मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी प्रशासनको सुधार बर्ष : १० महिनामा ५ काम

शुक्रबार, १३ वैशाख २०७६, १७ : ३९
शुक्रबार, १३ वैशाख २०७६

बुटवल– सबै कर्मचारी कामचोर हुँदैनन् । तर चाहिन्छ केवल काम गर्ने साहस र जिम्मेवारीबोध । यति भए जस्तै असहज काम पनि गर्न सकिन्छ भन्ने उदाहरण गुल्मी जिल्ला प्रशासनले दिएको छ । 

जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारीका रुपमा यदुनाथ पौड्याल आएसँगै प्रशासनका काम कारवाहीमा आएको परिवर्तनले नै धेरै कुरामा परिवर्तनको अनुभव गर्न सकिन्छ । यहि कारण २०७५ साल जिल्ला प्रशासन कार्यालय गुल्मीका लागि सुधारको बर्ष बन्न पुगेको छ । 

सुधारको पहिलो काम
गुल्मी प्रशासनको ईतिहासमै गएको बर्ष २०७५ सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने बर्ष बन्यो ।  फोटो खिच्दा मनपरी पैसा लिएर सेवाग्राही ठगिनुपर्ने बाध्यताको अन्त्य पनि यहि बर्ष भयो । 

सदरमुकामका फोटोे स्टुडियो सञ्चालकलाई जिल्ला प्रशासनमा बोलाएर प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले फोटाको सहुलियत दर निर्धारण मात्रै गरेनन् सेवाग्राही सेवा लिन आउँदा उक्त फोटाको बिल समेत लिएर आउनपर्ने अनिवार्य गरे ।

पौड्यालले कार्यभार सम्हालेकै साता प्रवेशद्वारमै नागरिक सहायता कक्ष राखेर खटिएका कर्मचारीले के काम लिन आएको हो ? सोधपुछ गरि सम्वन्धित कोठामै पुराएर सेवा प्रवाहमा सहज बनाइयो । 

प्रशासनकै खर्चमा छपाई भएका २२ प्रकारका निवेदन र अन्य फारम निःशुल्क उपलब्ध गराएपछि राहदानीको राजश्वमा लाग्ने दस्तुर बाहेक एक पैसा पनि खर्च नगरि सेवाग्राहीले सेवा लिन पाउन थाले  ।

१० रुपैयाँको हुलाक टिकट समेत १५ रुपैयाँमा बेच्ने चलन तोड्दै १० रुपैयाँमै प्रशासनभित्र टिकट सुविधा प्राप्त हुन थाल्यो र सेवाग्राहीहरु विचौलियाबाट ठगिनुपर्ने बाध्यता अन्त्य भयो ।

दोस्रो काम
प्रशासनमा विचौलियाहरुको प्रवेश निषेध गरियो ।  टोकन प्रणालीबाट सम्वन्धित सेवाग्राही सिधै सम्वन्धित कार्यकक्षमा पुगेर सेवा लिन थाले  । सेवाग्राहीले १५ मिनेटको समयभित्रै आफ्नो काम हुने व्यवस्था प्रजिअ पौड्यालले लागु गराए । 

विगतमा पत्रकारदेखि पार्टीका नेता कार्यकर्तासम्म प्रशासनको ढिलासुस्ती र लेनदेनबारे गुनासो आउने गरेपनि २०७५ सालभर त्यस्ता एउटै गुनासो परेनन् । 

तेस्रो काम
प्युठानमा प्रमुख जिल्ला अधिकारी छँदा स्थानीय तहको निर्वाचन गराई गत असारमा गुल्मीको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न आएका उनले सामाजिक न्यायका पक्षमा एउटा महत्वपुर्ण काम गरे । 

प्युठनका रेकमबहादुर जिसीद्वारा ठगिँदै आएका गुल्मीका मदाने गाउँपालिकाका दलित र केहि गैह्र दलितसहित करिब ३३ जनालाई जिसीले ब्याजको स्याज र झुटा तमसुक समेत बनाएर घरबासबाटै उठीवास लगाएका थिए ।

जिसीलाई तीन महिनासम्म निगरानीमा राखेर उनले उनीहरुको ऋण र ब्याज मिनाह गराइदिए । तीमध्ये २५ घरधुरीको ठूलो उद्दार भयो । सोझासाझीलाई बर्षौंदेखि ठगी धन्दामा तल्लीन जिसीले ६ हजार रुपैयाँ दिएर १० लाखको तमसुक बनाई पुर्कोटदहका एक जनाको सबै जग्गा बन्दकी पास गराईएका थिए । 

त्यो घटना सञ्चारमाध्यममा आएलगत्तै उक्त जग्गा तत्कालन फिर्ता गराइदिए । अन्य दुई जनाको जग्गा पनि फिर्ता गराएर न्याय दिलाइदिए  ।

चौथो काम
सदरमुकाममा बिचल्लीमा परेका ९ जना बेसहरा बालबालिकाहरुको अभिभावक पत्ता लगाई रोहबरमा काठमाडौस्थित एसएस बालग्राममा आवासीय सुविधासहित पढ्न पठाए ।

मदाने गाउँपालिकामा श्रीमतीको हत्या गरि बाबु कारावास सजाय भोग्न परेपछि बेसहारा भएका उनका ४ जना छोरा छोरीलाई पनि सोही बालग्राममा पठाए । 

सामाजिक उत्तरदायित्व वहन गर्ने शिलशिलामा उनले कर्मचारी मिलन केन्द्रमार्फत ६ लाख मुल्य बराबरको अत्याधुनिक ल्याब मेसिन जिल्ला अस्पतालमा राख्न बिशेष भुमिका खेलेका थिए ।

पाँचौ काम
सदरमुकामका केहि ठुला व्यवसायीहरुविरुद्व हात बढाउनु अरिङ्गालको गोलामा हात हाल्नु जतिकै ठान्ने गरिन्थ्यो । उनिहरुसँग दुश्मनी भन्दा पनि आवतजावत र हेलमेल गर्थे सरकारी हाकीमहरु । तर यो व्यवहार उनमा देखिएन ।

उनले बिशेष सूचना संकलन गरेर दर्ता नगरि अवैध रुपमा सञ्चालनमा आएका सदरमुकामका औषधी पसल र क्लिनिकहरुमा प्रहरीलाई छापा मार्न लगाए । केहिदिन बन्द नै गराएर उनीहरुलाई ऐन, कानुनको दायरामा ल्याए । 

सदरमुकाम  र बाहिरका मुख्य–मुख्य व्यापारिक केन्द्रका खाद्य र औषधी पसलहरुमा म्याद सकिएका, इजाजत नभएका औषधी र खाद्य वस्तु ठूलो परिमाणमा बरामद गरि सञ्चालकहरुलाई कानुनी दायरामा ल्याए । प्रजिअ पौड्यालले करिव १० महिनामा ५ मुख्य कामबाट सेवाग्राही प्रत्यक्ष लाभान्वित भए ।

अरु के गरे त  ?
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेसँग हामीले यी पछिल्ला प्रमुख जिल्ला अधिकारीको कार्यकालमा के कस्तो सुधार भए भन्ने प्रश्नमा उनले उल्लेख्य सुधार भएको दावी गरे । 

उनका अनुसार उनको कार्यकालमा भ्रष्टचारमा शुन्य सहनशिलाको नीति अवलम्बन गरिएको  छ । विकास निर्माण र कार्याय अनुमगन र निरीक्षणमा औपचारिकता निभाउन परम्पराको अन्त्य गरिएको छ  । 

म्यनूअल तथा  डिजीटल वडापत्र र सेवाग्राहीलाई आराम गर्ने व्यवस्थित स्थान र टेलिभजन, शुद्ध पिउने पानी, गुनासो सुन्ने चैबिसै घण्टा टेलिफोन सम्पर्कको व्यवस्था, कार्यालयमा सेवाग्राहीलाई निःशुल्क वाईफाई, भित्रै फ्याक्स मेसिन र निशुल्क टेलिफोन सेवा, सेवा प्रवाहमा टोकन प्रणाली लागु गरिएको छ  । 

गत साउन १ गतेदेखि २०७५ मसान्तसम्म नियमित कार्यबारे प्रशासकिय अधिकृत पाण्डेले यस अवधीमा नयाँ नागरिकता ६ हजार ७ सय ७९ वटा वितरण भएको र प्रतिलिपी २ हजार ८ सय ८३ दिलाइएको पाण्डले जानकारी दिए  । 

त्यस्तै नाबालक परिचय पत्र ४  सय ४७ थान, राहादानी सिफारिस ५ हजार २ सय ६६, विभिन्न सिफारिस, प्रमाणित १ हजार २ सय ८ थान र यस ९ महिनाको अवधीमा २ करोड ६० हजार ६  सय ९३ रुपैयाँ राजश्व संकलन भएको जानकारी दिए ।

उनका अनुसार त्यस अवधीमा जिल्ला प्रशासनमा परेका मुद्दाहरु मध्ये ३१ वटा फर्स्यौट भएका छन् । जनगुनासा १ सय ५५ वटा सम्बोधन भएका छन् । २ सय ३२  वटा पसलमा बजार अनुगम भएको छ । नागरिक सहायता कक्षबाट ४ हजार ९२ जनालाई सेवाप्रवाहमा सहजीकरण भएको छ ।  

यस अवधीमा ४९ वटा बैठक सम्पन्न भएका छन् । पछिल्लो पटक विप्लव नेकपाका गतिविधीमाथि कडा निगरानी बढाएका छन् ।  गत ५४ दिनदेखि विप्लव समूहका गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई नियन्त्रणमा राखेका छन् ।

के भन्छन् जनप्रतिनिधीहरु ?
प्रजिअ पौड्यालको कामप्रति स्थानीय प्रमुख दलका नेताहरु पनि सन्तुष्ट छन् । नेपाली काँग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठका अनुसार सामाजिक न्याय, शान्ति सुरक्षा, सुशासन र पारदर्शीताका  विषयमा पौड्यालको एकबर्षे कार्यकालमा कतै खोट लगाउने अवस्था छैन । 

‘ढिलासुस्ती, गुनासाहरु सुनिएको छैन । समग्रमा प्रशासनमा ल्याएको सुधार प्रशंसनीय छ ।’  नेकपा गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तले पनि प्रमुख जिल्ला अधिकारी पौड्यालको कार्यकुशलता र समन्वयकारी भूमिकाको प्रशंसा गरे । 

उनले भने, ‘सबै पक्षसँग समन्वयकारी भूमिका प्रशंसनिय पायौं, हरेक कुराको निकास निकाल्ने र समन्वय गरेर समाधान गरिहाल्ने उहाँको कार्य कुशलताको सह्राना गर्ने पर्छ । शन्ति सुरक्षा, सामजिक विकृति विसंगति र वेथितीमा पनि उल्लेख्य सुधार भएको पाइयो ।’ 

स्थानीय सरकारको क्षेत्र अधिकारमाथि हस्तक्षेप नगरी सयोग पुर्याउँदै आएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले बताए । 

अधिकार र कर्तव्य नभुलौं : प्रजिअ पौड्याल
अधिकार र कर्तव्य नभुली आफ्नो जिम्मेवारी पुरा गर्नतर्फ लागे धेरै कुरामा सुधार ल्याउन सकिने प्रजिअ पौड्यालको अनुभव छ ।

‘सबैले आफ्नो अधिकार पनि खोजौं र कर्तव्य पनि नभुलौं । यसो गर्न सके हामी सबैले खोजेको न्यायपूर्ण समाज, शान्ति, सु–व्यवस्था र समृद्धि भित्रिन्छ,’ प्रजिअ पौड्याल भन्छन्, ‘सरकारको नीति निर्देशन अनुसार जनतालाई अधिकतम सेवा दिने सेवकका रुपमा मैले सकेसम्म प्रयास गरेँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप