शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिजु बज्राचार्यले शोभा त्रिपाठीसँगको बसाईमा  भनेका थिए: म विल्कुल फ्रेस भएँ

आइतबार, १५ वैशाख २०७६, २० : ०८
आइतबार, १५ वैशाख २०७६

बुटवल– आईतबार काठमाडौंमा हृदयघात भई निधन भएका चर्चित संगितकार विजु बज्रको घर गुल्मीको वामीटक्सारा बजारमा यतिबेला सन्नाटा छाएको छ । संगीतकार बिजुले हिजो मात्र वामीटक्सारस्थित कान्छा भाई निरन बज्रचार्यलाई फोन गरेर कुराकानी गरेका थिए ।

‘त्यही कुराकानी नै अन्तिम भयो’ भाई निरजले भने– ‘मुसिकोट नगरपालिकाको क्यालेन्डर निकाल्न लागेको छु, यी  फोटाहरु पठाई देउन भाई भन्दै हुनुहुन्थ्यो ।’ यस सम्बन्धमा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटासँग बुझ्दा विजुले क्यालेन्डर नभई मुसिकोट नगरपालिकाकै डकुमेन्ट्री बनाउने तयारी गर्दै थिए र छुट फोटाहरु भाईसँग मगाएका थिएँ ।

नगरप्रमुख सापकोटा स्मरण गर्दै भने– ‘१५ /१६ दिनअघि उहाँसँग मेरो फोनमा कुराकानी भएको थियो  । उहाँ भन्दै हुनुहुन्थ्यो डकुमेन्ट्री बनाउनेमा मेरो कुनै स्वार्थ छैन दाई, आफु जन्मे–हुर्केको ठाउँको  एउटा चिनो बनाउँ भन्ने ईच्छा छ । ’ उनले थपे– ‘दुर्भाग्य उहाँको त्यो ईच्छा   अधुरै रह्यो ।’

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अस्ती मात्र विजुसँग भेटघाट भएको स्मरण गर्दै भने– ‘कहिल्यै विर्सन नसक्ने एउटा राष्ट्रिय स्तरको चर्चित संगीतकार गुमाएका छौं हामीले ।  जसले संगीत दिएका  १४ सयभन्दा बढी गीतहरु सबै सदाबहार र कर्णप्रिय छन् ।’

उनले पढेको विद्यालय वामीटक्सारस्थित महेन्द्र आदर्श माध्यामिक विद्यालयका तत्कालीन प्रधानयापक हिरामणि अर्याल भन्छन्–‘बिजुलाई मैले कक्षा १० सम्म पढाएको हुँ , उनकी श्रीमतीले पनि यसै स्कुलमा संगै पढेर पछि प्रेम विवाह गरेका हुन् । गीत संगीतमा सानैदेखि उज्वल भविश्य बोकेका विद्यार्थी थिए । स्कुलका कार्यक्रमहरुमा गीत गाउन र बजाउनमा उनलाई कसैले सक्दैन्थे, त्यतिवेला पनि होनाहार विद्यार्थी थिए र पछि झन् राष्ट्रकै होनाहार संगीतकार बनेर उदाए, जो अहिले भौतिकरुपमा  अस्ताए पनि उनका कृति सदैव उदाई रहने छन् ।’

म बिल्कुल फ्रेस भएको छु

केहि दिनअघि मात्र  अस्पतालबाट फर्केर नेपाल टेलिभिजनको ‘टि–टाईम’ कार्यक्रममा शोभा त्रिपाठसँग अन्तरवार्ता दिएका थिए विजुले  । शोभा त्रिपाठीको चुलबुले सोधाईमा उनले सबैभन्दा पहिला आफु अस्पतालको उपचरपछि आफ्नो मुटु सम्बन्धि बिमार निको भएको र आफु विल्कुल फ्रेस भएको र अब छिट्टै काममा फर्किने संगितकार, गीतकार, गायक, श्रोता र दर्शकलाई जानकारी गराउन चाहन्छु भनेका थिए ।

ह्दयघात हुने जो कोहीलाई एक घण्टाभित्र अस्पताल पुर्याउनुपर्ने सुझाव दिदै उनले यसअघि आफुलाई ह्रदयघात हुँदा श्रीमती कोपिलाले आधा घण्टाभित्र गंगलाल अस्पतालमा पुर्याएर बचाएको स्मरण गर्दै त्यस अस्पतालका डाक्टर र अन्य स्वास्थ्कर्मी आफ्ना भगवन भएको भन्दै कृतज्ञता प्रकट गरेका थिए ।

संगीतकार बज्रले पछिल्लो चरण १९/२० दिन आफु गंगलालमा उपचार  गरेर फर्किएको र प्राकृतिक थेरापी समेत गराएको बताएका थिए । उनले मादक पदार्थ ह्दयघातको प्रमुख कारक भएको भन्दै त्यसबाट बच्न समेत अरुलाई सजग गराएका थिए ।

तपाईको पनि कारण त्यही थियो ? भनेर त्रिपाठीले प्रश्न गर्दा उनले भनेका थिए, ‘हामी संगीतकारहरु राती दुई बजेसम्म काम गरेर फेरि बिहानै ६ बजे काममा लाग्नुपर्ने भएकोले निद्राका लागि पिउनुपर्छ ।’ उनले त्यस कार्यक्रममा  सुगम पोखरेल र नलिना चित्रकारले गाउने गीतमा संगीत भर्न थालेको र दुई तीनवटा चलचित्रमा पनि संगीत दिने कुराकानी चलेको बताएका थिए । उनले उपचारका लागि आफुलाई सहयोग गर्ने सर्वसारणदेखि नेपाल सरकारले गरेको  सहयोगप्रति पनि आभार प्रकट गरेका थिए ।

उनी गत ६ महिना अघिदेखि मुटु रोगको उपचारार्थ आर्थिक संकटमा परेका थिए । उनको  जीवन रक्षार्थ गुल्मी जिल्ला युके समाजदेखि देश विदेशका थुप्रै व्यक्ति र संघ–संस्थाहरुले सहयोग रकम  संकलन अभियान चलाएका थिए ।

कार्यक्रम सञ्चालिका शोभा त्रिपाठीले नेपाली सांगीतिक क्षेत्रका मानिसहरु बिरामी पर्दा यस्तो अवस्था छ, तपाईले जस्तै नेपाली सांगीतिक क्षेत्रका अरु मानिसहरुले भोग्न नपरोस् भन्नका लागि अब के गर्दै हुनुहुन्छ ?  भन्ने प्रश्नमा उनले आफु त्यसैका लागि अघि बढिरहेको बताएका थिए  ।

अन्य मुलुकमा युट्युवमार्फत संगीत क्षेत्रका कलाकारहरु कोही अरबपति त कोही कारोडपति भए भन्ने सुनिन्छ नेपालमा चाहीँ त्यस्तो किन हुन नसकेको होला ? भन्ने त्रिपाठीको प्रश्नमा उनले आफुहरु स्वयम्ले पनि पहल गर्न नसकेको प्रतिक्रिया दिएका थिए ।

‘हामीले रोयल्टीका लागि पहल गर्यौ र भयो पनि आखिर पहल गरे हुने नै रहेछ अब हामी थप कुराहरुमा पनि पहल गर्ने छौं’– उनको यस्तो जवाफ थियो । तपाई आफंैले पनि गीतहरु गाउनुभएको छ, सुनाउनु न भन्ने  भन्ने प्रश्नमा उनले भनेका थिए– ‘मैले पछिल्लो चरण निकालेको गीत अलि भद्धा टाइपको छ, त्यसको टेप नै उपल्ब्ध गराउँला, बरु मेरो सेन्टीमेन्ट स्वर्गीय फत्तेमान दाईसँग मिल्ने भन्दै गीत सुनाएका थिए– ‘छरिपरी रह्यो यो मन थामिदैन आँसु....किन भन्छु निर्मोहीलाई मनमनै मेरी मायालु...’– यस्तो गीत गाएका थिए ।

उनले  सांगीतिक क्षेत्रमा आफ्नो उत्तराधिकारी आफ्नै छोरा गोपी बज्रलाई बनाईसकेको बताउँदै भनेका थिए, ‘अब मेरो छोरा पनि संगितकार भई सकेको छ । अब उसले पनि गर्छ ।’ प्रत्येक विद्यालयका छात्राहरुको रोजाईमा पर्ने ‘मै ठुली भई छु रे’ बोलको गीतजस्ता कैयौं लोकप्रिय गीतमा संगीत दिएका बिजु सन– २०१२ सालमा वेष्टम्युजिसियन अफ ईअरको अवार्डबाट सम्मानित भएको र त्यसअघि र पछि पनि थुप्रै पटक सम्मानित भएको भाई निरन बताउँछन् ।

२०२८ सालमा वामीटक्सारमा जन्मेका बिजुले २०३९ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए । उनकी श्रीमती र दुई सन्तान काठमाडौको बबरमहलमा डेरा गरि बस्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप