बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महायज्ञमा दलित पण्डित, ब्राम्हण भक्तजन

शुक्रबार, १३ वैशाख २०७६, १९ : ०९
शुक्रबार, १३ वैशाख २०७६

गुल्मी । ‘हिंसा नगर...हिंसा नगर...स्वर्ग जाने बाटो बन्द नगर...।’  सप्ताह महायज्ञको मण्डपमा भजनको फेरि अर्को गीतको शैलीमा भजन सुरु हुन्छ –‘खोइत बाटो खनेको...स्वर्ग जान भनेको...।’  नाचगानको अन्तिममा फेरि सुरु हुन्छ ‘ढोका खोल राम.. ढोका खोल राम.. भक्त आए मन्दिरमा..ढोका खोल राम....।’  

हुनपनि साँच्चै उनीहरु स्वयमले पनि नयाँ इतिहासको ढोका खोल्दै थिए र उनीहरुका लागि पनि ती दलित समुदाय भगवान रामका अरु समुदाय जस्तै भक्त थिए ।  ती दलित समुदायले नयाँ इतिहासको ढोका यस अर्थमा खोल्दै थिए कि अहिलेसम्म दलित समुदायको घर आँगनमा दलित समुदायकै पण्डितले सप्ताह ज्ञान महायज्ञ लगाएको गुल्मी जिल्लामा मात्र होइन यस भेगमै पहिलो थियो ।

यस्तो इतिहास रच्ने दलित समुदायका पात्र हुन्, गुल्मीको मालिका गाउँपालिका–७  घमिर दयराका ७८ वर्षीय कुलबहादुर सुनार । उनको धोको थियो दलित समुदायकै संस्कृति पढेको र विधिवत पुजा चलाउन सक्ने पण्डितबाटै सप्ताह ज्ञान महायज्ञ आफ्नै आँगनमा सञ्चालन गर्ने । त्यस्तो पण्डित  उनी आफुले पनि धेरै ठाउमा खोजे, पाएनन् । र, स्थानीय  एक ब्राम्हण पण्डित लालप्रसाद पन्थी कहाँ गएर  भने, ‘तपाईले कुनै एक दलित समुदायको पण्डित खोजेर म कहाँ सप्ताह गर्ने चाँजोपाँजो मिलाई दिने भए मिलाई दिनुस नत्र म रिडीको किनारमा गएर बस्छु ।’

अन्ततः उनै व्राम्हण पण्डितले विश्वकर्मा पण्डित खाजेर जुराइदिए । ती थिए अर्घाखाचीको पाणेनी गाउँपालिका–५ मैदानका नन्दलाल विश्वकर्मा र तम्घास भुजेलखर्कका जयराम चुँदरा ।  फलतः वैशाख १२ गते देखि वैशाख २० गते सम्मका लागि सुनारले सप्ताह, तुलादान, रुद्री, जीववती दीप प्रज्वलन होम पुजा महायज्ञ चलाउने आफ्नो  चाहाना पुरा गरेरै छाडे । तपाईको धोको अब पुरा भयो नि भन्ने होइन र ? भन्ने प्रश्नमा सुनारले खुशीका आँशु झादै भने– ‘पुरा भयो हजुर तीन बर्ष देखिको धोको..।’

महायज्ञका प्रमुख वाचक नन्दराम विश्वकर्माले त्यसै पण्डित्याँई गर्दै आएका होइनन् ।  उनले २०५५  देखि २ बर्षसम्म अर्घाखाँचीको पोखराथोकमा रहेको हरिहर संस्कृति विद्यापिठमा संस्कृति विषयमा उत्तरमध्याममा विद्या आर्जन गरेर पण्डित्याइँ गर्न थालेका हुन् ।

२०६१ सालदेखि अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही, प्युठान र दाङ्गसम्म पुगेर सयांै सन्तयनारायणको पुजा, लक्ष्यवती, गरुडपुराण  र विवाह लगायतका सयौं पुजा चलाई सकेका छन् ।  यो सप्ताह ज्ञान महायज्ञ भने आफ्नो लागि पहिलो अभ्यास र यस भेगकै दलित समुदायका लागि पनि पहिलो महायज्ञ भएको उनले बताए । 

महायज्ञ मण्डपमा दलित समुदायका पण्डितहरुले वाचन र पुजा अर्चना गराए पनि दर्शक दिर्घमा व्राम्हणदेखि सबै जातजातिका श्रद्धालु भक्तजनहरु अध्यात्मिक ज्ञानमा लिन छन् ।

भक्तजन मध्येका स्थानीय वेदप्रसाद पन्थी भन्छन, ‘दलित समुदायले महायज्ञ सञ्चालन गरेको यो दोश्रो हो, पहिलो वामीमा भएको थियो तर दलित समुदायकै पण्डितले चलाएको महायज्ञ भने यो यस भेगमै पहिलो हो । यो परिवर्तनको संघार हो, हामी अत्यन्तै खुशी छौं ।’ 

पहिला ब्राम्हण क्षेत्री र  गुरुङ्ग मगरसम्मले मात्रै यस्तो महायज्ञ लगाउने चलन थियो अहिले दलित समुदायले पनि यसरी लगाउन थालेकोमा कस्तो लागेको छ ? भन्ने प्रश्नमा अर्का स्थानीयवासी ज्ञानबहादुर क्षेत्रीले अत्यन्तै खुशी लागेको प्रतिकृया दिए ।

स्थानीय शोभबहादुर लम्सालले पनि राम्रो लागेको बताउँदै  दलित समुदाकै पण्डितबाट भएको महायज्ञ पहिलो रेकर्ड भएको जनाए ।  यस क्षेत्रमा दलित समुदायका पण्डितका रुपमा प्रख्यात  प्रमुख वाचक नन्दलाल विश्वकर्मा र उप–वाचक जयराम चुँदराले महायज्ञमा व्राम्हण समुदायका पण्डितहरुले गर्ने वाचन, पुजा विधिमा कुनै कमी हुन दिएका छैनन् ।

महायज्ञलाई स्थानीय सबै समुदायले चासोका साथ हेरेका छन् । पण्डित नन्दराम पेशाले शिक्षक पनि हुन् । उनी पाणेनी मैदनकै श्रीकृष्ण माध्यामिक विद्यालयमा प्रावि द्धितीय तह स्थायी दरवन्दीमा  विगत २८ बर्ष देखि पढाउँदै आएका छन् ।

त्यसअघि ६ बर्ष सम्म उनले अस्थाई शिक्षकका रुपमा पढाए । २०५५ सालमा हरिहर संस्कृति विद्यापिठमा उनीसहित पाणेनी–२ पोखराथोकका अर्का दलित ओमप्रकाश सुनारले पनि संस्कृति विद्या आर्जन गरेका थिए ।  तर उनी अहिले विदेश पलायन छन् । पाणेनीमै अर्का दलित पण्डित वेदेराम सुनार पनि छन् । तर पछिल्लो चरण चल्तापुर्जा पण्डित नन्दराम नै हुन् ।  

व्यक्तिगत रुपमा  दलितकै  पण्डितबाट महायज्ञ चलाउने जिल्लामा इतिहास रच्ने नन्दराम स्थानीय ठुला बडाहरुसँगको मुद्दा मामिलामा पनि टक्कर दिन पछि पर्दैनन् ।

अर्का दलितको अर्को किर्तिमान

दलित समुदायकै पण्डितद्धारा दलित समुदायबाट महायज्ञ  सञ्चालन गर्ने इतिहास रच्ने कुलबहादुर सुनार भएपनि सार्वाजनिक रुपमा गौरवमय इतिहास रच्ने अर्का दलित समुदायका पात्र छन्, गुल्मीकै रुरु गाउँपालिका– ३ झमादी गाउँका मेघबहादुर बस्याल ।  

उनको अगुवाईमा उनका भाई मदन वस्याल समेतले हालै सार्वजनिक रुपमै साताव्यापी ज्ञानमहायज्ञको नेतृत्व गरेर सफलता पूर्वक सम्पन्न गरेका छन् । दलित समुदायको  एउटै परिवारले त्यो  पनि विद्यालयको स्तरनोन्नतिका लागि महायज्ञ आयोजना गरेको गुल्मीमा यो पहिलो हो । त्यति मात्र होइन, उनै वस्यालको एउटै परिवारले सिङ्गो दलित बस्तीका बालबालिकाको  पठन पाठनका लागि ५ बर्षअघि त्यसै झमादी गाउँमा विद्यालय स्थापना गरेर गौरवमय इतिहास रचेका थिए ।

झमादी गाउँमा सय घरधुरी भन्दा बढी दलित समुदायको वसोवास छ । ६ बर्षअघि त्यहाँ सरकारीस्तरमा विद्यालय माग गरियो तर स्थानीय ठुलाबाडाहरुले त्यस दलित बस्तीमा पायक पर्दैन भन्दै माथि विद्यालय सञ्चालन गरे । मेघबहादुर बस्याल दाजु भाई लामो समयदेखि जापानको रोजगारीमा थिए । आफुहरुको दलित वस्तीमा  विद्यालय स्थापना गर्न नदिएको सुनेपछि उनीहरुले जापानबाट घर आएर पुरै आफुहरुको लगानीमा त्यसै गाउँको बीचमा विद्यालय स्थापना गरे ।

सुरुमा ६० लाख बरावरको विद्यालय भवन बनाए । उक्त भवन तत्कालिन सांसद तथा हालका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीद्धारा शिलान्यास गराएका थिए । उनीहरुले भवन मात्रै बनाएनन् आफुहरुले नै तलव दिएर तीन बर्ष सम्म शिक्षकहरु राखे । हालसम्म एक करोडभन्दा बढी उनीहरुले ब्यक्तिगत रुपमा त्यस विद्यालयमा खर्चेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप