शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आमाको मुख हेर्ने दिन (कविता)

शनिबार, २१ वैशाख २०७६, २० : ३३
शनिबार, २१ वैशाख २०७६

आज पनि
फोनको घन्टी कुरेर बस्नुभयो
उसकी आमा
पोहोरपरार जस्तै
एक एक पल पनि 
हतार गरेर
घरी घरी हेर्दै फोनतिर
अब बज्ला तब बज्ला भनि
छोरोलाई सुस्वास्थ्यको कामना गर्न
धेरै धेरै आशिर्वाद दिन
मायाले,
आमाको मुख हेर्ने दिन

आफ्नो सन्तान 
सधैँ आफैसँग होस्
उन्नति प्रगति गरोस्
मीठो खान पाओस्
राम्रो लाउन पाओस्
भन्ने सधैँ एउटी आमाको चासो
अनि,
आफूले जन्माएको 
बोकेर, खेलाएर, हुर्काएको
आफ्नो मुटुको टुक्रालाई
अहिले मनभरी डुलाउँदै
आमाको मुख हेर्ने दिन

तर त्यो छोरो
लागेछ कतै परदेश
आफ्नो आमाबाट टाढा
नेपाल आमाबाट टाढा
आमा ! छिट्टै फर्किन्छु भन्दै
आमा तिमीलाई सुख दिन्छु भन्दै
आमा तिमीलाई सधैँ खुशी राख्छु भन्दै
तर,
आज सम्झियो उसले
आफ्नी प्यारी आमालाई
आमाको मुख हेर्ने दिन

यता आमा खुशी हुनुहुन्थ्यो
कुरा गर्दै फोनमा
अलि अलि हाँस्दै 
‘मेरो बाबु’ भनेर
घरी आँसु पुछ्दै 
‘कस्तो छौ ?’ भनेर
उता छोरो खुशी थियो
आमासँग कुरा गर्दै
आमाको ममतामा
एक्कैछिन भएपनि
आनन्द मान्दै
बिर्सेर एक्लोपन
सम्झेर आफ्नै गाउँघर
आमाको मुख हेर्ने दिन

(इन्जिनियर राकेश कार्की, लस एन्जेलस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप