शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यार्सा टिप्न रोक लगाउन शैक्षिक अभियान सुरु

बिहीबार, १२ वैशाख २०७६, १५ : १३
बिहीबार, १२ वैशाख २०७६

खलङ्गा– यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नाका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ । बालबालिकालाई विद्यालय नछाड्न उक्त गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्नाका लागि अभिभावकलाई आग्रहसमेत गरेको छ । 

गाउँपालिकाले तल्फीस्थित सरस्वती मावि, लोठचौरस्थित मालिका मावि, डिल्लीचौरस्थित ऋणमोक्ष माविलगायतमा जनचेतनामूलक नाटकसहित शैक्षिक अभियान सञ्चालन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार हरेक वर्ष बालबालिका विद्यालय छोडेर यार्सा टिप्न जाने गरेकाले यस वर्ष सो कार्य रोक्न विभिन्न प्रयास गरिएको हो । विद्यार्थीलाई प्रोत्साहित गर्नाका साथै लामो समयसम्म विद्यालय अनियमित हुनेको हकमा सेवा सुविधा रोक्ने चेतावनीसमेत दिइएको छ । 

गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले शिक्षाको गुणस्तर बढाउन  स्थानीय सरकार लागिपरेको र यसमा अभिभावकले सहयोग गरे सम्भव पनि हुने बताए । अध्यक्ष बोहरा, उपाध्यक्ष पुन्नकली महतारासहितका पदाधिकारी अहिले पातारासी गाउँपालिका विद्यालय र गाउँलेसंगको भेटघाटमा यार्सा टिप्ने समय भएपनि विद्यार्थीलाई  विद्यालयमै निरन्तरता दिन विशेष शैक्षिक अभियान थालेका हुन् ।

स्थानीयवासी कालीबहादुर बोहराले जनचेतनामूलक कार्यक्रमले  केही सुधार आउने  बताए । अधिकांश विद्यार्थी आमाबुबासँगै यार्सा टिप्न पाटनतिर लाग्ने भएकाले विद्यालयको त्रैमासिक परीक्षासमेत प्रभावित हुने गर्दछन् । 
 
गत वर्ष डिल्लीचौरस्थित ऋणमोक्ष मावि मा ६० प्रतिशत विद्यार्थी जडीबुटी टिप्न गएकाले विद्यालयको परीक्षासमेत सार्नुपरेको शिक्षक जगतबहादुर शाहीले बताए । उक्त विद्यालयमा गत वर्षको हाजिरीमा कक्षा १० मा अध्ययनरत ६१ मध्ये  ३८, कक्षा ९ मा ११८मध्ये ८७, कक्षा ८ मा ८०, कक्षा ७ मा ७६ मध्ये ४३  र कक्षा ६ मा ४४ मध्ये २८ विद्यार्थी अनुपस्थित भएका थिए । 

यसैगरी पातारासी र गोठीचौरका माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका विद्यार्थी पनि  वर्षेनी यार्सा टिप्न अभिभावकसँग पाटन जाने गरेका थिए ।  जेठ महीनामै परीक्षा सकिनुपर्नेमा विद्यार्थी नफर्किएपछि असार अन्तिममा परीक्षा सारेको थियो । यस क्षेत्रमा अहिले यार्सासँगै वनलसुन, कटुको, भुल्तेलगायत जडीबुटी टिप्न विद्यार्थीसमेत जाने गरेका स्थानीयवासीले बताए । 

यार्सा टिप्न गएर कहिले बालबालिका मर्ने र कहिले बिरामीसमेत हुने गरेकोे छ । वि.सं २०७३ मा डिल्लीचौर विद्यालयका कक्षा ६ मा अध्ययनरत एक छात्रको ज्यान गएको उक्त विद्यालयले जनाएको छ । यार्सा टिप्न बालबालिका जाँदा  धेरै  पढाइ छुट्ने भएकाले शैक्षिक गुणस्तर बृद्धि हुन नसकेको शिक्षक कृष्ण बुढाले बताए । 
    
भोटे समुदायले वन उपभोग गर्न पाएनन् 

तीन पुस्तादेखि पातारासी गाउँपालिका–३ मा बस्ने भोटे समुदायले वन उपभोग गर्न नपाएको गुनासो गरेका छन् । अहिले छुमचौरमा  ४५ घरधुरी बस्दै आएकास्थानीय अगुवा ताक्ला लामाले बताए ।  बारम्बार स्थानीय तहमा वन उपभोग गरी पाऊँ भनी अनुरोध गरे पनि माग पूरा नभएको उनको भनाइ थियो ।

हाम्रो नागरिकता, लालपुर्जा सबै यहीको छ, स्थायीरुपमा बस्दै आएका छौँ, उनले भने, ‘हामीलाई सौतेनी व्यवहार भएको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट उहाँको पुर्खा बसाइँसराइ गरी यहाँ आएको हो । अर्का थानीयवासी सोनाम लामाले भने, ‘पशु चौपाय र  मानिसलाई समेत वन–जङ्गल उपभोग गर्न नदिएकाले चार घण्टा लामो बाटो हिँडेर आवातजावत गर्नुपर्ने बाध्यता छ ।’ 

वडापालिकाले भने भोटे समुदायसँग समन्वय गरेर समस्या समाधान गरिने जनाएको छ ।  पातारासी र चन्दननाथ नगरपालिका क्षेत्रमा ठूलो सङ्ख्यामा भोटे समुदाय बसोबास छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप