मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन कार्गो विरुद्ध विशेष अदालतमा मुद्दा, पतिपत्नी मिलेर कमाए झण्डै २४ करोड गैरकानुनी सम्पत्ति

बिहीबार, १२ वैशाख २०७६, १७ : १८
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं–हिमालयन कार्गोविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

 हिमालयन कार्गोका प्रोपाइटर मधु चौधरीको श्रीमानले राजस्व चुहावट गरी मधु चौधरीको नाउँमा गैह्र कानुनी सम्पति आर्जन गरेको भन्दै बिशेष अदालत काठमाडौमा सम्पत्ति शुद्धिकरण अभियोगमा मुद्दा दायर भएको हो । 

हिमालयन कार्गो नेपाल (स्थायी लेखा नम्बर ३०१७९७८६३) र मधु कुमारी चौधरीको नाममा हिमालयन कार्गो  दर्ता छ । यसले ९ वर्षदेखि राजस्व चुहावट गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको देखिएको छ । फर्मका प्रोपाइटर मधु कुमारी चौधरीका पति भारतीय नागरिक विनोद कुमार गुप्ता हुन् ।

सम्पत्ति शुद्धिकरणको कसुरमा राजस्व अनुसन्धान विभागले सम्पत्ति शुद्धिकरण विभागलाई २०७५ भाद्र २० गते छानविन गर्नु भन्दै पत्र पठाएको थियो । सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्दा २३ करोड ९५ लाख ६८ हजार १३१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भेटिएको हो । पति पत्नी दुबै मिलेर भारतीय नागरिक विरेन्द्र महतोको समेत संलग्नतामा कसुर गरेको भेटिएको छ । 

उनीहरुले फर्मका कर्मचारीको नाममा समेत १० करोड १० लाख २० हजार ९ सय ४१ रुपैयाँ बैंक खातामा जम्मा गरिदिएको भेट्एिको विभागले जनाएको छ । 

साथै, काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा २०६५ साल पछि घरजग्गामा ८ करोड ३० लाख ३० हजार ८ सय लगानी गरेको, मधुकुमारी चौधरी एकल संचालक रहेको मंगला रियलस्टेट प्रा.लि. मा २ करोड लगानी र एप्पल पोलिमर्स प्रा.लिमा. २ करोड ५० लगानी रहेको र मधुकुमारी चौधरीका नाउँमा रहेको विभिन्न बैँक तथा वित्तीय संस्थाको शेयरमा ४ लाख ९७ हजार ४ सय ५९ लगानी गरी  कसुर गरेको पुष्टि भएको छ । 

सम्पत्ती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम उनीहरु दोषि देखिएकाले  विनोद कुमार गुप्ता र मधु कुमारी चौधरीलाई कुल वीगो. २२ करोड ९५ लाख ४९ हजार २ सय ४१ कायम गरी जरिवाना तथा सजाय गर्न काठमाडौ विशेष अदालतमा मुद्दा दर्ता भएको हो । बैंशाख १२ गते सो मुद्दा दर्ता भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप