बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

खण्डहर खुलामञ्च, डोजर चलेको भोलिपल्ट जे देखियो (फोटोफिचर)

आइतबार, १५ वैशाख २०७६, १६ : ४१
आइतबार, १५ वैशाख २०७६

काठमाडौं–आइतबार मध्यान्ह रातोपाटीको टोली खुलामञ्च पुग्दा खुलामञ्चको खण्डहरमा तीन युवती केही खोजिरहेका जस्ता देखिन्थे । 

शनिबार मध्यान्ह काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा अनधिकृत रूपमा बनाइएका व्यापारिक प्रयोजनका टहरामाथि डोजर चलाएपछि यी युवतीहरुको पसल पनि भत्काइएको थियो । 

अहिले खण्डहर बनेको यही स्थानमा तुलसा खत्रीले जुत्ता पसल राखेकी थिइन् । भर्खरै डेकोरेसन सकेर आकर्षक बनाएकी थिइन् तुलसाले आफ्नो पसल । 

तर डेकोरेसन सकेर ब्यापार सुरु गरेको दुई तीन दिनमै तुलसाको पसलमाथि महानगरपालिकाले डोजर चलाएर भत्काइदियो । 

पसल भत्काउन सुरु गर्नुभन्दा आधा घण्टा अगाडि मात्रै तुलसाले आफ्नो पसल भत्कँदै छ भन्नेबारे जानकारी पाइन् । 

महानगरपालिकाले डोजर ल्याएर गेटमा राखेपछि मात्रै उनले आफ्नो पसलमाथि डोजर चल्दै छ भन्ने जानकारी पाएकी थिइन् । त्यसपछि हतारहतार केही सामान निकाले पनि सबै सामान भने निकाल्न नपाएको तुलसाले बताइन् । 

२ लाखको डेकोरेसन क्षणभरमै खण्डहर
तुलसाले जुत्ता पसल सञ्चालनका लागि करिब २ लाख रूपैयाँ खर्च गरेर डेकोरेसन र टेबुल लगायतका सामग्री खरिद गरेको बताइन् । 

तर २ लाख खर्च गरेर गरिएको डेकोरेसन एक साता पनि टिक्न पाएन । टेबुल, र्याकलगायतका सामग्री निकाल्न खोजे पनि महानगर प्रहरीले झिक्नै नदिएको तुलसाले बताइन् ।

मासिक भाडा नै ६० हजार
खुलामञ्चभित्र ठेकेदार कम्पनी स्वच्छन्द बिल्डर्सले निर्माण गरेको यी साना सटरहरुको मासिक भाडा नै ६० हजारको हाराहारीमा रहेको पाइएको छ । जुत्ता पसल सञ्चालन गरेकी तुलसाले मासिक ६० हजार भाडा तिरेर सटर भाडामा लिएकी थिइन् । तुलसा जस्तै अन्य धेरै पसलेले मासिक ६० हजारदेखि एक लाख रूपैयाँसम्म भाडा तिर्नेगरी सटर भाडामा लिएका थिए । 

१५ लाख रूपैयाँसम्मको सलामी
मासिक ६० हजारभन्दा माथि भाडा मात्रै होइन, अधिकांशले सटर भाडामा लिएबापत एकमुष्ठ रूपमा सलामीबापतको रकम पनि ठेकेदारलाई बुझाएका छन् । खुलामञ्चभित्र अवैधानिक रूपमा बनाइएका सटर भाडामा दिन ठेकेदार कम्पनीले कम्तीमा २ लाखदेखि १५ लाख रूपैयाँसम्म अग्रिम रूपमा सलामी लिएको सटर भाडामा लिनेहरुले बताएका छन् ।

सोसल साइट र मिडिया प्रभाव
ठेकेदार कम्पनीले अनधिकृत रूपमा सटर बनाएर भाडामा लगाएको बारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा समाचार आउन थालेपछि काठमाडौँ महानगरपालिकाले हतारमै सटरमाथि डोजर चलायो ।

खुलामञ्च कब्जाको सम्बन्धमा समाचार आएलगत्तै स्थानीयबासीले विरोध सुरु गरे । स्थानीयको विरोध थेग्न नसकेपछि काठमाडौँ महानगरपालिकाले पनि सार्वजनिक बिदाकै दिन खुलामञ्चमा अवैधानिकरूपमा बनाइएका व्यापारिक सटरमाथि डोजर चलाएर भत्काउने काम गरियो । 

साना व्यापारीको लाखौँ डुब्ने चिन्ता
महानगरले अवैधानिकरूपमा कब्जा गर्न खोजिएको सटर भत्काएसँगै धेरैले यसको प्रशंसासमेत गरेका छन् । तर साना व्यापारीको भने लाखौँ रकम डुब्ने खतरा बढेको छ । 

खुलामञ्चभित्र पसल सञ्चालन गर्नका लागि साना व्यापारीहरुले २ देखि १२ लाख रूपैयाँसम्म सलामी र ३ महिनाको अग्रिम भाडा बुझाएका थिए । त्यसबाहेक सटरभित्र संरचना निर्माण गर्नका लागि उनीहरुले एकदेखि ३ लाख रूपैयाँसम्म खर्च गरेका छन् । अधिकांशले आफ्नो सबै सामान निकालेको हुनाले सामानको क्षति नभए पनि ३ महिनाको भाडा, डेकोरेसन आदिका लागि उनीहरुको कम्तीमा ४ लाख रूपैयाँ खर्च भएको छ । यदि कुनै पसलेले ठेकेदारलाई ५ लाख मात्रै सलामी तिरेको भए पनि उनीहरुले कम्तीमा ९ लाख रूपैयाँ खर्च गरिसकेका छन् । 

तर साना व्यापारीको ९ लाख रूपैयाँ सानो रकम होइन । महानगरले निर्माण गर्न दिने र बेच्न समय दिने तर आफ्नो सामान लैजाने र रकम फिर्ता लिने समय भने नदिएको व्यापारीको गुनासो छ । 

व्यापारीको गुनासो : ठेकेदारले अन्तिमसम्म पनि भत्कँदैन भने
काठमाडौँ महानगरपालिकाले शनिबारको दिनमा आएर पसल भत्काउला भनेर कमैले सोचेका थिए । तर सार्वजनिक बिदाको दिन नै आएर महानगरले पसलमाथि डोजर चलायो । महानगरको डोजर गेटमा आएपछि पनि जुत्ता व्यापारी तुलसाले ठेकेदारलाई पसल के हुन्छ भनेर सोधेकी थिइन् ।

तर ठेकेदारले भने महानगरसँग कुराकानी भइरहेको र पसल नभत्कने आश्वासन दिइरहेका थिए । तर त्यसको केही क्षणमै आफ्नो पसलमाथि डोजर चलेको उनले बताइन् । धेरैजसो सामान निकाले पनि केही सामान भने निकाल्न नपाएको र ‘लुटिएको’ तुलसाले गुनासो गरिन् । 

सलामी र भाडा फिर्ता पाउन महानगरलाई सोधेर तिरेको हो र !

काठमाडौँ महानगरपालिकाले शनिबार आएर पसलमाथि डोजर चलाएपछि साना व्यापारीको लाखौँको क्षति भएको छ । त्योभन्दा बढी क्षति सलामी र अग्रिम भाडा बुझाएबापत भएको छ । अब उनीहरुको सलामी र भाडा फिर्ता हुन्छ कि हुँदैन भन्ने चिन्ता बढेको छ । 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल भने सलामी र भाडाको सहमति गर्ने बेलामा महानगरपालिकासँग कुनै कुराकानी नभएको र साक्षी नरहेको भन्दै उनीहरुको सलामी तथा भाडाको ठेक्का महानगरले नलिने प्रष्ट पारे । महानगरका प्रतिनिधिको रोहबारमा भाडा लिनेदिने विषयमा छलफल नभएको भन्दै पैसा तिरेको भए लिने जिम्मेवारी पनि उनीहरुकै हुने भन्दै यस सम्बन्धमा महानगरले कुनै समन्वय नगर्ने प्रष्ट पारे । 

 

यो पनि.....

खुलामञ्चमा उपमेयर खड्गीमाथि आक्रमणको प्रयास (भिडियो) 

व्यापारीहरुको अवरोधका बीच यसरी चल्यो खुलामञ्चमा डोजर (फोटोफिचर) 

डोजर चल्दा खुलामञ्चमा तनाव, दुई जना पक्राउ 

हेर्नुहोस् भिडियोः 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप