निर्णय परिवर्तन गर्न पुगे ।

बालविवाह गराउने ५ जना नियन्त्रणमा

सिरहाबाट जनकपुरमा आएर बालविवाह गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० स्थित रामजानकी विवाह मण्डपबाट बालविवाह गर्न लागिरहेको अवस्थामा बेहुलीका बुवा लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । 
सिरहा बरियारपट्टी गाउपालिका वडा नम्बर ५ हरिपुर टोल बस्ने ५० वर्षिया जिवेन्द्र नारायण यादवले सिरहाको औरही गाउपालिका वडा नम्बर ३ खजनपुर बस्ने हरी नारायण यादवको १० वर्षिय छोरी विभाकुमारी यादवसँग विवाह गर्न लागेका वेला बेहुलीका बुवा हरीनारायण, जिवेन्द्र नारायण यादवसहित दुवै पक्षका ५ जनालाई पक्राउ गरेको हो । 
पक्राउ परेकाहरुबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप