बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायी पशुपति गुरुङको जीवन : पैसाले सबै कुरा पाउने भए कोही मर्दैन थिए

शनिबार, २८ वैशाख २०७६, ०९ : ०७
शनिबार, २८ वैशाख २०७६

पशुपति गुरुङ पछिल्लो समय समाजसेवाका कारणले चर्चा छिन् । ‘देश बदल्न, विकासको बाटोमा लम्कन, अहिलेको सोचले पुग्दैन । त्यसका लागि सोच बदल्नुपर्छ । मानिसमा सही सोच तब मात्र पलाउन सक्छ, जब उसमा उचित संस्कारको बास हुन्छ’ भन्ने एक फरक सोच र उद्देश्यका साथ स्थापित संस्कार समाज नेपालको उनी अध्यक्ष पनि हुन् ।

‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नारा बोकेको यो संस्थामार्फत उनी नागरिक र त्यसपछि देश बनाउने अभियानमा छिन् । उनको अर्काे परिचय व्यवसाय पनि हो । उनी पशुपति ट्रेडल्स नामक संस्थामार्फत कोरियन सामान नेपाल भित्र्याउने काम गर्छिन् । उनको अर्काे व्यवसाय सुन्धारामा पशुपति होटल पनि छ । व्यवसायी तथा समाजसेवी पशुपति गुरुङसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

रेस्टुरेन्टको के काम

मनपर्ने खाना दालभात तरकारी नै हो । मन नपर्ने त्यस्तो केही छैन । चिल्लो र पिरो खान सक्दिनँ । सधैँ घरको खाना खाँदा दिक्क लाग्छ । त्यसैले कहिले काही रेस्टुरेन्ट जाने गरेको छु ।

अर्काे कुरो मानिसले रेस्टुरेन्टमा धेरै लगानी गरिरहेका छन् । हामी त्यहाँ गएनौँ भने त्यो रेस्टुरेन्टको के काम । पैसा नहुनेले त कुरै भएन । हुनेले खर्च गर्नुपर्छ भन्ने विचार हो । परिवार र साथीभाइसँग रेस्टुरेन्ट जाने गरेको छु । रेस्टुरेन्टमा सुप खाना मनपर्छ । मलाई पकाउन पनि रुचि छ । सबैथोक मीठो पकाउन सक्छु ।

पोसाकमा ५० हजार

पाइट, टिसर्ट र कुर्थासुरुवाल मेरो मन पर्ने पोसाकमा पर्छ । लगाउन सजिलो यी पहिरन नै लाग्छ । स्कुल पढ्दादेखि नै म पाइट लगाउँथे । सारी लगाउन पनि मनपर्छ । तर सबै कुरो मिलाएर लगाउनुपर्ने भएकाले झन्झटिलो लाग्छ ।

पहिले पहिले महँगा महँगा सारी किन्थँे । अहिले ‘युज एन्ड थ्रो’तिर लागेकी छु । अचेल एक पटक लगाएको ड्रेस मानिसले अर्काे चोटि लाउन छाडिसकँे । मेरो पनि त्यस्तै बानी परेको छ ।

मेरो मन पर्ने रङ सेतो हो । सेतो पहिरन उज्यालो, सफा देखिन्छ । यसले मन पनि सफल हुन्छ । पोसाकमा मेरो वार्षिक ५० हजार खर्च छ ।

मेरो फिट्नेस

पहिले बिहान नियमित हिँड्थे । काठमाडौँको धुलो, फोहोरले गर्दा रुघा लाग्ने, बिमारी पर्नेलगायत हुन थाल्यो । त्यसपछि घरमा ट्रेडमिल ल्याएर दिनको १५ देखि २० मिनेट त्यस्मै हिँड्न थाले ।

किताब पढ्न फुर्सद हँुदैन

अहिले धेरै बिजी छु । अर्काे कुरो प्रविधिले विश्वमा किताब पढ्ने संस्कृतिमा कमी ल्याएको छ । समाचार पत्रपत्रिका र अनलाइनहरुमा पढ्ने गरेकी छु । किताब पढ्न त रुचि लाग्छ तर फुर्सद हँुदैन ।

घुम्न डर लाग्छ

घुमफिरमा असाध्यै रुचि छ । पहिले पहिले धेरै घुम्थेँ तर अहिले कमी भएको छ किनभने अचेल जुनै बेला समाचार सुन्यो भने पनि बस पल्टिएको, ठोक्किएको जस्ता दुर्घटना भएको, मानिस मरेको समाचार देख्न सुन्न पाइन्छ । त्यसैले घुम्न जान डर लाग्छ । विदेशका ९, १० राष्ट्र घुमेकी छु । आफ्नो देशका सबै ठाउँ घुम्न मन लागेका छन् ।

तर दुर्घटनाका समाचारले मन मरेर आउँछ । मानिस एक चोटि मर्ने हो । त्यसैले प्लेन चड्न डर लाग्दैन । तर गाडी चड्न डर लाग्न थालेको छ । प्लेन दुर्घटना भयो भने बरु एकै चोटि मरिन्छ । तर गाडी दुर्घटनामा परियो भने ठेगान हँुदैन । घिटिघिटीमा अडिन पनि सक्छ । यस्तो भयो भने आफूलाई पनि पीडा, आफन्तलाई पनि पीडा ।

हरेक दिन सेम रुटिन

जीवन जसरी चलायो त्यसरी चल्ने हो । मलाई फुर्सद अहिलेसम्म छैन, निकाल्नुपर्छ । हरेक दिन सेम रुटिङ, त्यही काम चलिरहेको छ ।

एक खुट्टे खेल खेल्थे

सानोमा एक खुट्टे भन्ने खेल खेल्थे । स्कुलमा पढ्दा बास्केटबल पनि खेलियो । ब्याडबेन्टिन पनि खेलियो । अहिले खेल्नभन्दा पनि हेर्न मन पर्छ । म फुटबल हेर्छु ।

टीभी हेर्ने बानी छैन

पहिले पहिले टीभी हेर्थे । समाचार, पुराना गीतहरु हेर्थे । अहिले बानी छैन । अहिले हाम्रो देशका गृहणीहरु सिरियल धेरै हेर्छन् । मलाई भने त्यो मन पर्दैन ।

हेरेको चलचित्र ‘भोर’

चलचित्र खासै हेर्दिनँ । चलचित्र काल्पनी विषयमा निर्माण हुने गरेका छन् । मैले पछिल्लो समय हेरेको चलचित्र ‘भोर’ हो । अहिले झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर ३’ आएको छ रे । परिवारले पनि हेरौँ भनेका छन् । हेर्न मन लागेको छ । नेपाली चलचत्रि अलिकति हेर्दैमा पूरै कथा थाहा हुन्छ । सामाजिक जनचेतना जगाउने खालका चलचित्र मनपर्छ ।

सामसुम मोबाइल छ

अहिले मसँग सामसुम ब्रान्डको मोबाइल छ । एक लाख मूल्य पर्ने यो मोबइल बोक्न थालेको एक वर्ष भयो । फोन गर्ने, सामाजिक सञ्जाल चलाउने काममा मोबाइल प्रयोग हुँदै आएको छ ।

रोग केही छैन

अहिलेसम्म भगवानको कृपाले रोग केही छैन । गुलियो धेरै मन पर्छ । तर खान्न, मासु पनि एक दुई पिस मात्र खाने गरेकी छु । खाने कुराको कन्टोलले अहिलेसम्म रोग देखिएको छैन । निरोगी हुनुको अर्काे कारण म टेन्सन कहिल्यै लिन्न । मानिस सानोसानो कुरामा टेन्सन लिन्छन् । म ठूलै कुरो पर्यो भने पनि ‘जस्तो पर्छ त्यस्तै टर्छ’ भनेर आनन्द लिन्छु ।

होटल र एक्स्पोर्ट, इम्पोर्टको व्यवसाय

मेरो पशुपति होटल र पशुपति ट्रेडर्स गरेर दुई व्यवसाय छ । ट्रेडर्सबाट एक्स्पोर्ट, इम्पोर्टको काम गर्छु । यो थालेको १०, ११ वर्ष भयो । होटल सुरु गरेको एक वर्ष पूरा भयो होला । पशुपति ट्रेडल्समार्फत कोरियन सामान नेपाल ल्याउने काम गर्छु ।

म गुरुङ समुदायकी चेली हुँ । हाम्रो समुदायमा सबै विदेश जाने चलन थियो । ‘खोला जता बग्यो, त्यतै बग्न सजिलो हुन्छ’ भनेर म पनि १९९५ मा जापान पुगेको थिएँ । सो समय म २० वर्षको थिएँ ।

मेरो गाउँ घान्द्रुक हो । त्यहाँ हुँदा आकाश गाउँबाट देखिएको जति होला भन्ने लाग्थ्यो । काठमाडौँ आए पनि धेरै रहेछ भन्ने लाग्यो । जापान पुगेपछि त झन् स्वर्ग भनेको यही रहेछ भन्ने ठाने । काठमाडौँमा धुवाँ, धुलोमा बसेको गाउँको मानिस म । टोकियो पुग्दा अचम्मित भएँ । सुरुमा त सपना जस्तो पनि लाग्यो । बुझ्दै जाँदा मानिस हामीजस्तै रहेछन् । मेरो मनमा के भएर जापान विकसित भएको होला भन्ने लाग्यो । बुझ्नतिर लागेँ । देख्दैजाँदा सबै थाहा हँुदै गयो ।

म गाउँबाट गएको बलियो मानिस थिए । दिमाग लगाउनेभन्दा पनि बल लगाउने काम थालेँ । त्यहाँ म १५ घन्टा ३६५ दिन काम गर्न थालेँ । मैले पैसाका लागि धेरै समय काम गरेको थिएँ । त्यहाँका मानिसको रुटिन नै त्यही रहेछ । उनीहरु धेरै अनुशासित पनि हुँदारहेछन् । यतिसम्म कि अरूलाई डिस्टर्ब हुन्छ भनेर आफ्नो फोन आएको पनि उठाउँदिन । व्यक्तिगत दुःख, घाटा सहने तर समाज र देशका लागि आफ्नो भूमिका र दायित्व निर्वाह गर्ने ।

२० वर्षमा जापन पुगेको म ३० वर्षमा अर्थात १० वर्ष बसेर  नेपाल फर्किएँ । खेत किनेर तरकारी गर्ने सोचका साथ काम गर्नुपर्छ भने समाजमा देखाउन, जीविकोपार्जन गर्न र देशका लागि चाहिने उत्पादन देशमै फलाउन २००४ मा नेपाल फर्किएको थिएँ । सो समय नेपालमा द्वन्द्व चलेको रहेछ । देश देख्दा म आफ्नो देश आएकी अर्कैको भन्ने लाग्यो । देशमा केही गर्नुपर्छ भनेर फर्किएको केही गर्ने वातावरण नदेखेर निरास भएँ । त्यसपछि म फेरि जापान जान सक्दिनथेँ । त्यसैले कोरियातिर हिँडे । त्यहाँ पुगे पनि त्यही व्यवसाय गर्न थालेँ । गर्दै जाँदा कोरियन सामान देश लगेर बिक्री गर्ने सोच पलायो । जीवन धान्न पनि सजिलो हुने देखेर २००६ मा व्यवसाय सुरु गरे । सो व्यवसाय अहिले पनि चलिरहेको छ ।

मापसे हाम्रो जातले पाएको

मापसे हाम्रो जातले नै पाएको हो । कहिलेकाहीँ खान्छु । त्यो चिजले हामीलाई खाने होइन । हामीले त्यसलाई खाने हो ।

गीत सुन्छु

गीत सुन्छु । नारायण गोपाल, तारादेवी लगायत गायक गायिकाको गीत बढी मनपर्छ । अहिले बजारमा आएका नेपाली फिल्मका गीत धेरै राम्रो लाग्छ ।

जीवनमा धेरै भूल भए

जीवनमा धेरै भूल भएका होलान् । पछुताउनुपर्ने त्यस्तो भूल केही छैन । हिजो गरेको भूलको अहिले पछुतो छैन । पहिलेको कुरामा अल्झियो भने त्यो मानिस अगाडि बढ्न सक्दैन भन्ने मेरो विचार हो ।

मेरो राशि मिन

मेरो राशि मिन हो । ग्रह दशा खासै हेर्ने गरेको छैन । मानिसलाई दुःख परेको बेला यसमा विश्वास लाग्ने हो ।

मेरो सपना

हाम्रो देशमा कोहीसँग पनि राम्रो संस्कार छैन । देशमा सिस्टम छैन । सबैलाई संस्कार सिकाउनु पर्छ । अनि मात्र देश समृृद्धिको बाटोमा लाग्छ भनेर अहिले संस्कार समाज नेपाल सुरु गरेका छौँ । मेरो सपना सबैलाई सही संस्कार सिकाएर देशलाई समृद्धिको बाटोमा हिँडाउने हो ।

मेरो प्रेम विवाह

मेरो प्रेम विवाह हो । २५ वर्षको उमेरमा उहाँसँग जापानमा भेट भएको थियो । हामीले प्रेम विवाह गर्यौँ ।

खुसीले मर्न सक्छु

जन्मेपछि मर्नुपर्छ, यो सत्य हो । बिरामी भएर थलानपरी मर्न पाआँै भन्ने मेरो मनसाय हो । कम्तीमा पनि ७० वर्ष बाच्न पाउनुपर्छ मेरो विचारमा । त्यसपछिको जीवन पीडादायक हुन्छ । मृत्युसँग अहिले डर छैन ।

किनभने रोग लाग्यो भने उपचार गर्ने २, ४ लाख मसँग छ । पैसाले उपचार हुने भए उपेन्द्र देवकोटा बाँच्थे । मैले २० वर्षको उमेर सोचेको संस्कार अभियान अहिले चलाएको छु । त्यो गर्न नसकेको भए मर्ने बेलामा घिटिघिटी रहन्थ्यो, आफूले सोचेको गर्न पाइएन भनेर । अहिले अभियान चलेको छ । म मरेपछि पनि चल्छ । त्यसैले खुसीले मर्न सक्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप