बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डले भनेजस्तै सम्भव छ त नेकपाभित्रको फोहोरमैला सफाइ ?

सोमबार, १६ वैशाख २०७६, ०९ : ०२
सोमबार, १६ वैशाख २०७६

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले  विशेष कार्यक्रम आयोजना गरेको थियो । यही कार्यक्रमबाट हो नेकपाको जिल्ला नेतृत्वको टुङ्गो लागेको । पार्टी एकताको ११ महिनापछि जिल्ला नेतृत्व टुुङ्गिन थालेको र नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस भएकाले कार्यक्रममा नेकपाका नेता–कार्यकर्ताका लागि उत्साहजनक थियो ।

कार्यक्रमको उद्घोषण गरेका थिए– महासचिव विष्णु पौडेलले । बालुवाटारमा सरकारी जग्गा कब्जा विवादमा आएपछि नेकपा महासचिवमाथि दबाब थियो । भलै निशाना पार्टी महासचिव पौडेलमाथि थिएन तर प्रचण्डले सत्तारुढ नेकपाभित्र बलियोसँग जमेर बसेको राजनीतिक, आर्थिक, नैतिक र सांस्कृतिक समस्यामाथि कठोर प्रहार गरेका थिए । त्यसबाहेक प्रचण्डले तलदेखि माथिसम्मका जनप्रतिनिधिमा देखिँदै गएको बेथितिमाथि पनि उतिकै जोडदार हमला गरेका थिए । 

वैशाख ९ गतेको उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘अब हामीले विचार, राजनीतिक रणनीति र कार्यनीतिलाई विकसित गर्ने र नेपाललाई समाजवादतिर लिएर जाने सङ्कल्प गर्नैै पर्छ । जसरी संविधानमा समाजवाद उन्मुख राज्यको परिकल्पना गरिएको छ, त्यसमा कम्युनिस्टहरुले ठीक ढङ्गले विश्लेषण संश्लेषण गरी वैज्ञानिक समाजवादतिरको यात्रामा लाग्नुपर्छ ।’

प्रचण्ड यतिमा मात्रै रोकिएनन् र सीधै समस्या कहाँ छ भन्ने कुरा स्पष्टसँग राखे, ‘हामी सबैले सङ्कल्प गर्नै पर्छ । विगतका विकृति, विसङ्गतिबाट शिक्षा लिएर हामी सबैले एक पटक आफैभित्रको फोहोर मैला सफा गर्ने अभियानको रूपमा अगाडि बढाउनु पर्छ । आउँदो जिल्ला अधिवेशन, महाधिवेशनलाई त्यसैमा प्रयोग गर्नुपर्छ । मैले पार्टी एकताको सङ्कल्प गर्दैगर्दा गत असोज १७ मा भनेको थिएँ, हामीभित्र पनि धेरै फोहोर मैला जम्मा भएको छ । यो फोहोर मैला सफा नगरी हामी अगाडि जान सम्भव छैन । यो फोहोरमैला आम कार्यकर्ता र जनताको सहयोगविना, उनीहरुलाई भरोसा नदिलाई उनीहरुभित्रको ऊर्जाको सहयोग नल्याई सम्भव छैन् ।’

त्यसपछि प्रचण्डले अर्कोपक्ष पनि उठाए, ‘यसको लागि हामीलाई एउटा नयाँ सांस्कृतिक आन्दोलन, सांस्कृतिक क्रान्ति चाहिएको छ । नयाँ जोससहितका नयाँ पिँढी अनि पुराना अनुभवसहितका साथीहरुको समिश्रणबाट एउटा सांस्कृतिक आन्दोलन चल्नुपर्छ । त्यो आन्दोलन भ्रष्टचारका, ढिलासुस्ती, बेइमानी अनि जालझेल विरुद्ध हुनुपर्छ । हाम्रो आउँदो महाधिवेशन सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने एउटा सङ्कल्पका रूपमा लिन पनि जरुरी छ ।’

प्रचण्डका यी अभिव्यक्ति यसअघि पनि आइसकेका छन् । जस्तो असार १ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालको संयुक्त विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्रका नराम्रा प्रवृत्ति हावी हुन थालेको बताएका थिए ।

प्रचण्डले भनेका थिए, ‘यो एकता शुद्धीकरण र सृदृढीकरणको अभियान हुन सक्छ । राम्रा कार्यशैलीलाई विकसित गरेर नराम्रा प्रवृत्ति र सोचलाई बदलेर राम्रो पार्टी बनाउनुपर्छ भनेका छौँ ।’

प्रचण्डले थप भनेका थिए, ‘पार्टी एकता गर्दा राम्रा र नराम्रा दुवै कुराहरू एकतामा आएको र अब तिनीहरूलाई छुट्याउन जरुरी भएको छ । व्यक्तिवादी सोच, गुट उपगुट हामीमा अझै छ । पार्टी एकतापछि राम्रा कुरा विकसित गर्ने र नराम्रा कार्यशैली साथै सोचलाई बदलेर अवसरलाई सदुपयोग गर्दै राम्रो पार्टी बनाउने सङ्कल्प गर्नुपर्छ ।’

प्रचण्डको अभिव्यक्तिको अर्थ के ?

पार्टीको निकै महत्त्वपूर्ण फोरमहरुमा, जहाँ शीर्ष सबै नेता सहभागी थिए, त्यहाँबाट एक अध्यक्षका यस्ता अभिव्यक्ति आउनुको अर्थ हुन्छ– नेकपाभित्र समस्याको चाङ छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘उहाँले कुरा उठाउनु त राम्रो हो । तर शुद्धीकरणको स्रोत एकजना उहाँ आफै हो । प्रचण्डले शुद्धीकरण गर्न खोजेको भए पार्टी धेरै माथि जान सक्थ्यो । तल्लो तहमा यो समस्या होइन । माथिल्लो तहमा नै समस्या हो । त्यसकारण आफूबाट नै यसको सुरुवात गर्दा राम्रो हुन्छ ।’

श्रेष्ठले थप अगाडि भने, ‘प्रचण्डले भन्न के खोज्नु भएको भनेर धेरै प्रश्न उहाँलाई नै गर्नुपर्छ । तर, हामीले बुझेको शुद्धीकरण सांस्कृतिक, वैचारिक शुद्धीकरण हो । पार्टीहरुभित्र मौलाउँदै गएकोे गलत संस्कृति, प्रवृत्तिको शुद्धीकरण भन्ने बुझ्ने हो ।’

केन्द्रीय सदस्यले पनि उठाएका थिए यस्ता समस्या

नेकपाका २१ केन्द्रीय सदस्यले मङ्सिर ५ गते पार्टीभित्रका बेथितिलाई लिपिबद्ध गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर पार्टी महासचिव विष्णु पौडेलमार्फत् ज्ञापनपत्र बुझाए ।

ज्ञापनपत्रमा पछिल्लो समय पार्टीमा देखिएका बेथितिलाई लिपिबद्ध गरिएको छ । ज्ञापनपत्रमा उल्लेख गरिएका विषयवस्तु मुख्यतः अध्यक्षद्वयसँग सम्बन्धित थिए । ज्ञापनपत्र बोकेर सचिवालयका सबै नेताहरुकहाँ २१ केन्द्रीय सदस्य पुगेका थिए ।

ज्ञापनपत्रमा दुई अध्यक्षको आदेशमा पार्टी चलेको निष्कर्ष निकाल्दै नेकपालाई ‘कम्युनिस्ट पार्टी हो कि होइन’ भन्ने प्रश्नसमेत गरेका थिए ।

‘सरकार र पार्टीबीच समन्वय खै ? सरकार र संसदीय दल कसरी चल्छ ? सादा जीवनशैली र आचरण कहाँ हरायो’ भन्ने जस्ता गम्भीर प्रश्नहरू त्यसमा उठाइएका छन् ।

ज्ञापनपत्रमा सरकार र पार्टी सञ्चालन प्रक्रिया वैज्ञानिक, पारदर्शी र समन्वयका आधारमा नभएको, नेकपा राजनीतिक र साङ्गठनिक रूपमा शिथिल भएको, तत्काल पोलिटब्युरो गठन गर्नुपर्ने, सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने, स्थायी कमिटीलाई कार्यकारी बनाउनुपर्ने र पार्टीका सबै कमिटीको एकीकरण निश्चित मापदण्डका आधारमा टुङ्ग्याउन उनीहरूले माग गरेका थिए ।

पार्टी एकता प्रक्रियामा विलम्ब, जिम्मेवारी बाँडफाँटमा मनोमानी, योग्यताका आधारमा भूमिका र जिम्मेवारी वितरणमा न्याय नभएको समेत ज्ञापनपत्रमा समेटेका थिए ।

सम्भव छ त नेकपामा सफाइ ?

विश्लेषक श्रेष्ठ भन्छन्, ‘नेकपामा सफाइ अभियान सम्भव मात्रै होइन कि अति आवश्यक छ । पार्टीभित्रै भ्रष्टाचार मौलाएको छ । गलत संस्कृति हावी भएको छ । जनता प्रमुख भन्नुभन्दा पनि मेरो स्वार्थ प्रमुख भन्ने कुरा आएको छन्, उनले भने, ‘त्यो भनेको सांस्कृतिक र वैचारिक विचलन हो । यो चर्को मात्रामा छ । नेतातहमै ज्यादा छ । त्यसको शुद्धीकरण हुनुपर्छ र त्यो मबाटै हुनुपर्छ भनेर कुनै नेताले भन्छ भने त्यो धेरै राम्रो कुरा हो । तर ममा शुद्धीकरण हुनु आवश्यक छैन तर कार्यकर्ताहरुमा हुनुपर्छ भन्ने हो भने शुद्धीकरणको सही थालनी हुँदैन ।’

विश्लेषक श्रेष्ठले थपे, ‘के नेता स्वयम् आफैँबाट सफाइ आन्दोलन सुरु गर्न तयार छन् ? गहन प्रश्न यो हो । तयार छन् भने नेकपामा सम्भव छ, तयार छैनन् भने असम्भव जस्तै छ, श्रेष्ठले भने, ‘नेता आफैँ सांस्कृतिक रूपमा विचलित, वैचारिक रूपमा विचलित, भ्रष्ट चरित्र भएको, आफूमुखी, देश केन्द्रमा नभएको, जनता पनि केन्द्रमा नभएको तर कार्यकर्तामा मात्रै सफाइ हुनुपर्छ भन्ने भए सफाइ अभियान असम्भव छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप