केन्द्रीय संस्करण

तनाव व्यवस्थापनका सरल उपाय

person explore access_timeबैशाख १३, २०७६ chat_bubble_outline0

-नरनाथ पाण्डे

“केही दशकअघिदेखि सुरु भएको सामाजिक परिवर्तन, प्रविधिको उल्लेखनीय विकास, यातायात क्षेत्रको उल्लेखनीय प्रगति आदिले गर्दा सबैको सबैमा पहुँच, धनी र सुखी बन्ने चाहना जस्ता कारणले मानिसको जीवनमा भयङ्कर दबाब र तनावको सिर्जना भएको छ । तनाव केवल बुझ्ने मानिसलाई मात्र नयाँ किसिमले सिर्जना भएको समस्या नभई बच्चा, युवा, नवविवाहिता, काममा व्यस्त हुने व्यक्ति, एकल जीवन जिउने, प्रौढ व्यक्ति आदि सबैमा देखापर्ने गरेको छ ।”

तनाव (Stress)  के हो ?
तनाव भन्नाले कुनै पनि सत्य घटना, परिघटना वा काल्पनिक घटनाका कारण मानिसको मनमा उत्पन्न हुने श्रेणीबद्ध एउटा प्रक्रिया हो, जसले मानसिक, शारीरिक, संवेगात्मक र आध्यात्मिक स्वास्थ्यमा समस्या उत्पन्न गराई मानिसको दैनिकीमा परिवर्तन गराउँछ । चिकित्सा र जीवविज्ञानका अनुसार तनाव भन्नाले शारीरिक, मानसिक र संवेगात्मक रूपमा परिवर्तन भएको एक अवस्था हो, जुन शारीरिक र मानसिक दबाबका कारण उत्पन्न हुन्छ । यस्तो तनाव बाहिरी (वातावरण, मनोविज्ञान र सामाजिक परिस्थिति) र भित्री (रोग लागेर) गरी दुई किसिमले हुने गर्दछ । तनावका कारण स्नायु तथा ग्रन्थीप्रणालीमा नकारात्मक प्रभाव परी कहिलेकाहीँ जटिल परिस्थितिको सिर्जना हुन्छ । 

तनावयुक्त परिस्थितिहरु मानिसको जीवनमा सबैले अनुभव गर्ने गर्छन् । तनाव राम्रो र नराम्रो दुवै हुनसक्छ । राम्रो खालको तनावले कहिलेकाहीँ व्यक्तिको जीवनमा उत्साह र सफलता पनि ल्याउँछ । जस्तैः जाँच आएको कारण हुने तनावले पढ्ने मनस्थिति बनाउनु, प्रतिस्पर्धाको तनावले बढी परिश्रमी र मिहिनेती बनाउनु, बच्चामा सिकाइका लागि तनाव उत्पन्न हुनु आदि । यसैगरी नराम्रो खालको तनावले निकै नकारात्मक अनुभूति दिलाउने, रिसाहा हुने, मनोरोगी हुने, जीवन भताभुङ्ग हुने र स्वास्थ्यसम्बन्धी निकै गम्भीर समस्या थपिने गराउँछ । 
तनावका प्रकार    

तनाव मुख्य दुई किसिमका हुन्छन् । ती हुन्
१. तीव्र तनाव (Acute stress) : भर्खरै घटेको घटनाका कारण मनमा उत्पन्न हुने नकारात्मक परिस्थितिलाई तीव्र वा एक्कासि उत्पन्न हुने तनाव भनिन्छ । जीवनमा यस्ता तनाव जोकोहीलाई आइपर्न सक्छन् । यस्तो तनाव छोटो समयका लागि मात्र आउँछ, जसले गर्दा कुनै क्षति हुन पाउँदैन ।

२. जीर्ण तनाव (Chronic stress)  :यो निकै लामो समयदेखि सुरु भई लामो समयसम्म रहिरहने तनाव हो । स्वास्थ्यको लागि निकै हानिकारक यस्तो तनावले स्मरणशक्ति समेत ह्रास गराउन सक्छ । यस्तो तनाव पुरुषमा भन्दा महिलामा बढी देखिन्छ ।

तनावसम्बन्धी अवस्था
अहिलेको युगमा तनाव एउटा विश्वव्यापी समस्याका रूपमा देखापरिरहेको छ । केही दशकअघिदेखि सुरु भएको सामाजिक परिवर्तन, प्रविधिको उल्लेखनीय विकास, यातायात क्षेत्रको उल्लेखनीय प्रगति आदिले गर्दा सबैको सबैमा पहुँच, धनी र सुखी बन्ने चाहना जस्ता कारणले मानिसको जीवनमा भयङ्कर दबाब र तनावको सिर्जना भएको छ ।

तनाव केवल बुझ्ने मानिसलाई मात्र नयाँ किसिमले सिर्जना भएको समस्या नभई बच्चा, युवा, नवविवाहिता, काममा व्यस्त हुने व्यक्तिहरु, एकल जीवन जिउने, प्रौढ व्यक्ति आदिमा समेत देखापर्ने गरेको छ । दीर्घकालीन तनावका कारण किशोरावस्थामा आत्महत्याको समस्या र बच्चाको वृद्धि हर्मोनमा (Growth hormone) कमी आई पुड्कोपनको समस्या देखिएको छ । बच्चामा देखापर्ने तनावका स्रोतहरु पारिवारिक, सामाजिक, विद्यालय तथा अन्य बाहिरी परिस्थिति नै हुन् । 

बच्चामा तनावले पार्ने प्रभाव

तनावले सबै व्यक्तिलाई प्रभाव पार्छ । बच्चा, युवा, किशोर, प्रौढ, वृद्ध, महिला, पुरुष जोकोही पनि तनावबाट अछुतो रहन सक्दैन । उदाहरणका लागि २ वर्षे बच्चा पनि चिन्तित भई तनावबाट ग्रस्त हुनसक्छ किनकि उसले अभिभावकबाट पूर्ण सन्तुष्टि नपाउन सक्छ वा उसका आवश्यकता पूरा नहुन सक्छन् । त्यस्तै स्कुल जानुपूर्वको बच्चालाई उसको आमाबाट छुट्टिनु नै ठूलो चिन्ताको विषय बन्नजान्छ । त्यस्तै बच्चालाई कुनै चाइल्ड् केयर सेन्टर वा मन्टेस्वरी स्कुलमा पठाई दिनभर आमाबाबा कुनै काममा जानु बच्चाका लागि उपयुक्त परिस्थिति नै होइन । यस्ता कारणले बच्चालाई शिशु अवस्थादेखि नै तनाव झेल्नु पर्छ ।

त्यस्तै जब बच्चा ठूलो हुन थाल्छ, उसमा शैक्षिक तथा सामाजिक दबाबका कारण त्यहाँ समायोजन हुनमा समस्या पर्छ । त्यस्तै अभिभावकले पनि बच्चाको पढाइ, शैक्षिक उन्नति, खेलकुद, विभिन्न क्रियाकलापमा अब्बल हुनका लागि बच्चासँग अपेक्षा राख्नसक्छन् । यसले पनि बच्चामा अनावश्यक तनाव र दिग्दारी पैदा गर्छ । यसैगरी बच्चाले टेलिभिजन, मोबाइल, फिल्म आदि हेरेर र नयाँ घटना तथा दर्दनाक समाचार सुनेर पनि आफूमा डर उत्पन्न गर्नसक्छ, जसले गर्दा उसमा सुरक्षाको खतराका कारण चिन्ता तथा तनाव उत्पन्न हुन्छ । यस्तो अवस्थामा बच्चालाई उचित निर्देशन र परामर्श दिन नसकिएमा तनावको दर बढ्न सक्छ । 

तनावले शरीरमा पार्ने असर

तनावका कारण शरीरका हर्मोनहरुमा परिवर्तन आउँछ, जसले गर्दा मुटु र फोक्सोको तीव्रता वृद्धि हुन्छ, आमाशय र माथिल्लो पाचन प्रणालीमा समस्या देखिन्छ, रक्तनली साँघुरिन्छन्, अश्रु ग्रन्थीले र ¥याल ग्रन्थीले काम गर्न छाड्छन्, आँखाको नानी ठूलो हुन्छ, यौन उत्तेजना हराउँछ, श्रवण शक्तिमा असर गर्छ र दृश्य क्षमतामा कमी आउँछ ।

यीबाहेक तनावले धेरै किसिमका मानसिक र शारीरिक समस्या उत्पन्न गराउँछ । 

मनोवैज्ञानिक समस्या : डिप्रेसन, चिन्ता लगायतका अन्य गम्भीर प्रकृतिका मानसिक समस्या ।

शारीरिक समस्याहरु : चोटपटक लाग्ने, पेटका समस्याहरु, टाउको दुखाइ, बुढ्यौली, छालाका समस्या, दमरोग, उच्च रक्तचाप, मधुमेह, अम्लपित्तको समस्या, प्याङ्क्रियाजमा समस्या, प्रजनन् अङ्गमा समस्या, मांसपेशी तथा जोर्नीमा समस्या, थकावट जस्ता अन्य समस्या पनि देखिन्छन् ।

तनाव व्यवस्थापनका विधिहरु
तनाव सुन्दा जति जटिल समस्या जस्तो लाग्छ, त्यसको समाधान चाहिँ निकै सरल खालका हुन्छन् । हामीले हाम्रो जीवनशैलीमा थोरै परिवर्तन गर्नासाथ र सोचाइमा परिवर्तन ल्याउनासाथ तनाव व्यवस्थित हुनथाल्छ । विश्वव्यापी समस्याका रूपमा रहेको तनाव व्यवस्थापनका लागि विभिन्न विधिहरु प्रचलित छन् । तनाव व्यवस्थापनको लागि सबैभन्दा राम्रो र पहिलो खुड्किला नै शारीरिक अभ्यास हो । शारीरिक अभ्यास नगरी बसिरहँदा, उभिइरहँदा वा एकोहोरो रूपमा सोचिरहँदा तनाव हर्मोनको उत्पादन हुनेगर्छ भने शारीरिक अभ्यास गर्दा तनाव घटाउने हर्मोनको उत्पादन हुन्छ । यीबाहेक तनाव व्यवस्थापनका अन्य विधि यसप्रकार छन् ।

शरीर स्वस्थ राख्ने (हल्का व्यायाम, सन्तुलित आहार, उपर्युक्त सुताइ, उत्तेजना हटाउने र सही आसनमा बस्ने गरेर) ।

स्वस्थकर सामाजिक मित्रता कायम गर्ने (स्वस्थकर सामाजिक सम्बन्ध राख्ने, आफ्ना र अरूका लागि पनि समयको व्यवस्थापन मिलाउने, आफ्ना अनुभूति र अनुभवहरु अरूलाई पनि बाँढ्ने, अरूका सही कुरा स्वीकार गर्ने र आफूलाई मन नपरेको कुरामा नाइँ भन्ने) ।

आराम र धैर्य रहने तरिका अपनाउने (नकारात्मक प्रभावबाट मुक्त हुन ध्यान, प्रार्थना, गहिरो श्वास प्रश्वास, मालिस, आनन्द आउने पढाइ, तातो पानीले नुहाउने र आफ्नो रुचिअनुसारको काम गर्ने) ।

तनाव व्यवस्थापनका लागि दिनमा एक वा दुई पटक २० देखि ३० मिनेटसम्म ध्यान गर्ने (ध्यान गर्नाले दीर्घकालीन फाइदा पुग्ने कुरा वैज्ञानिक रूपमै पुष्टि भइसकेको छ) ।

तनाव उत्पन्न गराउने तत्वहरुदेखि सचेत रहने र आफ्नो स्वास्थ्यमा ध्यान दिने ।

कामपछि अनिवार्य आराम गर्ने ।

पर्याप्त र गहिरो निद्रामा डुब्ने ।

अन्त्यमा,

तनाव जीवनमा जो कोहीलाई हुने सामान्य अवस्था पनि हो जसले हामीलाई विभिन्न ज्ञान दिन, अनुभव प्राप्त गर्न, शिक्षामा प्रगति गर्न र समस्या समाधान गर्नमा सहयोग गर्छ अथवा तनाव सामान्य, सकारात्मक र नकारात्मक ३ वटै अनुभवको संयोजन पनि हो । तनाव बाहिरी र भित्री दुवै वातावरणबाट प्राप्त हुन्छ । 

यदि तनाव उत्पन्न भएमा हामीले कुनै कदम चालेनौँ भने स्वास्थ्यमा गम्भीर समस्या पैदा हुन्छ । तनावलाई हटाउन पीडितलाई माया, ममता, प्रेम, हौसला दिएर, नियमित शारीरिक अभ्यास गरेर, ध्यान गरेर, आरामका विधिहरु अपनाएर, जीवनका उतारचढावलाई आत्मसात गरेर व्यवस्थापन गर्न सकिन्छ । तनावबाट मुक्ति पाउन भनेर मानिसले गलत खालका आनीबानी अपनाउने (जस्तै : लागू पदार्थ, धूमपान, मद्यपान आदिको सेवन) गर्नाले तनाव निको हुने नभई झन् समस्या थपिन सक्छ । आफूले व्यवस्थापन नै गर्न नसकिने तनावलाई सामाजिक सहयोगले व्यवस्थापन गर्न सकिन्छ । कहिलेकाहीँ मनोरोग विशेषज्ञको सल्लाहअनुसार केही औषधि उपचारको समेत सहयोग लिन सकिन्छ । अतः तनाव हटाऔँ, नियमित शारीरिक अभ्यास गरौँ, सन्तुलित आहार गरौँ, सदा स्वस्थ रहन खुशी र सुखी पनि बनौँ । अस्तु 

कावासोती–८, नवलपुर
(लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरका प्राध्यापक हुन्)
pndynn2031@gmail.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...