शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्रा स्कर्पियो पिकअप: कम मूल्यमा प्रिमियम सुविधा सहित

बिहीबार, १२ वैशाख २०७६, १८ : ५९
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं– सवारीको बनोट र त्यसमा भएको सुविधा अनुसारको उपयोग पनि भिन्दा भिन्दै हुने गरेको छ । सबै सेगमेन्टका सवारीको आ–आफ्नै विशेषता हुन्छन् । त्यो मध्येको एउटा सेगमेन्ट हो पिकअप, जसलाई स्मल ट्रक पनि भनिन्छ । पिकअप सेगमेन्टको गाडीलाई लाइट कमर्सियल भेइकलको रुपमा समेत हेरिने गरेको छ ।

पछिल्लो समय सवारी उपभोक्ताहरुको रोजाइमा कम्प्याक्ट एसयूभी, एसयूभी बढी पर्न थालेको छ । विगतमा सेडान कार धेरैको रोजाइमा पथ्र्यो । सहरी क्षेत्रमा रहने उपभोक्ताहरुले ह्याचब्याक र सेडान रोज्ने गरे पनि अफ रोडमा जाने उपभोक्ताको रोजाइमा एसयूभी वा पिकअप पर्ने गरेको छ ।

नेपालका अधिकांश बाटोहरु ग्रामिण इलाकामा पर्छन् । त्यस्ता बाटोका लागि कि एसयूभी, कि पिकअप उपयुक्त मानिन्छ । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ । किनकी पिकअपमा सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ ।

व्यक्तिगत प्रयोजनदेखि परियोजनासम्मका लागि पिकअप उपयोगी सवारी हो । पिकअप गाडीका सबै चक्कामा बराबर पावर डिष्ट्रिव्युट भएर गुड्ने भएकाले केही सामान सहित धेरै अफरोड यात्रा गर्नेहरु माझ लोकप्रिय भएको हो । नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्येको एक हो ‘महिन्द्रा स्कर्पियो पिकअप’ ।

स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको छ । यो इन्जिनले १ सय ४० एचपी पावर र ३ सय २० एनएम टर्क दिन्छ । नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन् । स्कर्पियो पिकअप फूलअप्सन गाडी हो ।

डबल क्यापमा उपलब्ध पिकअप तीन मोडल एस ६ टूह्वील ड्राइभ, एस ६ फोरह्वील ड्राइभ  र एस १० छ । एस १० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोल लगायत विशेषता रहेको अग्नी इनकर्पोरेटेड भेइकल सेल्स डिपार्टमेन्टका एक्जुकेटिभ सिनियर म्यानेजर रोसन श्रेष्ठले बताए ।

नेपाली बजारमा यो पिकअप विभिन्न चार रंगमा उपलब्ध रहेको छ । सुरक्षाका लागि यो पिकअपमा डूअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल सेन्ट्रल लक लगायत विशेषता रहेका छन् । नेपाली बजारमा पिकअप सेगमेन्टमा प्रतिस्पर्धा बढ्दै गएको श्रेष्ठको भनाई छ । ‘बजार बढेसँगै प्रतिस्पर्धा पनि उच्च भएको छ पिकअप सेगमेन्टमा,’ उनले भने, “अबको चुनौती भनेको कम मूल्यमा धेरै विशेषता तथा सर्भिस उपलब्ध गराउनु पर्छ ।” पिकअप सेगेन्टको माग पछिल्लो समय बढ्दै गइरहेको छ ।

स्कर्पियो पिकअपको मुख्य प्रतिस्पर्धीको रुपमा टाटा द जेनोन र इसुजु रहेको छ । स्कर्पियो पिकअपको शोरुम तथा सर्भिस सेन्टरहरु देशभर उपलब्ध छन् । काठमाडौंमा मात्र पाँच स्थानमा रहेको छ । स्कर्पियो पिकअपको मूल्य ३५ लाखदेखि ४० लाख ८० हजार रुपैयाँसम्म रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप