शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जाँदा जन्ती फर्किंदा मलामी !

हिजो विवाह मण्डपमा बसेका बेहुला आज बाबुको काजक्रियामा
मङ्गलबार, १७ वैशाख २०७६, ११ : ५०
मङ्गलबार, १७ वैशाख २०७६

पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर–४ हुवास गाउँका सन्तबहादुर सारुको घरमा सोमबार बिहान हर्ष र खुशीको सीमा थिएन । छोरा श्यामबहादुरको विवाहको ढोगभेट फुकाउन जाने लगनको दिन भएकाले पनि सन्तबहादुरको परिवारमा खुशी छाउनु स्वाभाविक थियो । बिहानैदेखि सिँगार–पटार र जन्त जानेहरुको चहलपहल हुने नै भयो । भोज भतेरको तयारी पनि चल्ने नै भयो । एक हप्ताअघि प्रेम विवाह गरेका श्यामबहादुरको विधिवत विवाह सोमबार मात्रै हुँदै थियो ।

बेहुला श्यामबहादुर सोमबार आफै पनि जन्ती जानका लागि चाहिने  सरसामान जुटाउने र त्यसको व्यवस्थापन गर्दै जिपमा बाजागाजा र  जन्तीसहित बेहुलीको माइततर्फ लागे । त्यहाँ पुगेपछि धुमधाम रमाइलो भयो । मगर समुदायको

रीतिरिवाजअनुसार टीकाटालो भयो । दिउँसो अबेरसम्म खानपिन गर्दै रमाइलो गरे ।

निस्दी गाउँपालिका प्रमुख मुक्तबहादुर सारुका अनुसार साँझ घर फर्किने बेलासम्म जन्ती रमाइरहेका थिए । उनीहरुले मदिरा पनि पिउनै नै भए । अरू त अरू जिप चालकले पनि मदिरा सेवन गर्न बाँकी राखेनन् । बेहुलीको घरबाट बिदावारी भएर निस्केको जन्तीको टोली निस्दी गाउँपालिका वडा नम्बर ६ को अर्चले धोबला र ७ को ज्यामिरेका बीचमा चारघरे भन्ने स्थानसम्म सकुशल आइपुग्यो । जहाँ कच्ची सडक र अफ्ठ्यारो बाटो सुरु भएपछि सबैलाई ओर्लन लगाइयो ।

गाउँपालिका प्रमुख मुक्तबहादुर सारु भन्छन्, ‘जानकारी भएअनुसार १२, १३ जना जिपबाट झरेर हिँड्दै आए । बढी मदिरा सेवन गरेका बुढापाकाहरु जिपबाट ओर्लेनन् । त्यसैक्रममा अलि वर आएपछि जिप अनकन्टार भीरबाट गल्र्यामगुर्लुम्मै ढल्यो ।’

जिपमा सवार ६ जनामध्ये एक जना भने हाम्फालेर बाँच्न सफल भए । अरू ५ जनाको ज्यान गयो ।

पाल्पा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वमणि पोखरेलसँग हामीले घटनाको सूचना पाएपछि सम्पर्क राख्दा उनी आफै पनि घटनाबारे बुझ्न व्यस्त थिए । त्यसका बाबजुद पनि पोखरेलले भने – ‘यति मात्रै तपाईंसँग सेयर गर्छु कि  जन्ती लिएर आएको लु १ ज १९४१ नम्बरको जीप  दुर्घटना भएको हो  । घटना स्थलमै पाँच जनाको मृत्यु भएको छ  । अरू केही खुलेको छैन ।  त्यसतर्फ प्रहरी  टोली जाँदै छ ।  बाँकी पछि ... ।’

घटनास्थल अत्यन्तै विकट । कसैको पनि फोन लाग्न सकिरहेको थिएन । हामीले रामपुर इलाका प्रहरी चौकी, रामपुरकै पत्रकार सुशीला रेग्मी, तानसेनकी पत्रकार सुमित्रा कडेल भट्टराईदेखि सारा स्रोत प्रयोग गर्दा पनि साँझ अबेरसम्म मृतकको विवरण खुल्न सकेन ।

साँझ अबेर जिल्ला प्रहरी कार्यालयबाट  दुर्घटनाको विस्तृत विवरणको मेल आयो । जिप दुर्घटना निस्ती गाउँपालिका ६ को अर्चले धोबला र वडा नम्बर ७ को ज्यामिरे चारघरे भन्ने स्थानमा भएको रहेछ ।

दुर्घटनमा निस्दी गाउँपालिका ७ चारघरेगाउँका ४६ वर्षीय खड्गबहादुर सोमै, सोही स्थानका ५६ वर्षीय देवीलाल खन्गाह, सोही स्थानका ४६ लालबहादुर सारु, ५८ वर्षीय सन्तबहादुर सारु र जिप चालक  निस्दी गाउँपालिका ६ का अन्दाजी २८ वर्षीय बुद्धिबल सोतीको मृत्यु भएको पुष्टि भयो । त्यस दुर्घटनामा हाम्फालेर बाँचेका छन्  निस्दी गाउँपालिका वडा नम्बर–६ हुवास गाउँका अन्दाजी वर्ष २७ का रेमबहादुर घर्ती ।

भिरमा लास घरमा रुवावास

यता, बेहुला श्यामबहादुर सारुका घरमा जन्तीका लागि भोज भतेर तयार गर्न भ्याई नभ्याई भइरहेका बेला एक्कासि त्यस्तो दुःखद् खबरले  रुवावासी चल्न सुरु भयो । रातको अन्धकारमा अन्कटार भीरमा कोकसका शव कहाँ छन् भन्ने अत्तोपत्तो थिएन । भीरमा शवहरु यत्रतत्र छरिएका थिए । इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भुपालसिंह राना साँझ ६ बजेदेखि राति ११ बजेर ३५ मिनेटसम्म टेलिफोन सम्पर्कमा थिए । उनसँग घटनाको अपडेट लिइरह्यौँ । अन्तिममा उनले सेना, प्रहरी र सशस्त्र प्रहरीले शवमाथि बाटोमा ल्याई पोस्टमार्टमका लागि सदरमुकाम तानसेन पठाउन लागेको जानकारी दिए । अनकन्टार भीरमा डोरी र बाँसको सहायताले तिनवटै सुरक्षा निकालयले ज्यानको बाजी लगाएरै भीरबाट शवमाथि ल्याएका थिए । तीनवटै सुरक्षा निकायका प्रमुखसहितका अधिकृत  पनि उद्धार कार्यमा मध्यरातसम्म खटिए । इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक रानाका अनुसार मङ्गलबार बिहान मृतकका आफन्तजन शव बुझ्न तानसेन जाँदै छन् ।

हिजो विवाह मण्डपमा आज बाबुको काजक्रियामा

हुवास गाउँका २२ वर्षीय श्यामबहादुर सारु र सोही गाउँपालिका वडा नम्बर ४ मित्याल भीरपानी गाउँकी  अन्दाजी २२   वर्षीया लालमाया वयाम्बु मगर  (सारु) बीच लामो समयदेखिको प्रेम सम्बन्ध थियो । श्यामबहादुर वैदेशिक रोजगारीका लागि ओमनमा गएका थिए । सो वडाका वडा सदस्य एवं उक्त विवाहमा जन्ती गएका  लालबहादुर सारुका अनुसार श्यामबहादुर चैत २० गतेतिर घर आए । यही वैशाख ९ गते श्यामबहादुरले प्रेम गरेर मायालाई विवाह गरी भित्र्याए । केटाकेटी दुवै पक्षका परिवारबीच हार्दिकता बढ्यो । फलतः वैशाख १६ गते सोमबार विधिवत विवाहको साइत जुर्यो । वडासदस्य लालबहादुर सारु  थप्छन्, ‘सोमबार बिहान १० बजेको समयमा बेहुलाको घरबाट हिँडेका जन्ती  करिब ११ बजे बेहुलीको घर पुगेका थिए ।

दिनैभर खानपिन र डेक बजाएर नाचगान भयो । बेहुलाबेहुलीलाई पनि नचाइयो । जन्ती बिदाइ गरेपछि सबैजना ४ बजेतिर गाडीमा चढे । संयोग नै मान्नुपर्छ– बेहुलाबेहुली नजिकै भएकाले हामी हिँडेर आउँछौैँ, तपाईंहरु जानुस् भनेर गाडीमा चढेनन् । गफ गर्दै आउने मनासायले पनि उनीहरु दुर्घटनाबाट बचे । उनीहरु मात्रै बचेनन्  गाडीमा सवार भएका अरू १४, १५ जना पनि बाँच्न सफल भए । प्रत्यक्षदर्शी लालबहादुर सारु भन्छन्, ‘अफ्ठ्यारो बाटो छ, ओर्लिनु पर्यो भनेर मसहित त्यस्तै १४, १५ जना जति ओर्लिएर बचेका हौँ । बुढापाकाहरु ओर्लिएनन् । तर दुर्भाग्य दुलहीको घरबाट हिँडेको आधा घण्टा नवित्दै जिप भीरबाट पल्टियो । हामी जिपमा नचढेकाहरु नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहायताले त्यहीँ बस्यौँ र उनीहरुसँगै शव माथि ल्याउन खटेका थियौँ ।’

उनका अनुसार बेहुलाबेहुली बाँचे पनि उनीहरुले  दुर्घटनामा  बाबु भने गुमाएका छन् ।  बेहुला श्यामबहादुरका बाबु सन्तबहादुर सारुको दुर्घटनामा मृत्यु भयो ।

दुर्भाग्यवस हिजो  जग्गेमा रहेका बेहुला आज बाबुको मलामी र किरिया क्रमको कुनोमा बस्नुपर्ने भएको छ । हिजो जन्ती जानेहरु सबै जना रातैभर शव निकाल्नेदेखि तानसेनसम्म पुर्याउने काममा खटे ।

मङ्गलबार बिहान हिजोका जन्तीहरु प्हिला शव बुझ्न तानसेन र त्यसपछि  मलामी जाने तयारीमा रहेको उनै वडा सदस्य  लालबहादुर सारु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप