केन्द्रीय संस्करण
सरोकार

के हो खतरनाक महामारी बर्ड फ्लू ? यसबाट बच्ने कसरी ?

person explore access_timeबैशाख २०, २०७६ chat_bubble_outline0

‘कुखुराको मासु चाहिँ नल्याउनू है ! बर्ड फ्लूको महामारी चलेको बेला कहाँ कुखुराको मासु खानु । बरु खसीको मासु वा राँगाको मासु भए पनि ल्याउनू, तर कुखुरा चाहिँ ल्याउँदै नल्याउनू !’

आजभोलि मासु खाने प्रायः सबैको घरमा यो सम्वाद सुन्ने गरिन्छ । हरेक वर्षझै यस पटक पनि नेपालमा बर्ड फ्लुको संक्रमण फेला परेपछि र सोहीकारण हिजो मात्रै एकजना मानिससमेत मरेको खबर सरकारले नै सार्वजनिक गरेपछि जनमानसमा त्रास निक्कै बढेको छ । बर्डफ्लुकै कारण नेपालमा मानिस मरेको सम्भवतः यो नै पहिलो घटना हो । यस घटनाले सर्वसाधारणमा बर्डफ्लूको बारेमा चासो, चिन्ता र आतंक बढ्नु स्वभाविक नै हो ।

सामान्यतः हरेक वर्ष बर्ड फ्लूको महामारीको खबर सार्वजनिक हुनेबित्तिकै प्रायः मानिसहरुले कुखुराको मासु खान छाड्ने गर्छन् । सरकारले तथा विशेषज्ञहरुले कुखुराको मासु नै पनि उचित तरिकाले पकाएर खाने हो भने शतप्रतिशत सुरक्षित हुन्छ भनेर बारम्बार जति फलाके पनि त्यसले मानिसहरु आश्वस्त हुन सक्तैनन् । त्यसमाथि थप, बर्ड फ्लूकै कारण मानिस नै मरेको घटना सार्वजनिक भएपछि त ठूलो आतंक पैदा हुनु स्वभाविक नै हो ।

बर्ड फ्लू नेपालमा अहिले मात्रै भएको घटना हैन, न त यो नेपालमा मात्रै हुने घटना हो । बर्ड फ्लूको समस्या विश्वका कुनै पनि कुनाकाप्चामा कुनै पनि बेला फैलिन सक्छ

त्यसो त बर्ड फ्लू नेपालमा अहिले मात्रै भएको घटना हैन, न त यो नेपालमा मात्रै हुने घटना हो । बर्ड फ्लूको समस्या विश्वका कुनै पनि कुनाकाप्चामा कुनै पनि बेला फैलिन सक्छ । जस्तो कि, केही समय पहिले एशियाका विभिन्न देशहरुमा वर्ड फ्लू महामारीकै रुपमा फैलिएको थियो । त्यसबेलाका समाचारका केही विषयवस्तुहरु यस प्रकार थिएः

*     बर्ड फ्लूको कारण भियतनाममा १४ जना मरे !

*     भियतनाममा बर्ड फ्लूको कारण ३ करोड ५० लाख कुखुरा तथा चराहरु मारिए !

*     थाइल्याण्डमा बर्ड फ्लूको महामारीलाई रोक्न कुखुरा तथा चराहरुलाई मार्न सेना समेत लगाइयो ।

*     चीनमा लाखौं कुखुरा तथा चराहरु मारिए ! बर्ड फ्लूको महामारीबाट बच्न मानिसलाई पनि अन्य फ्लूविरोधी सुई लगाइन थालियो ।

*     अमेरिकामा पनि बर्ड फ्लूको संक्रमण भेटियो । हज्जारौं कुखुराहरु मारिए ! वार्षिक १.७ अर्ब डलर बराबरको निर्यात हुने अमेरिकी कुखुरा व्यवसाय चौपट् बन्यो !

*     यूरोपियन यूनियन र फ्रान्सले अमेरिकाबाट कुखुराको मासु तथा त्यसबाट उत्पादित खानेकुरामा प्रतिबन्ध लगाए !

*     विश्व स्वास्थ्य संगठनले अहिलको बर्ड फ्लू सार्सभन्दा पनि खतरनाक हुन सक्ने चेतावनी दिएको छ !

*     बर्ड फ्लू नियन्त्रण गर्न महिनौंदेखि वर्षौंसम्मको समय पनि लाग्न सक्ने !

स्वभाविक रुपमा त्यस्ता समाचारहरुले त्यसबेला मानिसमा झन् थप आतंक सिर्जना गरेको थियो । अहिले पनि स्थिति त्यही हो, वर्ड फ्लूको चर्चा चल्नेबित्तिकै मानिसहरुमा आतंक नै फैलिने गर्छ ।


याे पनि पढ्नुहाेस्यस्ता छन् बर्डफ्लुको बेला कुखुराको मासु खाँदा अपनाउनुपर्ने सावधानी


के हो बर्ड फ्लू ?

इन्फ्लूएन्जा भाइरसको कारण चराहरुमा फैलिने एभिएन इन्फ्लूएन्जा नामक संक्रामक महामारीको नाम नै बर्ड फ्लू हो ।  इन्फ्लुएन्जा भाइरसका तीन समूहहरुमध्ये समूह ‘ए’मा पर्ने यही भाइरसको सक्रमणबाट चराहरुमा फैलिने महामारी रोगलाई बर्ड फ्लू भन्ने गरिन्छ ।

बर्ड फ्लू फैलाउने इन्फ्लुएन्जा भाइरसले सुँगुरलाई पनि संक्रमण गर्ने गर्छ । तर यसले विशेष गरेर चराहरुलाइ नै बढी प्रभावित गर्ने गरेको छ । खासगरी जंगली चराहरु, अझ त्यसमा पनि सीमसारतिर बस्ने चराहरु यस भाइरसका सबै समूहका मुख्य स्रोत मानिन्छन् । तर सबै प्रजातिका चराहरुलाई यस रोगले संक्रमण गर्ने गर्छ । सामान्यतः जंगली चराहरुको बलियो प्रतिरक्षा प्रणालीको कारण तिनीहरुको आन्द्रा, स्राव, सिंगान तथा सुलीमा यो रोगको भाइरस सुसुप्त अवस्थामा रहने गरेको पाइन्छ । त्यस्ता चराहरुमध्ये पनि विशेष गरेर जंगली हाँसमा यो भाइरसलाई प्रतिरोध गर्ने क्षमता निक्कै बढी हुने गरेको पाइन्छ । एभिएन इन्फ्लुएन्जा भाइरसका कतिपय समूहमा पर्ने भाइरसहरुको संक्रमणले गर्दा पनि जंगली चराहरुमा त्यसको असर अति न्यून हुन्छ वा देखिँदैन पनि । यो भाइरसको समूह तथा चराको प्रजातिको प्रकृतिले पनि त्यसको असरलाई घटबढ गराउने वा नदेखिने हुन्छ । तर ‘एभिएन इन्फ्लुएन्जा ए’ भाइरसकै केही समूहहरु, जस्तै, H5 र H7, को संक्रमणले चाहिँ केही जंगली चराहरु सोत्तरै हुने गर्छन् । अझ त्यो भाइरसको संक्रमणले कुखुरा, टर्की जस्ता घरपालुवा चराहरुलाई भेट्टायो भने त त्यसले विनाशलीला नै मच्चाइदिन्छ । घरपालुवा कुखुरा तथा टर्की चराहरुले यी भाइरसहरुलाई प्रतिरोध गर्न सक्दैनन् । फलतः यो भाइरसको सम्पर्कमा आएपछि घरपालुवा चराहरुमा छिट्टै नै संक्रमणले महामारीको रुप लिन पुग्छ ।

बर्ड फ्लू कुखुरा, हाँस, टर्की जस्ता चराहरुको व्यापारबाट एक ठाउँदेखि अर्को ठाउँमा, एक देशबाट अर्को देशमा सर्ने गर्छ । त्यसका साथै, देश परदेशमा मौसमी बसाइँसराइ गर्ने चराहरु पनि यस रोगलाई फैलाउन निक्कै जिम्मेवार हुने गर्छन् ।

बर्ड फ्लू कुखुरा, हाँस, टर्की जस्ता चराहरुको व्यापारबाट एक ठाउँदेखि अर्को ठाउँमा, एक देशबाट अर्को देशमा सर्ने गर्छ । त्यसका साथै, देश परदेशमा मौसमी बसाइँसराइ गर्ने चराहरु पनि यस रोगलाई फैलाउन निक्कै जिम्मेवार हुने गर्छन् । जंगली चराहरुको प्रतिरोधी क्षमताको कारण तिनीहरुलाई संक्रमण नभए पनि त्यस्ता चराहरुको सुलीबाट, तिनले प्रयोग गर्ने पानीको सम्पर्कबाट घरपालुवा चराहरुमा बर्ड फ्लूको भाइरस संक्रमण हुने गर्छ ।

जब यो भाइरसले चरालाई आक्रमण गर्छ वा चराको शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन गई भाइरस क्रियाशील हुन्छ, त्यस्ता चरा वा कुखुराहरुमा बर्ड फ्लूका लक्षणहरु देखापर्न थाल्छन् ।

एभिएन इन्फ्लुएन्जाको असर दुई किसिमका हुन्छन् । एउटा, न्यून र अर्को चाहिँ चर्को । पहिलो असरमा चराहरुको प्वाँख रुखो तथा अस्तव्यस्त देखिनुका साथै त्यसको अण्डाको उत्पादन पनि घट्ने गर्छ । त्यस्ता चराहरुमा विमारीका हल्का लक्षणहरु देखिन्छन् । तर दोस्रो किसिमको असरमा चाहिँ चराहरुमा यसले महामारीको रुप लिन्छ । यो कतिसम्म घातक हुन्छ भने यो महामारीले भेट्टाएपछि छोटो अवधिमा नै त्यस्ता संक्रमित चरा वा कुखुराहरुको पूरै बथानको विनाश हुन जान्छ ।

यो भाइरसको उपस्थिति रहेको तर संक्रमणले नगाँजेका चराहरुको मुख तथा सुलीबाट यो भाइरस कम्तीमा पनि १० दिनसम्म निष्काशित भइरहेको हुन्छ । यसले गर्दा यो भाइरस अन्य चराहरु तथा कुखुराहरुमा सजिलै फैलिन जान्छ । फेरि चराहरु एक ठाउँबाट अर्को ठाउँमा उडेर जाने हुनाले तथा मौसमअनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराई गर्ने हुनाले यो भाइरसले सजिलै फैलिने मौका पाउँछ ।

यसले कुनै पनि प्राणीलाई संक्रमण गर्न सक्छ र त्यो प्राणीको शरीरमा बस्न मिल्ने गरी आफ्नो रुपमा पनि परिवर्तन गर्न सक्छ । यसको अर्थ के पनि हो भने, त्यसले मानिसमा पनि सर्न, मानिसको शरीरमा पनि बाँच्न र अन्ततः महामारी फैलाउने क्षमता राख्छ ।

ताजा अध्ययनहरुले के देखाएका छन् भने, शुरु शुरुमा सामान्य देखिने एभिएन इन्फ्लुएन्जाको संक्रमणले छोटो समयमा नै कुखुराहरुमा महामारीको रुप लिन पुग्छ । सबैभन्दा खतरनाक कुरा त के छ भने वर्ड फ्लूको भाइरसले आफूले संक्रमण गरेको प्राणीको शरीरमा बसोबास गर्नको लागि आफूलाई अनुकूल हुने गरी आफैंमा रुप फेर्न सक्छ । यसको अर्थ के हो भने, यसले कुनै पनि प्राणीलाई संक्रमण गर्न सक्छ र त्यो प्राणीको शरीरमा बस्न मिल्ने गरी आफ्नो रुपमा पनि परिवर्तन गर्न सक्छ । यसको अर्थ के पनि हो भने, त्यसले मानिसमा पनि सर्न, मानिसको शरीरमा पनि बाँच्न र अन्ततः महामारी फैलाउने क्षमता राख्छ । उदाहरणको लागि, सन् १९८३–८४ मा अमेरिकामा एभिएन इन्फ्लुएन्जाको H5N2 भाइरसले त्यहाँको कुखुराहरुमा संक्रमण गर्यो । शुरुमा यो संक्रमण सामान्य रुपमा देखिन पुग्यो । तर ६ महिनाभित्र नै त्यसले महामारीको भीषण रुप लिएर संक्रमित कुखुराहरुको ९० प्रतिशत संख्या स्वाहा पार्‍यो । यो महामारीलाई रोक्न त्यसबेला करिब १ करोड चरा तथा कुखुराहरु नष्ट गरिएका थिए । त्यसबेला ६ करोड ५० लाख अमेरिकी डलर बराबरको सम्पत्ति स्वाहा भएको थियो । त्यसैगरी, सन् १९९९–२००१ मा इटालीमा H7N1 भाइरसले त्यहाँको कुखुरा व्यवसायमा संक्रमण गरेको ९ महिनाभित्रै महामारीको रुप लिएको थियो । त्यसबेला त्यहाँ १ करोड ३० लाख चरा तथा कुखुराहरु मरेका तथा मारिएका थिए ।

कसरी सर्छ मान्छेमा ?

इन्फ्लुएन्जा समूहकै भाइरसका कारण मानिसहरुमा फ्लूसँग फैलिने गर्छ । यस रोगले महामारीको रुप लिएर कालचक्रमा धेरै मानिसहरुलाई सोत्तर पनि पारिसकेको छ । पहिले पहिले विशेष गरेर चराहरुलाई मात्र लाग्ने एभिएन इन्फ्लूएन्जाको भाइरसले मानिसलाई संक्रमण गर्दैन भन्ने विश्वास गरिन्थ्यो । यो विश्वासमाथि सन् १९९७ मा आएर बज्रपात भयो, जब हंगकंगमा एभिएन इन्फ्लूएन्जाको संक्रमणमा परेर १८ जना मानिसहरु विरामी भए । त्यसरी विरामी परेकाहरुमध्ये ६ जनाको त मृत्यु नै भयो । त्यसपछि त एभिएन इन्फ्लूएन्जाको संक्रमणका घटनाहरु पटक पटक हुँदै आएका छन् । पछिल्लो चरणमा आएर अहिले एशिया हुँदै यो महामारी अमेरिकासम्म पुगिसकेको छ ।

मानिसमा पनि सर्छ एभिएन इन्फ्लुएन्जा !

पहिले पहिले विश्वास गरिएविपरीत एभिएन इन्फ्लूएन्जाको भाइरस, यसबाट संक्रमित जीवित चराहरु वा कुखुराहरुको प्रत्यक्ष सम्पर्कमा आउने मानिसहरुमा तुरुन्त सर्ने गरेको पाइएको छ ।

पहिले पहिले विश्वास गरिएविपरीत एभिएन इन्फ्लूएन्जाको भाइरस, यसबाट संक्रमित जीवित चराहरु वा कुखुराहरुको प्रत्यक्ष सम्पर्कमा आउने मानिसहरुमा तुरुन्त सर्ने गरेको पाइएको छ । जिवाणुहरुको अध्ययनले के देखाएको छ भने, यो भाइरस सोझै चराबाट मानिसमा सर्ने गर्छ । त्यसरी सरेको भाइरसलाई प्रतिरोध गर्ने क्षमता मानिसको प्रतिरक्षा प्रणालीमा हुँदैन । त्यसैले यो भाइरसको संक्रमण हुनेवित्तिकै विभिन्न घातक लक्षणहरु देखिन्छन् र विरामीले तुरुन्तै उपचार पाएन भने त्यसले मानिसको ज्यानै पनि लिन्छ ।

बर्ड फ्लूको भाइरसले आक्रमण गरेपछि के हुन्छ ?

सन् १९९७ मा मानिसमा देखापरेको बर्ड फ्लू एभिएन इन्फ्लुएन्जाको H5N1 समूहको भाइरसको कारणबाट पहिलो पटक भएको थियो । उक्त भाइरसले आक्रमण गरेको मानिसमा ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, निमोनिया हुने र श्वास प्रश्वासमा कठिनाइ भई ज्यानै जाने लक्षण देखिएको थियो ।

वास्तवमा एभिएन इन्फ्लुएन्जा अर्थात् बर्ड फ्लूले भेट्टाएको मानिसमा अन्य इन्फ्लुएन्जाहरुमा जस्तै लक्षण देखापर्छ । त्यसमा पनि ज्वरो आउने, खोकी लाग्ने, स्वर बस्ने, मांसपेशीहरु दुख्ने जस्ता समस्याहरु देखापर्छन् । त्यसका साथसाथै, आँखामा संक्रमण हुने, निमोनिया हुने, श्वास प्रश्वासमा चर्को कठिनाइ हुने, भाइरल निमोनिया तथा जीवन नै खतरामा पार्ने अन्य विभिन्न कठिनाइहरु पनि देखापर्न सक्छन् ।

तर यसको अर्थ यो पटक्कै होइन कि बर्ड फ्लूको लक्षण माथि उल्लेख गरिएकै जस्तो हुन्छ वा हुनुपर्छ । सन् २००५ को फेबु्रअरीमा भियतनाममा बर्ड फ्लू फैलिएको बेलामा दुई जना बालकहरुको मस्तिष्क र पाचन प्रणालीमा त्यसले असर गरेको फेला परेको थियो । ती दुवै बालकहरुको पछि सोही फ्लूको कारण मृत्य पनि भयो । उक्त घटनाले प्रष्ट रुपमै के देखाएको थियो भने, वर्ड फ्लूले आक्रमण गरेको मानिसमा माथि उल्लिखित फ्लूकै लक्षण देखापर्नुपर्छ वा पर्छ भन्ने कुनै जरुरी छैन ।

झनै खतरनाक स्थिति

झनै खतरनाक स्थिति चाहिँ त्यो बेला पैदा हुन सक्छ, जब पहिले नै मानिसमा लाग्ने फ्लूले संक्रमित व्यक्तिलाई वर्ड फ्लूको भाइरसले पनि संक्रमित गरिदिन्छ । त्यो अवस्थामा वर्ड फ्लू र मानव फ्लूको भाइरसको जीन एक अर्कामा साटिएर वर्ड फ्लूले मानिसलाई सजिलै संक्रमण गर्न सक्ने खालको नयाँ किसिमको रुप धारण गर्न पनि सक्छ ।

त्यस्तो स्थिति पैदा भयो भने त्यो अत्यन्तै खतरनाक हुन सक्छ । वर्ड फ्लू अहिलेकै जत्तिकै मानिसको लागि घातक हुने हो भने पनि त्यो स्थितिमा त्यसले मानिस मार्ने दर बढेर ६० प्रतिशतसम्म पुग्न सक्छ । स्मरण रहोस्, इतिहासकै सबैभन्दा खतरनाक मानिएको सन् १९१८ को महामारीमा त्यसको मानिस मार्ने दर २ प्रतिशत मात्रै थियो ।

वर्ड फ्लू र मानव फ्लूको भाइरस मिसिएर पैदा हुने नयाँ खालको फ्लू भाइरस सजिलै संसारभरि फैलिन सक्छ । त्यो नयाँ खालको भारइसविरुद्ध मानव शरीरमा प्रतिरोधी क्षमता विकास भइनसकेको कारण र अहिले विश्वव्यापी रुपमा मानव आवतजावत अत्यधिक बढेको स्थितिमा त्यो हुन सम्भव छ ।

अझ विचारणीय कुरा त के छ भने, वर्ड फ्लू र मानव फ्लूको भाइरस मिसिएर पैदा हुने नयाँ खालको फ्लू भाइरस सजिलै संसारभरि फैलिन सक्छ । त्यो नयाँ खालको भारइसविरुद्ध मानव शरीरमा प्रतिरोधी क्षमता विकास भइनसकेको कारण र अहिले विश्वव्यापी रुपमा मानव आवतजावत अत्यधिक बढेको स्थितिमा त्यो हुन सम्भव छ । स्मरण रहोस्, २० औं शताब्दीमा मात्रै वर्ड फ्लूको भाइरसले रुप बदलेर तीन पटक भयानक महामारी फैलिइसकेको छ ।

अर्कोतिर विगतमा त्यस्तो महामारी फैलियो भन्दैमा पुनः त्यही प्रकारको महामारी फैलिइहाल्छ भन्नु चाहिँ विज्ञानसम्मत हुँदैन । त्यसो त ढिलोचाँडो संसारमा फ्लूको महामारी फैलिने तर ठोस रुपमा त्यो वर्ड फ्लूकै महामारी हुनेछ भनेर किटान चाहिँ गर्न नमिल्ने कुरा विशेषज्ञहरु बताउँछन् ।

सन्तोषको कुरा के छ भने, अहिलेसम्म बर्ड फ्लूको भाइरस चरा (मूलतः हाँस, कुखुरा) बाट मानिसमा सरे पनि त्यो मानिसबाट मानिसमा चाहिँ सरेको खासै पाइएको छैन । एकाध घटनामा विरामीलाई स्याहार्ने क्रममा स्वास्थकर्मीहरुलाई संक्रमण भएको एकाध घटनाहरु मात्रै प्रकाशमा आएको छ । यसको अर्थ के हो भने वर्ड फ्लूको भाइरसले मानिसबाट मानिसमा सर्ने खालको क्षमता वा रुप विकास गर्न सकेको चाहिँ छैन । तर त्यो भविष्यमा हुन सक्दैन चाहिँ भन्न सकिन्न ।

बचाउको प्रमुख उपायः चराहरुको विनाश

सबैभन्दा चिन्ताजनक कुरा त के छ भने, एभिएन इन्फ्लुएन्जा भाइरसले आफूले संक्रमण गरेको प्राणीको शरीरमा बस्न मिल्ने गरी आफ्नो रुप बदल्ने गर्छ । त्यसैले यसको विरुद्धमा सधैंको लागि प्रभावकारी हुने  औषधि बनाउन मुश्किल छ । भाइरसको बदलिँदो रुपअनुसार त्यसलाई निष्क्रिय तुल्याउन सक्ने नयाँ नयाँ औषधिहरु बनाउनुपर्ने हुन्छ । तर आजसम्मको अध्ययनहरुबाट बर्ड फ्लूको भाइरसको प्रभावलाई निष्क्रिय पार्नको लागि मानिसलाई हुने अन्य इन्फ्लुएन्जाका लागि निर्माण गरिएका औषधिहरु पनि निश्चित सीमासम्म प्रभावकारी नै हुने देखिएको छ । तर भाइरसले रुप र स्वरुप बदल्ने हुनाले सधैं ती औषधिहरु प्रभावकारी नै हुन्छन् भन्ने चाहिँ हुँदैन ।

इन्फ्लुएन्जाको महामारी फैलिन थालेपछि त्यसविरुद्ध काम लाग्न सक्ने औषधिहरुले नै पनि एकातिर धान्दैनन् भने अर्कोतिर त्यसले रोगलाई पूर्ण रुपमा निर्मुल पनि गर्न सक्दैन । त्यसलाई रोक्नका लागि निरन्तर रुपमा नयाँ नयाँ खोप नै बनाउनुपर्ने हुन्छ । अहिले फैलिइरहेको बर्ड फ्लूका विरुद्ध इन्फ्लुएन्जाका पुरानै औषधिहरु पनि केही हदसम्म काम लाग्ने देखिएका छन् । यसका विरुद्ध खोप पनि सन् २००७ को अप्रिल १७ मा मानिसमा प्रयोग गरिसकिएको छ । थुपै्र कम्पनीहरुले खोप बनाउने दिशामा अध्ययन अनुसन्धानहरु गरिरहेका छन् ।

घातक बर्ड फ्लूबाट बच्ने सबैभन्दा प्रमुख उपाय नै भाइरसको स्रोतलाई नै नष्ट गर्नु हो । अर्थात्, यस रोगको महामारी फैलिने लक्षण देखापर्ने वित्तिकै यसको भाइरसको बाहक हुनसक्ने कुखुरा, चराहरुलाई समूल विनाश गरिदिनु नै यसबाट बच्ने अहिलेसम्मकै सबैभन्दा प्रमुख र प्रभावकारी उपाय हो ।

त्यसैले, यस घातक बर्ड फ्लूबाट बच्ने सबैभन्दा प्रमुख उपाय नै भाइरसको स्रोतलाई नै नष्ट गर्नु हो । अर्थात्, यस रोगको महामारी फैलिने लक्षण देखापर्ने वित्तिकै यसको भाइरसको बाहक हुनसक्ने कुखुरा, चराहरुलाई समूल विनाश गरिदिनु नै यसबाट बच्ने अहिलेसम्मकै सबैभन्दा प्रमुख र प्रभावकारी उपाय हो । विश्व स्वास्थ्य संगठनले पनि यो रोगको लक्षण देखापरेका चरा, कुखुराहरुको समूल विनाश गर्नु नै महामारी फैलिन नदिने प्रमुख उपाय हो भनी सिफारिश गरेको छ । सन् १९९७ मा हङ्गकङ्गमा यो रोगले महामारीको रुप लिएर फैलिन नपाउनुको एउटै प्रमुख कारण पनि त्यसबेला तीन दिनको छोटो समयभित्रै १५ लाख कुखुरा तथा चराहरु मारिनुले गर्दा पनि हो भनी विशेषज्ञहरु बताउँदछन् ।

रोगले भेट्टाइहाल्यो भने के गर्ने त ?

इन्फ्लुएन्जाका कारण हुने अन्य फ्लूहरुमा जस्तै बर्ड फ्लूले भेट्टायो भने वा कुनै पनि फ्लूको लक्षण देखापर्नासाथ तुरुन्तै चिकित्सक कहाँ गई जँचाइहाल्नुपर्छ ।

अहिले देखापरेको बर्ड फ्लू मानिसबाट मानिसमा नै सर्ने गरेको प्रमाण फेला परिसकेको छैन । तर पनि अन्य फ्लूहरुमा जस्तै मानिसबाट मानिसमा सर्ने सम्भावनालाई निराकरण गर्न सकेसम्म रोगी र निरोगीबीच छोइछिटो हुनुबाट जोगिनुपर्छ । विरामीका थुक, खकार, सिंगान, दिसापिसाबहरुको उचित विसर्जन गरिनुपर्छ । विरामी मानिस तथा स्वस्थ मानिसले पनि खोक्दा, हाँच्छिउँ गर्दा आफ्नो मुख, नाक छोप्नु पर्छ । सबैले आफ्नो हात साबुनपानीले बरोबर धोइरहनुपर्छ । साथै, आँखा, नाक, मुख छोइरहने वा नंग टोक्ने बानी छ भने त्यसलाई तुरुन्तै हटाउनुपर्छ । किनभने, अधिकांश इन्फ्लुएन्जाका किटाणुहरु छोएको हातले नाक, आँखा मुख छोइँदा त्यसले संक्रमण गर्ने खतरा बेसी रहन्छ ।

रोगीले चिकित्सकको सेवा तुरुन्त लिनुपर्छ । चिकित्सकको परामर्शबिना जथाभावी औषधिहरु खानुहुँदैन ।  रोगीले पर्याप्त मात्रामा आराम गर्ने, पानी तथा झोल पदार्थहरु पिउने गर्नुपर्छ । खैनी, चुरोट र जाँडरक्सीहरु खानु हुँदैन ।

बर्ड फ्लूको महामारी फैलिएको बेलामा, त्यस्ता क्षेत्रमा बस्ने मानिसहरुमा फ्लूको लक्षण देखापरेमा वेवास्ता वा हेलचेक्र्याइ गर्ने वा घरैमा बसेर उपचार गर्ने मुर्खता गर्नु हुँदैन ।

ख्याल गर्नुपर्ने कुरा के हो भने, बर्ड फ्लूको महामारी फैलिएको बेलामा, त्यस्ता क्षेत्रमा बस्ने मानिसहरुमा फ्लूको लक्षण देखापरेमा वेवास्ता वा हेलचेक्र्याइ गर्ने वा घरैमा बसेर उपचार गर्ने मुर्खता गर्नु हुँदैन । विशेषतः वर्ड फ्लूको भाइरसले आफ्नो रुपमा छिटोछिटो बदल्न सक्ने भएकोले त्यस्ता बिरामीहरुलाई सकेसम्म अस्पतालमै राखेर उपचार गर्नु बुद्धिमानी हुन्छ । यसो गरेको खण्डमा त्यो बिरामीले रुप बदलेर मानिसबाट मानिसमै सर्न सक्ने सम्भावना कम हुन्छ ।

बर्ड फ्लूका भाइरसहरु कम तापक्रम भएको ठाउँमा निक्कै लामो समयसम्म बाँच्न सक्छन् । फेरि यो संक्रमित कुखुरा वा चराबाट मात्र नभएर त्यसको सम्पर्कमा रहेका मेशिनहरु, चारो, चारो राख्ने भाँडा, दाना आदिबाट पनि अरु कुखुरा तथा मानिसहरुमा सर्न सक्छ । त्यसैले संक्रमित कुखुरा वा चराहरुको सम्पर्कमा आएका सबै चीजहरुलाई या त नष्ट गरिदिनुपर्छ वा निर्मलीकरण गरेर मात्र पुनः उपयोगमा ल्याइनुपर्छ ।

संक्रमण भएको बेला सकेसम्म चरा तथा कुखुराहरुको मासु नखानु नै बेस । तर राम्ररी पकाएको मासु खाँदा चाहिँ कुनै खतरा नहुने कुरा विशेषज्ञहरुले बताइसकेका छन् । संक्रमित कुखुरा नै छ भने पनि राम्ररी पकाएको छ भने त्यसको भाइरस नष्ट हुने र खाँदा फरक नपर्ने दावी विशेषज्ञहरुको छ ।


के हो इन्फ्लुएन्जा भाइरस ?

इन्फ्लुएन्जा भाइरसका कारण लाग्ने रोगलाई फ्लू भनिन्छ । इन्फ्लुएन्जा भाइरसलाई तीन समूहमा बाँडिएका छन्ः समूह ‘ए’, समूह ‘बी’ र समूह ‘सी’ । यी तीनमध्ये समूह ‘ए’ र ‘बी’ले चाहिँ वर्षैपिच्छे महामारी फैलाउने गर्छन् । यसमा पनि तुलनात्मक रुपमा ‘ए’ समूहको इन्फ्लुएन्जा महामारी फैलाउन सबैभन्दा बढी जिम्मेवार हुन्छ । समूह ‘सी’ का भाइरसले चाहिँ सामान्य रोगहरुमात्र गराउने गर्छ, यसले महामारीको रुप लिँदैन ।

इन्फ्लुएन्जा भाइरसलाई त्यसको सतहका प्रोटिनहरु हेमाग्लुटिनिन (HA)  र न्यूरामिनिडाज् (NA)  को आधारमा विभिन्न समूहहरुमा बाँडिएका छन् । यीमध्ये पनि HA का तीन उपसमूहहरु H1, H2 र H3 तथा NA समूहका दुई उपसमूहहरु N1 र N2 ले चाहिँ मानिसलाई संक्रमण गर्ने गर्छन् ।

इन्फ्लुएन्जा ‘ए’ का १५ उपसमूहका भाइरसहरुले चरालाई संक्रमण गर्ने गरेको कुरा पत्ता लागिसकेको छ । यसको अर्थ के हो भने, इन्फ्लुएन्जा भाइरसको ठूलो स्रोत चराहरु हुने गर्छ । चराहरुमा महामारी फैलाउने इन्फ्लुएन्जालाई एभिएन इन्फ्लुएन्जा भनिन्छ । अहिलेसम्मको तथ्यांकहरुको आधारमा भन्ने हो भने, सबैभन्दा खतरनाक महामारीको रुप लिने इन्फ्लुएन्जा ‘ए’ भाइरसका उपसमूहहरुमा ज्छ र ज्ठ भाइरसहरु रहेका छन् ।

इन्फ्लूएन्जा भाइरसः मानव विनाशको यो आँकडा

इन्फ्लुएन्जा भाइरसले चराहरुमा मात्र हैन, मानिसहरुमा पनि भीषण विनाशलीला मच्चाउने गरेको छ । जब जब इन्फ्लुएन्जाको भाइरसले मानिसको शरीरमा प्रवेश गर्छ र आफ्नो वंशाणु परिवर्तन गर्छ, तब त्यसले भीषण नरसंहार र काल निम्त्याउने गरेको कुराको इतिहास साक्षी छ । २० औं शताब्दीमा मात्रै त्यस्ता नरसंहारकारी महामारी तीन पटक संसारमा चलेको थियो । खतरनाक कुरा त के भने, त्यस्तो इन्फ्लुएन्जाको शुरुवात भएको एक वर्षभित्रमा नै विश्वभरि फैलिएर त्यसले लाखौं मानिसहरु मारेको थियो ।

त्यसरी अत्यधिक नरसंहार गर्ने प्रमुख महामारीमा सन् १९१८–१९ को महामारी प्रमुख छ । इन्फ्लुएन्जा ‘ए’ भाइरसको H1N1 उपसमूहको कारण फैलिएको उक्त महामारीलाई स्पेनिश फ्लू नामाकारण गरिएको थियो ।

उक्त फ्लूको कारण त्यसबेला अमेरिकामा मात्रै ५ लाख मानिसहरु मरेका थिए । विश्वव्यापी रुपमा २ करोडदेखि ५ करोडसम्म मानिसहरु सोही फ्लूको कारण मारिएको आशंका गरिएको छ ।

 त्यसबेला अधिकांश मानिसहरु फ्लूले संक्रमण गरेको केही दिनमा नै मरेका थिए भने मर्नेहरुमा आधाजसो त जवान र स्वस्थहरु नै थिए ।

त्यस्तै विश्वव्यापी नरसंहार गर्ने अर्को फ्लूको महामारी सन् १९५७–५८ मा फैलिएको थियो । एशियन फ्लू नामाकरण गरिएको उक्त महामारी चाहिँ इन्फ्लुएन्जा ‘ए’ भाइरसको H2N2 उपसमूहको भाइरसको कारण फैलिएको थियो । उक्त फ्लूले अमेरिकामा मात्रै ७० हजार मानिस मरेका थिए । फेबु्रअरी १९५७ मा चीनबाट शुरु भएको उक्त महामारी अमेरिकामा जून १९५७ मा फैलिएको थियो । उक्त महामारीमा विश्वव्यापी रुपमा मारिएकाहरुको आँकडा नै छैन ।

इन्फ्लुएन्जाकै कारण अर्को विश्वव्यापी नरसंहार सन् १९६८–६९ मा भएको थियो । हङ्गकङ्गगमा पहिलो पटक देखापरेको कारण यो महामारीलाई हङ्गकङ्ग फ्लू भनी नामाकरण गरिएको थियो । हङ्गकङ्गमा देखापरेको एक वर्षभित्र नै अमेरिकामा समेत व्यापक रुपमा फैलिएको यो महामारीबाट अमेरिकामा मात्रै ३४ हजार मानिसहरु मारिएको तथ्यांक छ । तर विश्वव्यापी रुपमा मारिएकाहरुको यकिन तथ्यांक भने उपलब्ध छैन । यो महामारी पनि इन्फ्लुएन्जा ‘ए’को H3N2 भाइरसको कारण फैलिएको थियो । यो उपसमूहको भाइरसका कारण अझै पनि ठाउँ ठाउँमा महामारी फैलिने गरेको छ ।

खतरनाक भाइरस H5N1

बर्ड फ्लू गराउने भाइरसहरुमध्ये सबैभन्दा खतरनाक भाइरस H5N1 उपसमूहको भाइरसलाई मानिन्छ । यो भाइरस नै त्यस्तो भाइरस हो,  जुन अरु भाइरसहरुको तुलनामा सबैभन्दा चाँडो र सोझै मानिसमा सर्ने गर्छ । यही भाइरसले नै चराहरुमा तथा मानिसहरुमा महामारी पनि फैलाउने गर्छ । फेरि अरु इन्फ्लुएन्जा भाइरसको तुलनामा यो भाइरसले अति तीब्र गतिमा आफ्नो संख्या बढाउने गर्छ तथा आफ्नो वंशाणुमा परिवर्तन गरेर अरु प्रजातिका प्राणीहरुमा पनि यसले संक्रमण गर्छ । ताजा अध्ययनहरुले के देखाएका छन् भने, यस भाइरसको असर निक्कै तीब्र हुन्छ र यसले मानिसमा थप विभिन्न रोगहरु समेत पैदा गराइदिन्छ ।

H5N1 उपसमूहको भाइरसको संक्रमणविरुद्ध प्रभावकारी खोप छैन । केही औषधि प्रभावकारी रहेको मानिएपनि विगतका घटनाहरुमा त्यस्ता औषधिहरुलाई बर्ड फ्लूको भाइरसले प्रतिरोध गरेको तथ्यहरुले देखाएको थियो ।

तर विश्व स्वास्थ्य संगठनले कुखुरा तथा चरापालनमा संलग्न मानिसहरुले मानवमा फैलिन सक्ने फ्लूलाई रोक्ने इन्फ्लुएन्जा–प्रतिरोधी भ्याक्सिनहरु चाहिँ लगाउनुपर्ने कुरामा जोड दिएको छ । यसो भएको खण्डमा कम्तिमा मानिसमा अरु इन्फ्लुएन्जाले आक्रमण गर्न नसक्ने र एभिएन इन्फ्लुएन्जाको भाइरसले संक्रमण गरेपनि त्यसले मासिनलाई फ्लू गराउने भाइरससँग मिसिएर नयाँ भाइरस निर्माण हुने खतरा कम हुने कुरा विशेषज्ञहरु बताउँछन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...