केन्द्रीय संस्करण
संस्कृति

रातो मच्छिन्द्रनाथको रथ निर्माणको रोचक कथा (तस्विरसहित)

सोह्र सय वर्ष पुरानो रथ जात्रा : वैभवशाली इतिहास

person explore access_timeबैशाख १५, २०७६ chat_bubble_outline1

यही बिहीबार दिउँसो लगभग २ बजेको हुँदो हो । जात्राबारे जिज्ञासा लिएर म पुलचोक (दमकल चोक) पुगेकी थिएँ । त्यहाँको दृश्य सानोतिनो मेला जस्तै थियो वा भनुँ श्रम शिविर चलिरहेको थियो । १२, १५ वर्षका बालकदेखि ८० वर्षका मानिसहरू पनि काममा व्यस्त देखिन्थे । कतै पाका उमेरकाले सानो उमेरकालाई सिकाइरहेका थिए । एउटा प्रयोगात्मक खुल्ला किताबजस्तो । आधाआधी जस्तो बनेको रथ निर्माणमा सबै जुटिरहेका थिए । हैँसेमा होस्टे गर्दै कसैले डोरी बाँधिरहेका थिए भने कसैले डोरी तानिरहेका थिए । अचम्मको कुरो के भने रथ निर्माणमा पनि पुस्ता हस्तान्तरण हुँदो रहेछ । एउटै घरका मानिस तीन चार पुस्तादेखि काम गरिरहेका रहेछन् ।

उपत्यकाको निकै पुरानो र सम्भवतः देशकै सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको जात्रा यही वैशाख २२ गतेबाट सुरु हुन लागेको छ । वर्षा तथा सहकालका देवताका रूपमा मनाइने जात्रा हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्छ ।

यो जात्रा किंवदन्तीमा आधारित छ । वैशाख सुक्ल प्रतिपदामा रथ तानेर सुरु गरिने जात्राको अन्त्य असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत सम्पन्न गरिन्छ । भोटो देखाउने परम्परामा विभिन्न किंवदन्ती तथा लोकगाथाहरू रहेका छन् । त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।

यो जात्रा सुरु भएको ठ्याक्कै यकिन गर्न सक्ने मिति नभए पनि १६ सय वर्ष पुरानो संस्कृतिको रूपमा हेर्ने गरिन्छ । जात्रालाई सुरुमा नेवारहरूको जात्राका रूपमा हेरिँदै आइए पनि अहिले उत्सवका रूपमा अन्य जातजाति तथा सम्प्रदायका मानिसले पनि मान्न थालेका छन् । ३२ लक्षणले युक्त मछिन्द्रनाथको रथयात्राको लागि ३२ फिट अग्लो पाँच तले रथ निर्माण हुन्छ ।

सरकारले दिन छाड्यो बेत

पहिले बेत पनि नेपालमै पाइने रहेछ । काठ गोदाबरी, फुलचोकीबाट र बेत बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याउने गरिन्थ्यो । तर सरकारले बर्दिया राष्ट्रिय निकुञ्जमा बन्देज लगाएपछि बेतका लागि भारतको आसाम पुग्नुपरेको दुःख स्थानीय बालकृष्ण महर्जनको छ । ‘हामी तस्कर होइनौँ, रथयात्रा हाम्रो मात्र नभएर उपत्यकाको गौरव पनि जोडिएको छ । तर सरकारले यस्ता काममा सहयोग गर्दैन’ उनको भनाइ रहेको छ ।

पहिले रथमा बेतको मात्र प्रयोग गरिन्थ्यो । तर अहिले डोरीको पनि प्रयोग गरिने भनाइ स्थानीयको छ ।

रथ निर्माण सकिएपछि २२ गते रथमा देवतालाई विराजमान गराउने चलन रहेको छ । त्यो दिनबाट पानेजु (पुजारी) आएर बस्छन् । ३१ जना पानेजु एक देवता मछिन्द्रजनाथ गरी कुल ३२ जना हुन्छन् ।

रथ निर्माण

रथ निर्माणका लागि सुरुमै तिथिमिति वा विधि अपनाइने रहेछ । पाटन घर भएका रथ निर्माणकर्मी रामेश्वर महर्जन भन्छन्, ‘चैत्र पूर्णिमाका दिन विधिवत पूजा गरेपछि भोलिपल्टबाट रथ निर्माण कार्य थालिन्छ ।’

रथ निर्माणका लागि छुट्टा छुट्टै समूह हुन्छन् । यसका लागि पाँच समूहले काम गर्छन् । बाराहीको काम तला थप्ने र चक्का राख्ने हो । उनीहरू चौबीस जना छन् । ज्यावलहरूले जोर्नीहरूमा डोरी र बेत बाँध्ने काम गर्छन् । उनीहरूको सङ्ख्या बाह्र रहेको छ । रथका लागि आवश्यक पर्ने काठको जोहो मिलाइदिने, काठलाई निश्चित आकारमा ल्याउने काम बोसी समुदायका माानिसले गर्छन् । उनीहरू बाह्र जना छन् । घकुले रथलाई निश्चित दिशा देखाउने र रथ तान्ने काम गर्छन् । घकु आठ जनाको सङ्ख्यामा हुनुपर्ने भए पनि अहिले पाँचजना मात्र रहेका छन् । उनीहरू लोप हुने अवस्थामा रहेका छन् । चित्रकारले कलर लगाउने वा साधारण भाषामा भन्दा रथको मेकअप गर्ने काम गर्छन् ।

कुराकानीकै क्रममा उनले महत्त्वपूर्ण कुरा सुनाए । पाँच फिट अग्लो रथ तयार गर्दा कतै पनि किलाको प्रयोग गरिँदैन । किलाले रथलाई लचिलो हुनबाट रोक्छ । तर अहिले कतै कतै किलाको प्रयोग हुन थालेको सत्य पनि थपे ।

काम गर्ने सबै मानिस गुठी चलाउने नै हुन् । रथ निर्माणमा पुस्तान्तरण हुँदै जान्छ । बाजे, बाबु, छोरा, नाति हुँदै हस्तान्तरण हुने हो । कामका लागि बाहिरको मानिस प्रयोग हुँदैनन् । महर्जनले यसो भनिरहँदा मेरो नजर एकजना ८०, ८५ वर्षको वृद्धमा पर्याे । जो नाति पुस्ता देखिने युवाहरूलाई काम अह्राउँदै थिए । महर्जन भन्छन्, ‘यहाँ काम गरेको हाम्रो परिवारको पनि चार पुस्ता भइसक्यो ।’

महर्जनले एउटा युवकलाई देखाउँदै भने, ‘त्यो भाइ अहिले २३ वर्षको भयो । विगत ७ वर्षदेखि यो काम गर्दै आइरहेको छ । अहिले सिपालु भइसक्यो ।’

त्यहाँ काम गर्नेहरू धेरै डङ्गोल थरका मानिसहरू रहेछन् । अरू थरका मानिसहरू काम गर्न आउन नपाउने भनाइ  स्थानीयवासीको छ ।

रथारोहण

रथ तयार भएपछि शुभसाइत हेरेर रथमा मछिन्द्रनाथको मूर्ति स्थापना गरिन्छ ।  शाखा कार्यालय ललितपुर गुठी संस्थानका कार्यलय प्रमुख शैलन्द्र पौडेल भन्छन्, ‘रथ निर्माणको लागि पोहोर ४९ लाखको हाराहारीमा खर्च भएको थियो भने यो वर्ष ५० लाखको बजेट छुट्याइएको छ ।’

रथ आरोहणका आफ्नै विधि र प्रक्रिया रहेका छन् । रथारोहण प्रक्रियाबारे पौडेल भन्छन् ‘सबैभन्दा माथिको टुप्पोमा चाँगुनारायणको मूर्ति राखिन्छ । त्यसमाथि व्यामो राखिन्छ । मछिन्द्रनाथको मूर्ति पहिलो खटमा स्थापना गरी त्यसलाई चारैतिरबाट सुनको जलप लगाइन्छ ।’

 ‘सात गते मछिन्द्रनाथलाई नुहाइन्छ र उहाँ मरेको विश्वास गरी मलामी जस्तै बाजा बजाएर ल्याइन्छ । सबै सुतिसकेपछि कसैले नदेखून भनेर मन्दिरमा ल्याइन्छ ।’ मछिन्द्रनाथ मन्दिरका पूजारी भुवनराज शाक्य भन्छन्, ‘पहिले मरेको विश्वासमा ल्याइएको मछिन्द्रनाथलाई दृष्टि दिने लगायतका अन्य दस कर्म गरेपछि पुनः जन्म भएको विश्वासमा बल्ल रथमा ल्याएर विराजमान गराउने काम गरिन्छ ।

उनी थप्छन्, ‘मछिन्द्रनाथ बहुरूपा हुनुहुन्छ । हामी महिलाको रूपमा गुफा पनि राखिन्छ भने पुरुष जसरी व्रतवन्ध पनि गर्ने गरिन्छ ।’

रथ निर्माणमा सबै पुरुषहरू हुने परम्परा रहेको छ । महर्जन भन्छन्, ‘जात्रा देखाउने क्रममा एक जना महिला जसले पूर्वबाट तामाको भाँडामा जल ल्याउँछिन् उनी नै रथमा चढ्न पाउँछिन् । उनलाई मलेनी भनिन्छ । लगनखेलमा याकमिसा (एकल महिला) को पूजा गर्ने चलन रहेको छ । एकल महिलाको साथी कोही पनि नहुने हुनाले एकल महिलालाई जात्रामा समावेश गरिनुपर्छ भनेर याकमिसाको पूजा गरिएको हो ।’

जात वा सम्प्रदायका आधारमा कामको विभाजन

भिन्न भिन्न जातको आधारमा निश्चित कामको प्रत्यायोजन गरिँदै आएको छ । पुजारी हुनको लागि शाक्य वा बज्राचार्य थरकै हुनुपर्ने बताउँछन् । पुजारी शाक्य बताउँछन्, ‘त्योभन्दा बाहिरको मानिस पुजारी हुनै मिल्दैन ।’

‘काठ ताछ्ने निश्चित ढाँचा दिने मानिसहरू बोसी जातिका हुन् । बली दिने कसाई हुन्छ । कपडा सिलाउने दमाई पनि हुन्छ ।  यिनीहरू पुतुवार सम्प्रदायका हुन्छन् ।’ शाक्य थप्छन्, ‘यो आस्था र विश्वासको कुरा हो, कुनै भेदभाव होइन भन्छन्  । पोडे जातिका मानिसबाहेक अन्य सबै जातिका मानिसहरूको काम जात्रा निर्माणदेखि अन्त्यसम्म हुन्छ ।’

उनले पुजारीको काम गर्न लागेको २०४६ सालबाट हो । ठ्याक्कै मिति नभए पनि लगभग १६ सय वर्षको इतिहास बनेको छ यो जात्राको । यो सबै आस्थाले गर्दा नै यति लामो इतिहास बन्न सकेको हो भन्छन् उनी ।

रथयात्रा हरेक १२ वर्षमा बुङ्मतीमा देखाइन्छ । प्रत्येक वर्ष काठमाडौँ, भक्तपुर र ललितपुरमा देखाइन्छ । रथ निर्माण भने ललितपुरको दमकलचोकमा गरिन्छ ।

अन्तिम दिन

ज्यापु समाजमा जम्मा ४२ वटा टोल रहेका छन् । छ्वेलाबुको अघिल्लो दिन छोयला खाने चलन रहेको छ । छ्वेलाबु भनेको निश्चित स्थान हो । रथ दमकल चोकबाट गाभाहल जान्छ । गाभाहलबाट सुन्धारा, सुन्धाराबाट लगनखेल र जाउलाखेल लगिन्छ । यदि रथ निश्चित स्थानमा आउन समय लाग्यो भने छ्वेलाबु निरन्तर चलिरहन्छ । लगनखेलमा रथको माथिबाट नरिवल गुडाउन चलन रहेको छ । त्यो नरिवल जसले समात्न सक्छ, उसले छोरो पाउँछ भन्ने जनविश्वास रहेको छ भन्छन् पुजारी भुवनराज शाक्य ।

राष्ट्रिय एकता मजबुत

यो जात्रा हिन्दु र बौद्धको आस्थाको प्रतीकको रूपमा रहेको कार्यालय प्रमुख पौडेल बताउँछन् । परम्पराबाट चलिआएको धार्मिक सहिष्णुता कायम गरेको र राष्ट्रका विशिष्ट व्यक्ति सहभागी हुनुले राष्ट्रिय एकता मजबुत बन्ने दाबी छ उनको ।

इतिहासविद् तेजेश्वरबाबु ग्वङ्ग यो जात्रा उपत्यकामा मात्र नभई राष्ट्रिय पहिचान पनि भएको बताउँछन् । उनी भन्छन्, ‘जात्रा भनेको जनता हो भने जनता भनेको देश हो ।’

‘हरेक संस्कार, संस्कृतिमा किंवदन्तीहरू हुन्छन् । ती किंवदन्तीहरू कसले भनेको थाहा नै हुँदैन ।’ तेजेश्वरबाबु भन्छन्, ‘लेखक अथवा कथानक कहने व्यक्ति नै थाहा नभएको कुराहरू सबै किंवदन्ती हुन । यो भोटो जात्रा सत्य बोल्ने र सत्य कुराको प्रमाण दिनेलाई सुरु गरिएको जस्तो लाग्छ मलाई ।’

इतिहास

मछिन्द्र भनेको मत्स्य (माछा) हो । पूर्वीय दर्शनले माछालाई देवताको रूपमा पुज्ने गरेको इतिहासविद् तेजेश्वरबाबु बताउँछन् । सृष्टिको सुरुमा सबैभन्दा पहिले माछाको सुरुवात भएकाले पहिलो सृष्टिलाई प्रथमावतार प्रभु भनेर हाम्रो दस अवतारको श्लोक छ । दोस्रो कछुवा हो भने तेस्रो बराह अर्थात बँदेल हो ।

रातो र सेतो मछिन्द्र किन भनियो ?

तेजेश्वरबाबु भन्छन्, ‘पहिले काठमाडौँ उपत्यकामा दह थियो । उक्त दहमा विभिन्न थरीका माछा पाइन्थे । पछि यो दहको पानी चोभारको डाँडाबाट बाहिर गयो । पानीसँगै माछा पनि बाहिर जान थाले भने कुनै माछा त्यही रहे । बचेका राता माछा जति बुङ्मतीको दहमा अड्किए । रातो माछा देखेपछि मानिसले पूजा गर्न थाले । अक्षेताले पूजा गर्दा माछालाई आहारा पुगेको विश्लेषण तेजेश्वर बाबुको छ । रातो माछा भएकाले पाटनमा रातो मछिन्द्रनाथ भयो भने काठमाडौँको अर्काे दहमा सेतो माछा पाइयो र त्यसलाई सेतो मछिन्द्रनाथ भन्न थालियो ।’

 किंवदन्तीलाई अन्धविश्वास भन्छन्, तर किंवदन्ती मानिसको जीवन पद्धति पनि रहेको जिकिर तेजेश्वरबाबुको छ । उनी थप्छन्, ‘यो त हाम्रो सुसंस्कृत इतिहास पो हो ।’

दुई फरक पाटा

जात्रा परम्परा विकासका विभिन्न कथा गाथा जोडिएको पाइन्छन् । कार्यालय प्रमुख शैलेन्द्र पौडेल यसका दुई पाटा रहेको बताउँछन् । एउटा रथ यात्राको र अर्काे भोटो जात्राको ।

पहिला रथ यात्रा हो । अनि मात्र भोटो जात्रा देखाइन्छ । पहिले रथयात्रा कसरी सुरुवात भयो एउटा किंवदन्ती छ ।

नेपाल उपत्यकामा लामो समयसम्म पानी परेन । पानी नपर्नुले भोकमरी भयो । अन्न केही पनि उब्जनी भएन । यसको कारण के रहेछ भनेर भक्तपुरका राजा नरेन्द्रदेवले आफ्नो गुरुकहाँ गएर बुझ्दा गोरखनाथले नागको आसन बनाई मृगस्थलीमा बसिरहेका छन् भनेछन् । नागहरू स्वतन्त्र नभएको कारणले पानी नपरेको हो भनेर गुरुले भनेछन् ।

गोरखनाथलाई नागको आसनबाट उठाउन सकियो भने उपत्यकामा वर्षा हुन्छ भन्ने उनले सुझाव दिएछन् । अब के गर्ने भन्ने बारेमा छलफल भएछ । मछिन्द्रनाथ भनेको गोरखनाथको गुरु हो । उहाँलाई नेपाल ल्याउन सकियो र गुरुको दर्शन गरेपछि पानी पर्छ भन्ने सुझाव भएअनुसार मच्छिन्द्रनाथलाई भारतको कामरुकामाक्षबाट नेपालमा ल्याएको हो ।

 नेपालमा ल्याइसकेपछि आफ्नो गुरु आएको थाहा पाएपछि गोरखनाथ आफ्नो आशनबाट उठे । त्यपछि नागहरू स्वतन्त्र भए । अनि उपत्यकामा वर्षा भयो । त्यसको खुसीयाली स्वरूप रथयात्रा सुरु भयो । मच्छिन्द्रनाथलाई भारतम लोकनाथ पनि भनिन्छ । 

भोटोजात्राको पनि फरक इतिहास रहेको छ । कर्काेटक नागकी रानीको आँखा दुखेछ । कर्काेटक नाग टौदहमा विराजमान छन् भन्ने विश्वास छ । नागले आफ्नी श्रीमतीको आँखा सञ्चो गराउन वैद्य खोज्दै हिँडे । उनी मानिसको रूप धारण गरेर नागपोखरीबाट बाहिर निस्किए । एउटा किसान आफ्नो खेतमा काम गर्न जाँदै थियो । त्यसक्रममा नागराजले यिनै वैद्य हुन् भन्ने सोचेर उसलाई बोकेर नागलोकमा लिएर गएछन् ।

तर किसानलाई के आउँथ्यो र ? उनी डराएछन् । अनि आफ्नो शरीरबाट पसिना आएको मयल रानीको आँखामा लगाइदिएको चमत्कार भएछ । त्यसले रानीको आँखा सञ्चो भएछ । त्यसपछि नागराज खुसी भएर तपाईंलाई म केही दिन चाहन्छु भनेछन् । पत्थरहरू जडिजडाउ भएको अमूल्य भोटो देख्छन् किसानले । मैले यही पाए हुन्थ्यो भनेछन् । नागराजाले उनलाई भोटो दिएर पठाएछन्  ।

कुनै दिन किसानलाई खेतको काम गर्न जाँदा भोटो लगाएर जान मन लागेछ । खेतको काम गर्दा उनलाई गर्मी भएछ । भोटोखोलेर आलीमा राखेका रहेछन् । त्यो बेलामा भूत आएछ । भूतले त्यो भोटो चोरेर लगेछ । किसानले काम गरेर फर्किंदा आलीमा आफ्नो भोटो देखेनछन् ।  दुःखी भएर घर फर्केछन् । संयोगले कुनै दिन  त्यसकै आसपासमै रथयात्रा हुँदै रहेछ । रथ हेर्न किसान गएछन् ।

भूतलाई पनि रथयात्रा हेर्न मन लागेछ । ऊ पनि त्यही भोटो लगाएर रथ यात्रा हेर्न आएको रहेछ । किसानले भूतलाई आफ्नो भोटो लगाएको देखेछन् । किसानले यो मेरो भनेछन् । भूतले यो मेरो भनेछ । विवाद भएछ । त्यसपछि अरू मानिस पनि आएर भनेछन्, जसले आफ्नो हो भन्ने प्रमाण जुटाउन सक्छ । त्यसले भोटो लैजान पाउने भनेर मच्छिन्द्रनाथलाई चढाएछन् । त्यहाँ एकतर्फ राजीखुसीले मच्छिन्द्रनाथलाई नै चढाएको भन्ने किंवदन्ती छ भने कसैले भने दुवैले आफ्नो हो भन्ने प्रमाण जुटाउन नसकेको कारण प्रमाण देखाएर यो भोटो लैजाऊ भन्ने किंवदन्ती छ ।

 

कमेन्ट

  1. April 28, 2019, 2:37 p.m. Dilip shahi
    पत्रकार सुनिता न्यौपाने ज्यु तपाईं नेवार समुदायले मनाउँदै आएको जात्रा सम्बन्धी लेख पढ्दा राम्रै लाग्यो । तर एउटा कुरा खट्क्यो । तपाई आफ्नो लेखमा खड्गी समुदायलाई (कसाइ) भनेर जुल लेख्नु भयो । यसमा खड्गी सम्ुदायको विमति रहँदै आएको छ । खड्गी समुदाय हरेक जात्रा पर्वमा अग्र्मि भूमिका निभाउँदै आएको समुदाय हो । यसको प्रमाण अहिले पनि विभिन्न जात्रामा देख्न सकिन्छ । त्यसैले कुनै पनि जातिको मानमर्दन हुने गरी नलेख्नु भए राम्रो हुने थियो । खड्गी समुदायले दशकौं देखि (कसाई) शब्दलाई प्रयोग नगरियोस् भनी माग गर्दै आइरहेको छ । तसर्थ उक्त शब्दलाई संशोधन गरिदिन हुने यहाँ समक्ष हार्दिक अनुरोध छ ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...