बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको सफलता प्रचारमा होइन, परिणाममा देखिनुपर्छ

शुक्रबार, १३ वैशाख २०७६, १४ : ०४
शुक्रबार, १३ वैशाख २०७६

६४ प्रतिशत जनमतका साथ नेपाल कम्युनिस्ट पार्टी सबै तहको सरकार सञ्चालन गरिरहेको छ । अधिकतम जनप्रतिनिधि पार्टी सङ्गठन र जनतालाई ओझलमा राख्दै आफ्नो निजी विचारलाई जोर्दै सरकार सञ्चालनमा व्यस्त छन् ।  सफलताका विभिन्न मानक हुन्छन् । सफल भएको वा नभएको भनेर निक्र्यौल गर्न निर्धारित लक्ष्य प्राप्त भयो कि भएन, कति प्राप्त भयो भन्ने कुरालाई हेरिन्छ । कसैले यतिकै सफलता प्राप्त भयो वा भएन भनेर जोडजोडले कराउँदैमा त्यसको प्रमाण पुग्दैन । त्यो केवल हावादारी हल्ला मात्र सावित हुन्छ । जनप्रतिनिधिहरु र नेपाल सरकारका कामकारबाहीलाई नेपाली जनताले राम्रोसँग नियालिरहेका छन् । आजका जनता जागरुक र शिक्षित छन् । विकास र समृद्धिमा सरकारले राखेका लक्ष्य पूरा भयो कि भएन वा कति के कारणले भयो वा भएन भनेर विभिन्न कोणबाट मूल्याङ्कन गरिरहेका छन् । सरकारका मन्त्रीहरु, सङ्घीय सरकार प्रमुख र स्थानीय सरकारको प्रमुख जति माथि उफ्रेर जति ठूलो स्वरमा सफल वा असफल भएको बताए पनि त्यसको कुनै गुन्जायस छैन । जनताको नजरमा उनीहरु केवल पङ्गु मात्रै बनिरहेका हुन्छन् । 

नयाँ संविधानअनुसार विभिन्न तहका निर्वाचन सम्पन्न भएपछि बनेका तीन तहका सरकार र तिनको संरचनाले अहिलेसम्म पनि वास्तविक जमिनमा खुट्टा टेक्न सकेको छैन । नयाँ संरचनामा काम गर्न जननिर्वाचित प्रतिनिधि र कर्मचारी दुवैलाई हम्मेहम्मे परिरहेको देखिन्छ । सयौँ वर्षदेखि अभ्यस्त रहेको संरचनामा अभ्यस्त रहेको कर्मचारीतन्त्र सङ्घीय संरचनाअनुसार बदलिन नसक्दा आप्ठ्यारो भएको छ । प्रदेश, सङ्घ र स्थानीय सरकारमा समायोजन हुने क्रममा हैसियत, सुविधा र वर्चस्व कसरी कायम हुने, हुने कि नहुने भन्ने चिन्ताले कर्मचारीमा अहिलेसम्म पनि अन्योल देखिन्छन् । प्रदेश सरकारले कानुन, अपर्याप्त कर्मचारी, क्षेत्राधिकारको अन्योलता र अनुभव शून्यताका कारण कहाँबाट के काम सुरु गर्ने भन्ने अन्योलतामै एक वर्ष बितायो । विकास निर्माणका काम कसरी कुन स्रोत प्रयोग गरेर कसरी गर्ने भन्ने धेरै ठूलो अन्योल देखिन्छ । यसले सही गति लिन अझै केही समय लाग्ने देखिन्छ । 

स्थानीय सरकारको जनप्रतिनिधिहरु जनतालाई अवमूल्यन गर्दै अगाडि बढिरहेको देखिन्छ ।  स्थानीय सरकारका जनप्रतिनिधिहरु राजामहाराजा जस्ता भएका छन् । जनताका काम र विकास निर्माणमा भन्दा पनि कसरी बजेट दुरुपयोग गर्ने र कमाउने भन्ने योजना बनाउनमा नै मस्त देखिन्छन् । जसका कारण जनता दिक्दार भएका छन् । प्रतिनिधि सभाका सांसदहरु अलमलमा परेका छन् । बेरोजगार जस्ता भएका छन् । 

सङ्घीय सरकार कामभन्दा धेरै हल्ला पिटिरहेको छ । जसको कुनै तुक छैन । सम्पूर्ण सत्ता हातमा भएर पनि राष्ट्रिय समृद्धिका ठोस योजना निर्माण र कार्यान्वयनमा अलमलिएको छ । आफ्नो अलमल सुधारेर र कार्यकर्तासहित  सबैको सल्लाह लिएर अघि बढ्नुपर्नेमा भाषण गरेर अभूतपूर्व सफलता हासिल गरेको जिरह गरिरहेको छ । सरकारको सफलता वा असफलता ठूलो स्वरले कराएर, चिच्याएर होहल्ला गरेर, आलोचकलाई थर्काएर र विपक्षीलाई कटाक्ष गरेर पुष्टि नहुने अस्पस्ट छ । जनताले आफ्नो जीवन व्यवहारमा सरकारका राम्रा काम कति अनुभूत गर्न पाएको छ, राष्ट्रिय विकास र समृद्धिको पूर्वाधार निर्माणमा कति कहाँ कहाँ प्रगति भएको छ, त्यसले मापन गरिरहेको हुन्छ । जनताले त्यसलाई देखेपछि सरकारले काम गरेको मान्नेछन् । 

ऐन र विधेयकमा हुने छलफल र पास गर्ने बेलामा संसद चल्दा हाई काड्दै बस्नु सिवाय अरू काम बन्द प्रायः भएको छ । संविधान र ऐन भरखर बनेको परिप्रेक्षमा त्योअनुसार राजनीतिक संरचनामा राज्यलाई ढालेर सुचारु गर्न पक्कै पनि केही दिन वा महिनाको समय पर्याप्त नहुन सक्छ । एक दुई वर्षमा पनि त्यसको काम पूरा नहुन सक्छ । सबै तहको संरचना निर्माण गर्न र त्यसलाई पूर्ण रूपमा सुचारु गर्न पक्कै पनि केही समय लाग्न सक्छ । तर त्यसका लागि आधारहरु निर्माणको सुरुवात त आज, अहिल्यैबाट गर्नुपर्छ । सरकारका अहिलेका कार्यले देश नयाँ संरचना, कानुन र व्यवस्थाको नेतृत्व गर्न अलमलिएको देखिन्छ ।   
सरकारमा धैर्यता र सहनशीलताको पनि अभाव देखिन्छ । काम गर्ने इच्छाशक्ति सरकारमा छ । तर गर्न सकिरहेको छैन । किनकि सरकार उचित योजना बनाएर काम गर्न सकिरहेको छैन । साँघुरो घेरा बनाएर चलेका कारण यस्तो भएको चर्चा गरिन्छ । अपेक्षाकृत काम र परिणाम नभएपछि स्वाभाविकै रूपमा आलोचना र विरोध त हुन्छ । त्यसलाई सहजताका साथ लिएर योजना निर्माण र कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा सरकार प्रमुख दयित्व देखिन्छ । 

सरकारको यही क्रियाकलापका कारण अहिले जनमत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी आगामी चुनावमा खराब परिणामको सामना गर्नुपर्ने स्थानमा पुग्नसक्ने कार्यकर्ता र जनतामा डर छ । यो अवस्थाबाट सरकार, पार्टी, नेतृत्व र देशलाई बचाउँदै सही ट्र्याकमा ल्याउन ढिलो गर्नु हुँदैन । नेतृत्वको काम पार्टीको नीतिभन्दा पर हुँदा त्यसलाई देखेको नदेख्यै गर्ने कार्यकर्ता कम्युनिस्ट पार्टीका कार्यकर्ता कसरी हुनसक्छन् । समय छ, अहिले नै जनताबाट आएको मतलाई कदर गर्दै सचेत भएर देश ‘जनताको समृद्धितर्फ उन्मुख हुन्न जरुरी देखिन्छ । कार्यकर्ता र जनताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विश्वाश र आशको साथ सबै तहको सरकारलाई हेरिरहेको छ । जनप्रतिनिधिलाई विश्वाश र आशाको कदर गर्दै सरकारले लिएको समृद्धिको लक्ष्यलाई अत्मसात गर्नुपर्छ ।

लाहान नगरपालिका–७ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय कुमार गुप्ता
विजय कुमार गुप्ता
लेखकबाट थप