शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जब क्रिस्चियन पास्टरले गरे बुबाको १३ दिने मृत्यु संस्कार (भिडियोसहित)

सोमबार, १६ वैशाख २०७६, ०९ : २२
सोमबार, १६ वैशाख २०७६

युवराज घिमिरे र उनको परिवार अहिले आफ्ना बुबाको निधन भएपछि शोकमा छन् ।

पुख्र्यौली घर ताप्लेजुङ र हाल काठमाडौँमा छोरासँग बस्दै आएका ९० वर्षका देवीप्रसाद घिमिरेको ११ दिनअघि निधन भयो । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारका लागि पुर्याइएपछि उनको निधन भएको थियो ।

देवीप्रसादका जेठा छोरा हिन्दू धर्मावलम्बी हुन् भने कान्छा छोरा युवराज घिमिरे क्रिस्चियन धर्मावलम्बी हुन् ।

निधनपछि उनको पार्थिव शरीर पशुपति आर्यघाट लगियो र हिन्दू रीतिअनुसार विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो ।

उसो त दिवङ्गत भएका देवीप्रसादले पनि १ वर्षअघि क्रिस्चियन धर्म अँगालेको कान्छा छोरा युवराजले बताए । उनले भने– ‘उहाँले १ वर्षअघिबाट क्रिस्चियन धर्म अँगाल्नुभएको थियो तर नियमित चर्च भने जानुभएको थिएन । तपाईंले मेरो फेसबुकमा फोटोहरु हेर्नुभयो भने थाहा हुन्छ ।’

बुबाको निधन भइसकेपछि युवराज काठमाडौँ बौद्धमा रहेको घरमा शोक मनाइरहेका छन् भने उनका दाइले झापामा काजक्रिया गरिरहेका छन् ।

तर फरक फरक धर्मलाई विश्वास गर्ने एउटै परिवारका दुई दाजुभाइले बुबाको काजक्रिया गर्ने शैली केही कुरामा उस्तै–उस्तै तर भिन्न रहेको छ ।

दुवै दाजुभाइले केस मुण्डन गरेका छन्, सेतो कपडा लगाएका छन्, आफूले मात्र बनाएको १ छाक खाएका छन् र १३ दिने मृत्युसंस्कारलाई अँगालेका छन् ।

फरक के छ भने क्रिस्चियन धर्म अँगालेका कान्छा छोरा युवराजले १३ दिनसम्म शोक मनाए पनि बाइबल पढेर बसेका छन् भने झापामा उनका दाइले हिन्दू धर्मअनुसार १३ दिने काजक्रिया गरिहेका छन् । 

बुबाको अन्तिम संस्कारका दिन पनि उनी पशुपति गए, उनी छुट्टै उभिए, दाजुले दागबत्ती दिए ।

बुबाको मृत्युसंस्कारका लागि आफूले कपाल मुण्डन गर्नु र सेतो कपडा लगाउनु बाइबलमा उल्लेख भएअनुसार गरेको बताए ।

घिमिरे परिवारमा युवराजको परिवार मात्र क्रिस्चियन हुन् । परिवारका अरू हिन्दू छन् ।

उनले भने– ‘जीवित छँदा त मैले ९० वर्षसम्म बुबालाई पालेर राखेँ भने मृत्यु भएपछि संस्कारको कुरा मात्र देखिन्छ । त्यो कारणले दाजुहरुलाई मैले प्रष्ट भनेँ, जेठो दाजु झापामा हुनुहुन्छ । यहाँ काका बुबाको छोरा हुनुहुन्छ, म क्रिस्चियन भएको नाताले उहाँहरुसँग प्रष्टसँग मूर्तिपूजा चाहिँ म गर्दिनँ किनभने बाइबलले प्रष्टसँग मूर्तिपूजा नगर, प्रकृतिको पूजा नगर भनेर हामीलाई बताउँछ । केस मुण्डन र सेतो कपडा लगाउन म तयार छु, जुन कुरा बाइबलमा पनि आउँछ ।’

उनले हिन्दू धर्मअनुसार मृत्यु संस्कारको १३ दिनमा गर्ने गाईदान लगायतका काम गर्न दाजुको परिवालाई आर्थिक सहायता गर्ने पनि बताए । 

बाइबलमा पनि शोकमा दारी, कपाल मुण्डन गरेको पाइएको, भाङ्ग्राको कपडा लगाउनु पनि बाइबलमा शुद्धताको प्रतीक भएको उनले बताए । उनले भने– ‘यो सेतो कपडा पनि पवित्रताको चिन्ह हो । यसमा पूजा पाठ केही गरेको हुँदैन । यसमा कुनै मर्तिपूजाको सम्बन्ध हुँदैन । एउटा संस्कारको कुरा मात्रै हो । पवित्रतामा बस्ने कुरा मात्रै हो । त्यसकारण यो सेतो कपडा मैले दाजुभाइलाई ल्याइदिनुुस् भनेँ । किनेभने मेरो बुबाको शोकमा म शुद्धतामा बस्छु भनेर मैले उहाँहरुसँग कुरा राखेँ ।’

क्रिस्चियन समुदायमा ५ दिनसम्म शोक मनाउने र प्रार्थना गर्ने प्रचलन छ । युवराजको परिवार १० वर्षअघिदेखि क्रिस्चियन धर्ममा आबद्ध छन् ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप