शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको सबैभन्दा ठूलो राज्यले अलग हुने निर्णय लियो भने के हुन्छ ?

आइतबार, १५ वैशाख २०७६, १६ : ५६
आइतबार, १५ वैशाख २०७६

बीबीसी । पछिल्ला केही वर्ष अमेरिकी जनताबीच ध्रुवीकरण निक्कै बढेको छ । रिपब्लिकन र डेमोक्रेट पार्टीका कार्यकर्ताहरु दिन प्रतिदिन कट्टर हुँदै गइरहेका छन् । 

केही आज अमेरिकाको राजनीतिक माहोल अब्राहम लिङ्कनको राष्ट्रपतित्वकालमा भएको गृहयुद्धपछिको अवस्थामै रहेको मान्छन् । 

क्यालिफोर्निया युनिभर्सिटीका राजनीतिशास्त्री बनार्ड ग्राफम्यानका अनुसार अमेरिकी संसादमा आज १०० यताकै ठूलो ध्रुवीकरण छ । 

अमेरिकाको सबैभन्दा ठूलो राज्य क्यालिफोर्निया पनि यस ध्रुवीकरणको शिकार छ । पछिल्ला केही दशक, क्यालिफोर्नियाका नागरिक र बाँकी अमेरिकी बीचको मानसिकताको खाडल बढेको छ । 

यसैलाई हेरेर क्यालिफोर्निया सम्बन्ध कम्तीमा ६ यस्ता प्रस्ताव आइसकेको छन्, जसमा क्यालिफोर्नियाको ससना राज्यमा विभाजन गर्नेदेखि लिएर अमेरिकाबाट पूरै अलग गर्नुपर्ने सुझाव छन् । 

टफ्ट युनिभर्सिटीमा पढिरहेकी मोनिका क्यालिफोर्नियाका मानिसमा केन्द्र सरकारले तिनको हित रक्षा नगर्ने बुझाइ बढ्दै गएको बताउँछिन् । उनी पनि यो समस्या समधानको लागि क्यालिफोर्नियालाई ससानो टुक्रामा विभाजन गर्नुपर्ने मान्छिन् । धेरै मुद्दामा क्यालिफोर्नियाका जनता बाँकी अमेरिकीहरुभन्दा अलग देखिन्छन् । 

संविधानले दिन्छ विभाजनको अनुमति ?
तर यी मतभिन्नताको बाबजुद आजको दिनमा क्यालिफोर्निया अमेरिकाबाट अलग हुने सम्भावना निक्कै थोरै मात्र छ । 

तर कुनै हिसाबले क्यालिफोर्निया अमेरिकाबाट अलग भयो भने के हुन्छ ? अमेरिका र बाँकी संसारमा यस विभाजनको के असर गर्छ ?

अमेरिकाको संविधानले कुनै पनि राज्य अलग हुने अनुमति दिँदैन । क्यालिफोर्नियाले तमाम असन्तुष्टिका बाबजुद त्यहाँ अमेरिकाबाट अलग हुने माग पनि छैन । 

तर एक छिनका लागि क्यालिफोर्निया अमेरिकाबाट अलग भएको मान्यौँ भने त्यसपछिको अवस्था कस्तो हुन्छ त ?

अमेरिका पुनः गृहयुद्धमा जान्छ ?
आजको अवस्थामा अमेरिकामा कुनै गृहयुद्धको अवस्था देखिँदैन तर जब कुनै देश टुक्रिन्छ तब हिंसा भड्किनु स्वाभाविक हुन्छ । अमेरिकामा १५७ वर्षअघि त्यस्तै भएको थियो । 

त्यो समय अश्वेतहरुलाई दास बनाएर राख्ने पक्षका दक्षिणी राज्यहरु मिलेर संयुक्त राज्य अमेरिकाबाट अलग भएको घोषणा गरिदिए । त्यसपछि युद्ध सुरु भयो ।

त्यो समय छेडिएको गृह युद्धमा ६ लाख २० हजार अमेरिकीको ज्यान गएको थियो । युद्धले अमेरिकाको जग नै कमजोर बनायो । 

देश विभाजनपछि ठूलो हिंसा भड्किएको उदाहरण संसारमा धेरै छन् । हाम्रो नजिकको उदारण दिने हो भने सन् १९४७ मा भारत र पाकिस्तान विभाजित हुँदा २ लाखदेखि २० लाख मारिएको तथ्याङ्क छन् । त्यस्तै सन् १९७१ मा पाकिस्तान र बङ्गलादेशको विभाजन हुनुअघि भएको युद्धमा ३० लाख मारिएको विश्वास गरिन्छ ।  

तर अवस्था सबै सन्दर्भमा त्यस्तै हुनुपर्छ भन्ने छैन । सन् १९९३ मा चेक र स्लोभाक रिपब्लिक अलग भयो । त्यो समय विभाजन निक्कै शान्तिपूर्ण सल्टिएको थियो । ब्रिटेन युरोपियन सङ्घबाट अलग हुने प्रक्रिया पनि हालसम्म शान्तिपूर्ण नै छ । 

यदि क्यालिफोर्निया अमेरिकाबाट अलग हुने फैसला गर्यो भने रिपब्लिकन पार्टीको समर्थक त खुसी होलान् तर डेमोक्रेटिक पार्टीका समर्थक यसलाई सायद मञ्जुर नगर्न सक्छन् । 

कैयौँ दशकदेखि क्यालिफोर्निया, डेमोक्रेटिक पार्टीको गढ रह्यो । यो राज्यबिना सायदै डेमोक्रेटिक पार्टीका उम्मेदवारले अमेरिकामा राष्ट्रपति बनाउन सक्छन् । 

क्यालिफोर्निया, अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य हो । यदि यो नै अमेरिकाबाट अलग भयो भने बाँकी रहने अमेरिकामा रिपब्लिकन पार्टीका प्रभुत्व कायम हुनेछ । 

अमेरिकी संसदमा पनि रिपब्लिकन पार्टीले सहजै बहुमत पाउनेछ ।  जानकारको भनाइमा ओबामा वा क्लिन्टनजस्ता डेमोक्रेटिक पार्टीका नेता राष्ट्रपति बन्न क्यालिफोर्नियाको ठूलो योगदानमा रह्यो । 

अमेरिकाको आर्थतन्त्र र उसको मुद्रामा आघात
क्यालिफोर्निया अमेरिकाबाट अलग भयो भने अमेरिकी अर्थतन्त्रको नाभीमा प्रहार हुनेछ । अलग राष्ट्रका रूपमा क्यालिफोर्निया विश्वको पाँचौँ ठूलो अर्थव्यवस्था हुनेछ । उसको आर्थिक सामथ्र्य ब्रिटेनभन्दा पनि बढी अर्थात २.७ खर्ब अमेरिकी डलर हुनेछ । क्यालिफोर्नियाबाट अमेरिकी सरकारले अन्य कुनै राज्यभन्दा बढी कर उठाउँछ । विभाजनपछि अमेरिकाले यो आम्दानी गुमाउनेछ । 

जानकारको भनाइमा त्यस्तो अवस्थामा अमेरिकी मुद्रा डलरको तागत संसारमा घट्नेछ । त्यसपछि डलरको स्थान युरोपेली मुद्रा युरो अथवा चीनको मुद्रा युआनले लिनेछ । 

त्यस्तै दक्षिणपन्थी झुकाव बढेपछि वैचारिक रूपमा अमेरिका, रुस र हङ्गेरीजस्ता देशनजिक हुनेछ । त्यस्तै उदारवादी क्यानडासँग उसको सम्बन्ध अहिलेजस्तो राम्रो रहनेछैन । त्यही अवस्था दक्षिणी छिमेकी मेक्सिकोसँग पनि हुनेछ । 

क्यालिफोर्निया विभाजन भएपछि अमेरिका ‘सुपरपावर’ रहने छैन । त्यो अवस्थामा चीन र अमेरिकाबीच बाडिँदै गएको संसार अमेरिका, चीन, रुस र क्यालिफोर्नियाबीच धु्रवीकरण हुनेछ । 

यसरी भएको ध्रुवीकरणले विश्वव्यापी जलवायु परिवर्तन नियन्त्रण गर्न सहयोगी हुनेछ तर अमेरिकामा बढ्ने कट्रपन्थले संसार धेरै कुरामा एक ठाउँमा जुट्न गाह्रो हुनेछ ।

अमेरिकाको मोह गर्ने आप्रवासी क्यालिफोर्नियातर्फ
क्यालिफोर्नियाको उदारवादी माहोलले हाल अमेरिका जाने अधिकांश मानिस क्यालिफोर्नियातर्फ जानेछन् । सिलिकन भ्यालीजस्ता व्यापारिक क्षेत्रमा नयाँ मानिसको आगमनले विकास बढ्नेछ । 

क्यालिफोर्नियाको खेती गर्ने किसानको ठूलो सङ्ख्या ल्याटिन अमेरिकी मूलका मानिसको सहभागिता छ । यस राज्यको अर्थव्यवस्थामा ठूलो योगदान रहन्छ । 

अलग भएपछि क्यालिफोर्नियाभित्रै पनि आप्रवासी नीतिलाई लिएर विवाद आउन सक्छ । 

यस्तो हुने अवस्थामा क्यालिफोर्नियाभित्र पनि उत्तर र दक्षिणबीच तानातानको अवस्था हुनसक्छ । 

दक्षिणी क्यालिफोर्नियाका मानिस आप्रवासीलाई लिएर उदारवादी छन् भने उत्तर क्यालिफोर्नियाका मानिस आप्रवासीको बाढी रोक्ने पक्षमा उभिन सक्छन् । 

क्यालिफोर्निया अमेरिकाबाट अलग हँुदा म्यारिल्यान्डदेखि मेन र पेन्सिलभेनिया जस्ता उदारवादी राज्य पनि अमेरिकाबाट अलग हुने माग राख्न थाल्नेछन् । 

क्यालिफोर्निया अलग भएपछि अमेरिकामा रुढिवादी सोच हावी हुने निश्चित छ । यस्तोमा उदारवादी जनसङ्ख्या भएका राज्य अलग हुने विकल्प सोच्न बाध्य हुन्छन् । 

सोभियत सङ्घको विखण्डनमा यस्तै प्रक्रिया देखिएको थियो । पहिले लातभिया, लिथुवानिया र इस्टोनियाले सोभियत सङ्घबाट अलग हुने फैसला गरेका थिए । यसपछि जर्जिया, युक्रेन र माल्दोभा सोही बाटो गए । 

हुन सक्छ, क्यालिफोर्निया अलग भएपछि दक्षिणी राज्य फ्लोरिडाले पनि अमेरिकाबाट अलग हुने फैसला लिन सक्छ । टेक्सस राज्यका केही मानिस पनि सोच्ने अवस्थामा पुग्न सक्छन् । यस्तो अवस्थामा आर्थिक रूपमा सम्पन्न अमेरिकी राज्य अलग देशको हिसाबमा स्वतन्त्र हुनेबारे सोच्न सक्छन् । 

त्यसैले क्यालिफोर्निया अमेरिकाबाट अलग भयो भने त्यो संयुक्त राज्य अमेरिकाको विखण्डनको सुरुवात हुन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप