बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनावश् समुद्रमा खसेको आइफोन ह्वेलले फिर्ता दिएपछि... (भिडियो)

बुधबार, २५ वैशाख २०७६, ०८ : २०
बुधबार, २५ वैशाख २०७६

बेलुगु प्रजातिको ह्वेलले समुन्द्रमा दुर्घटनावश् खसेको आइफोन त्यसकी मालिकलाई फिर्ता दिएको छ ।

इशा ओप्दाहल गत सोमबार नर्वेस्थित ह्यामरफेस्ट हार्बरमा आफ्ना साथीसँग डुङ्गामा घुमिरहेकी थिइन् । इशाले आफ्नो फोन ज्याकेटको खल्तीमा राखेकी थिइन् तर त्यो बन्द गर्न भने बिर्सिएकी थिइन् । त्यसैले उनको फोन समुद्रमा खस्न बेर लागेन ।  

यो कुनै नौलो घटना होइन तर फोन खसेपछि जे भयो त्यसले धेरैको ध्यान खिचेको छ । यो घटना भिडियोमा समेत कैद भएको छ ।  

भिडियोमा देखिए अनुसार एउटा ह्वेल डुङ्गा नजिक देखापर्छ र पानीबाट टाउको निकालेर फोन देखाउँछ ।

त्यसपछि इशाले ह्वेलको मुखबाट फोन निकाल्छिन् ।

यो देखेर इशा छक्क पर्छिन् । ‘हामी सबै निकै चकित भएका थियौं । हामीले आँखाले देखेको कुरा पनि विश्वास गर्न सकिरहेका थिएनौं,’ उनले भनिन् । ‘म अत्यधिक खुसी भएँ । फोन फिर्ता पाएकोमा ह्वेलप्रति निकै आभारी छु ।’

भिडियो सार्वजनिक भएपछि  उक्त ह्वेल रसियाली सेनाले जासुसीका लागि तालिम दिएको हुनसक्ने भन्दै धेरैले अनुमान गरेका छन् ।

गत हप्ता नर्वेली माझीले एउटा बेलुगा ह्वेललाई क्यामरा जडित हार्नेस लगाएको अवस्थामा समुद्रको किनारामा भेटेका थिए । पुलिसको सहायतमा ह्वेलको शरीरमा बाँधिएको हार्नेस निकालिएको थियो ।  

विशेषज्ञका अनुसार उक्त ह्वेललाई रुसी अपरेटरको रुपमा तालिम दिइएको थियो तर तालिमको बीचमा नै ह्वेल भागेको थियो ।

स्मरण रहोस्, बेलुगा ह्वेल एक सामाजिक प्राणी हो । यसले एक–अर्कासँग कुराकानी गर्न निकै तिखो आवाज निकाल्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप