शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पको निहुँमा दुखेको एउटा घाउ : ४० लाख सकियो, तर होस् फर्किएन (भिडियो)

बिहीबार, १२ वैशाख २०७६, १७ : ५३
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं–उनी बोल्न सक्दैनन्, मान्छे चिन्दैनन् । एकोहोरो आँखा भने हेरिरहन्छन् । नाकको प्वालबाट पाइप छिराइएको छ । त्यो पाइपमार्फत उनका ६० बुबा लिलानाथ पुडासैनी दिनको १० पटक दाल र अण्डाको झोल खुवाउँछन् । 

पिसाव फेर्नका लागि पनि पेटबाट पाइप राखिएको छ । बालुवाटारमा रहेको नेपाल हेल्थ केयर इक्वीप्मेन्ट डेभलपमेन्ट फाउन्डेसनमा ३० वर्षका कृष्णहरि पुडासैनी जीवन मरणको दोसाँधमा रहेका छन् । 

उनका परिवारका अनुसार २०७२ सालको बैशाख १२ गतेको भूकम्पमा उनी घाइते भएका थिए । काठमाडौंको ठमेलमा रहेको स्विसा ट्रेकिङ एजेन्सी मार्फत पर्यटन गाइडको रुपमा लाङटाङ क्षेत्रमा पर्यटकहरुलाई घुमाउन गएका बेला उनी भूकम्पका कारण घाइते भएका थिए । 

कृष्णहरिका भिनाजु शिव घिमिरेका अनुसार मनाङ एयरको हेलिकोप्टरले उद्दार गरेर नुवाकोटको त्रिशुलीमा कृष्णहरिलाई ल्याइदिएपछि उनलाई त्यहाँबाट काठमाडौंको छाउनी अस्पतालमा उपचारका लागि लगिएको थियो । 

उनका बुवा लिलानाथले भने, ‘भूकम्पले खुट्टामा चोटपटक लागेको थियो, गोलीगाँठो नेर काटेको थियो । ज्वरो आउने समस्या बढ्दै गयो । पछि बोल्न नसक्ने, जिउ नचल्ने हुन थाल्यो । २०७२ जेठको अन्तिमबाट समस्या धेरै बल्झियो ।’ 

त्यसपछि सुरु भयो उनको अस्पताल कहालीलाग्यो यात्रा
 उपचारका क्रममा छाउनी अस्पतालबाट उनलाई वीर अस्पतालमा लगियो । वीर अस्पतालले राख्न नमानेपछि काठमाडौंको ओम अस्पतालमा लगियो । त्यहाँ डाक्टरले टिटानसको इन्जेक्सन दिएर धेरै खर्च नगर्नुस् ठीक हुन्छ भनेको घिमिरेले बताए ।  

ओम अस्पतालबाट फेरि टेकु अस्पतालमा रिफर गरियो । त्यहाँ राख्न आइसियू छैन, आइसियू भएको अस्पतामा लैजानुस् भनेपछि आइसियु भएको अस्पताल खोजियो । जनमैत्री अस्पतालमा आइसियू छ भनेपछि राखियो । त्यहाँ ५० दिन भेन्टिलेटरमा राखियो । ७ महिना ११ दिन जनमैत्रीमा राखियो । जनमैत्रीले कृष्णहरिलाई ट्रमा सेन्टरमा लगिदियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोगका लागि स्वास्थ्य मन्त्रालय गुहारेपछि परिवारले स्वास्थ्य मन्त्रालयमा निवेदन दिइयो । मन्त्रालयले उपचारमा सहयोग गर्न एउटा पत्र बनाइदिएको थियो । पत्रमा कृष्णहरि भूकम्पको घाइते भएकोले काठमाडौंका जुनसुकै अस्पतालमा सुविधायुक्त तरिकाले राख्न भनिएको थियो । 

घाउ निको पार्न ९ महिना १४ दिन ट्रमा सेन्टरमा राखियो । तर अस्पताले अक्सिजन दिनुपर्ने, पाइपबाट खुवाउनुपर्ने भनेर बिरामी लैजान भनेपछि त्यहीको डाक्टर मार्फत बालुवाटारमा रहेको नेपाल हेल्थ केयर इक्वीप्मेन्ट डेभेलोपमेन्ट फाउन्डेसनमा ल्याइएको थियो । साढे २ बर्षदेखि उनको सोही संस्थामा उपचार भइरहेको छ । उनको उपचारमा खर्च भएको २५ लाखको विल स्वास्थ्य मन्त्रालयमा बुझाएको घिमिरेले बताए ।

 उनले भने–‘फाइल रनिङ भइरहेको छ भन्छन्, कहिले को कर्मचारी बिदामा बसेको भन्छन्, कहिले के हेर्नुपर्ने भन्छन् । अहिले त्यो फाइल अर्थमन्त्रालय जान लागेको भनेर त्यहाँको कर्मचारीले भनेका छन् । मन्त्रालयले फाइल प्रोसेसमा छ उपचार खर्च पाउने भनेका छन् । अहिलेसम्म दोधारमा पारेर अल्झाइरहेका छन् ।’

२७ वर्षको उमेरदेखि थलिएका कृष्णहरि अहिले ३० वर्ष पुगेका छन् । विगत ४ बर्षदेखि उनका बुवा लिलानाथले उनको हेरविचार गर्दै आएका छन् । 

महिनामा १२ हजारको औषधी खुवाउनुपर्ने उनलाई नाकको प्वालबाट लामो समय खाना दिन नहुने भन्दै अचेल चिकित्सकहरुले कोखामा प्वाल पारेर दिनुपर्ने बताएका छन् । 

उनलाई के भएको हो भन्नेमा अन्यौल रहेको लिलानाथले बताए । डाक्टर उपेन्द्र देवकोटालाई देखाउँदा ब्रेन डेथ भएको भनेका थिए । उनलाई प्रत्येक महिना जस्तो ज्वरो आउने गरेको छ । मष्तिस्कका लागि पनि औषधी खुवाउने गरिएको छ । संस्थाले उनलाई फिजियो थेरापी पनि गराउने गरेको छ । कृष्णहरिलाई पहिलेको भन्दा अलि सुधार भएपनि पहिलेकै अवस्थामा देख्न ठूलो कामना रहेको बुवा लिलानाथले बताए । 
उपचारका लागि औषधी सहित अहिलेसम्मको सबै खर्च गर्दा ४० लाख जति लागेको लिलानाथले बताए । उपचारका लागि कृष्णहरिले काम गरेको ट्रेकिङ कम्पनीले ७० हजार नगरपालिका लगायतका केही संस्थाबाट केही सहयोग प्राप्त भएको उनले बताए । यस्तै स्वास्थ्य मन्त्रालयले ५० हजार दिएको र बाँकी पैसा ऋण गरेर उपचार गरिरहेको उनले बताए ।

नुवाकोट गाविस वेलकोटगढी नगरपालिका वडा नंं. ३ का लिलानाथ सामान्य कृषक हुन । छोराको अवस्था नाजुक भएपछि उनी अन्त कतै निस्कन पाएका छैनन् । राम्रो उपचार भए पहिलेकै अवस्थामा छोरालाई हेर्न पाउने आशामा लिलानाथ छोराको उपचारका लागि सहयोग खोजिरहेका छन् । 
हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप