केन्द्रीय संस्करण

नेपालमा च्याउखेतीको वर्तमान अवस्था

person explore access_timeबैशाख १६, २०७६ chat_bubble_outline0

नेपालमा च्याउखेती वि.सं. २०३१ सालमा कृषि विभागअन्तर्गतको वालीरोग विज्ञान महाशाखा खुमलटार, काठमाडौंबाट  सुरु  गरिएको  थियो  ।  त्यसबेला  च्याउखेती  बारे ४–५ जनालाई तालिम दिइएको थियो । यसरी ४–५ जनावाट सुरु गरिएको च्याउखेती हाल आएर अधिराज्यभर गर्न थालिएको छ । च्याउखेती गरिने नेपालका प्रमुख ठाउँहरूमा काठमाडौंऽ ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, धरान, विराटनगर, चितवन, आदि पर्दछन् ।

हाल नेपालमा गोब्रे, कन्ये, पराले र सिताके गरी जम्मा ४ जातका च्याउहरूको   कृत्रिम ढंगले खेती प्रविधि विकसित भई सके तापनि कन्ये तथा गोब्रे २ जात मात्र कृषकस्तरमा वढी परिचित र प्रचलनमा आएको पाइन्छ । उत्पादनका हिसाबले वार्षिक करिब ३०००–३५०० मे. टन च्याउ उत्पादन हुने गरेको देखिन्छ । च्याउ उत्पादनको लागि च्याउको बीउ (Spawn) उत्पादन केही वर्ष अघिसम्म खुमलटारमा मात्र सीमित थियो भने, हाल आएर पोखरा, विराटनगर र धरानमा समेत यसको उत्पादन भरहेको छ । काठमाडौंमा मात्र ६–७ वटा निजीस्तरका उत्पादकहरूवाट च्याउको बीउ उत्पादन भइरहेको छ ।

च्याउखेतीको महत्त्व

सामाजिक, आर्थिक हिसाबले पनि पोषणयुक्त खाना उपयोग गर्न नसक्ने अवस्थाले गर्दा नेपाली समाजमा कुपोषणको समस्या यत्रतत्र देखिन्छ । तर च्याउमा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्त्वहरूको मात्रा प्रचुर मात्रामा पाइने भएकोले च्याउखेती तथा त्यसको उपयोगवाट हाम्रो शरीरलाई चाहिने आवश्यक पोषक तत्त्वहरू सर्वसुलभ रूपमा उपलव्ध हुन सक्दछन् । साथै च्याउमा पाइने विभिन्न औषधीय गुणका कारण पनि हाम्रो जस्तो समाजमा च्याउको उपयोगमा व्यापकता अपनाउनु अत्यावश्यक देखिन्छ ।

च्याउमा पाइने विभिन्न तत्त्वहरू

विभिन्न अध्ययनअनुसार च्याउमा प्रोटिनको मात्रा, मासु र माछाभन्दा कम तथा धेरैजसो तरकारी तथा फलफूलभन्दा वढी पाइन्छ । यसमा भएको प्रोटिनको गुणस्तर पनि धेरै राम्रो हुन्छ । हाम्रो शरीरलाई नभई नहुने नौवटा अत्यावश्यक अमिनो अम्लहरू (Essential Amino Acids) कुनै पनि एउटै प्राकृतिक स्रोतमा हुँदैनन्, तर यी सबै अत्यावश्यक अमिनो अम्लहरू च्याउमा पाइएको छ । फेरि च्याउमा पाइने प्रोटिन पचाउन धेरै सजिलो छ, जवकि अन्य गेडागुडी र मासुको प्रोटिन पचाउन गाह्रो हुन्छ । प्रोटिन बाहेक च्याउमा विभिन्न भिटामिन तथा खनिज तत्त्वहरू पनि पाइन्छन, जसले गर्दा शरीरलाई अत्यावश्यक तत्त्वहरूको पूर्ति हुन्छ । यसमा भिटामिन “वी कम्प्लेक्स” तथा “भिटामिन सी” पर्याप्त मात्रामा पाइन्छ । फोलिक एसिड तथा भिटामिन वी १२, जस्ता गर्भवती तथा दूध खुवाउने महिलाहरूलाई अति आवश्यक पोषक तत्त्वहरू सामान्य तरकारीहरूमा सबै पाइँदैन, तर च्याउमा एकसाथ पाइन्छ । फस्फोरस, सोडियम तथा पोटाशियमजस्ता खनिज तत्त्वहरू पनि च्याउमा प्रशस्त मात्रामा पाइन्छ । विभिन्न किसिमका च्याउमा तथा अन्य खाद्यवस्तुहरूमा पाइने पोषक तत्त्वहरूको तुलनात्मक विवरण (तालिका –१, २, ३) मा प्रस्तुत गरिएको छ ।

तालिका – १ (ताजा च्याउमा पाइने तत्त्वहरू)

च्याउ                     खरानी                     प्रोटिन             चिल्लो पदार्थ                  रेशा

गोब्रे च्याउ                १.२५                     ३.९४                     ०.१९                     १.०९

कन्ये च्याउ                ०.९७                    २.७८                     ०.६५                   १.०८

सडाका/भुईंफोर         ०.८१                     ४.१ ०.                     २२                     १.१३

पराले च्याउ               १.४६                     ४.९८                      ०.७४                  १.३८

औषधीय महत्त्व (Medicinal value)

च्याउमा उच्च पोटाशियम सोडियम अनुपात (High K: Na)    पाइन्छ, जुन ब्लड प्रेसर (Hyper tension) भएका रोगीहरूको लागि आवश्यक हुन्छ । च्याउमा सक्खर (Sugar)  तथा वोसो (Fat)  को मात्रा धेरै नै कम हुने तथा “कोलेस्टेरोल” नपाइने हुनाले च्याउ मधुमेहका रोगीहरूका लागि अत्यन्तै फाइदाजनक (Delight of diabetic) मानिन्छ । च्याउमा रेशादार पदार्थ (Fibre content) पनि बढी भएकोले यसले कब्जियत हुनवाट बचाउ“छ । साथै दिनहुँ च्याउ खाने व्यक्तिलाई क्यान्सर रोग लाग्न नसक्ने स्वास्थ्यकर्मीहरूको दावी छ ।

च्याउको आर्थिक महत्त्व

कृषि उप–उत्पादनहरूको सदुपयोग

च्याउखेती कृषिका उप–उत्पादन वा खेर गहिरहेका वस्तु (Agrowastes)  : जस्तै पराल, गहु“को छ्वाली, मकैको डांठ/पात, उखुको पात, आदिवाट नै गर्न सकिन्छ । ग्रामीणस्तरमा त्यत्तिकै सडेर गलेर नष्ट हुने त्यस्ता वस्तुहरूको सदुपयोग गरी आयमूलक व्यवसाय सञ्चालन गर्न सकिन्छ ।

स्थानीय स्वरोजगारको सिर्जना

स्थानीय स्रोत–साधन र खेर गहिरहेको श्रम सिपको उपयोग गरी च्याउ उत्पादन गर्न सकिने हुँदा, बेरोजगार, अर्ध बेरोजगार तथा महिला सहभागिता अभिवृद्धि गराई स्थानीयस्तरमा नै स्वरोजगारका अवसर सिर्जना गर्न सकिन्छ ।

जमिन बचाउ व्यवसाय

च्याउखेतीको लागि खासै जमिन/ठाउँको आवश्यकता पर्दैन । यसको लागि घरकै वार्दली, कोठा, आदिलाई पनि प्रयोग गर्न सकिने हुनाले यसलाई “जमिन बचाउ व्यवसाय” (Land saving husbandry) पनि भनिन्छ । यसरी भूमिहीन/गरीब किसानहरूले पनि यसलाई अपनाई फाइदा उठाउन सक्दछन् ।

पैठारी प्रतिस्थापन/निकासी प्रबर्द्धन

हाल नेपालका विभिन्न स्तरीय होटेलहरूमा डिब्बाबन्द (Canning)  तथा सुकेको (Dried) च्याउहरू विदेशवाट आपूर्ति हुँदै आएको पाइन्छ, जसवाट वर्षेनी लाखौं रुपियाँ विदेशिने गरेको छ । त्यसकारण च्याउखेतीलाई व्यवासायिक रूपमा विकसित गर्न सकिएमा विदेशवाट हुने पैठारीलाई प्रतिस्थापन गर्नुको साथै निर्यात गरी प्रशस्त आयआर्जन गर्न सकिने सम्भावना पनि त्यतिकै रहेको छ ।

तुलनात्मक रूपमा फाइदाजनक

च्याउखेतीका लागि हाम्रा विभिन्न कृषि उप–उत्पादनहरू नै प्रयोग हुने भएकोले सीमित ठाउँ र कम खर्चमा नै अन्यबालीको तुलनामा च्याउखेतीवाट बढी फाइदा लिन सकिन्छ ।

औद्योगिक महत्त्व

व्यवसायिक रूपमा च्याउखेती गरी प्रशस्त मात्रामा च्याउ उत्पादन गरेर त्यसका विभिन्न परिकारहरू जस्तै : अचार, सुप, आदि वनाउने तथा डिव्वा बन्दी (Canning)  गर्ने जस्ता घरेलु/कुटिर उद्योगहरू सञ्चालन गरी प्रशस्त पैसा कमाउन सकिन्छ । साथै यससँग सम्बन्धित उद्योगहरूलाई कच्चा पदार्थ उपलव्ध गराउन पनि सकिन्छ ।

वातावरणीय महत्त्व

च्याउखेती विषादीहरूको प्रयोगबिना स्थानीय स्तरमा गर्न सकिने हुँदा वातावरणीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । कृषिका विभिन्न उप–उत्पादनहरूवाट च्याउखेती गर्दा ती वस्तुहरु खुला रूपमा सड्न गल्न पाउँदैनन् र त्यसबाट वातावरणीय प्रदूषणलाई घटाउनमा पनि निकै हदसम्म सहयोग पुग्न जान्छ ।

जैविक मलखादको उपलव्धता

च्याउ खेतीवाट निस्कने बिकारलाई कम्पोष्ट बनाएर खेतवारीमा मलखादको रूपमा प्रयोग गर्दा माटोको उर्वराशक्ति व्यवस्थापन तथा प्रांगारिक खेती (Organic farming) मा ठूलो मद्दत पुग्न जाने देखिन्छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)द्वारा प्रकाशित व्यावसायिक च्याउखेतीसम्बन्धी जानकारी पुस्तिकाबाट

Photo: https://i.ytimg.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...