बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पा :प्रसूति सेवा अझै सञ्चालनमा आएन

आइतबार, २२ साउन २०७४, १३ : १०
आइतबार, २२ साउन २०७४


रोल्पा -सेवा दिँदै आएका चिकित्सकले राजीनामा दिएर गएपछि लामो समयदेखि ठप्प रहेको जिल्ला अस्पतालको जटिल प्रसूति सेवा अझै सञ्चालनमा आउन सकेको छैन । 

प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरिए पनि तालीम प्राप्त चिकित्सक नहुँदा गत वैशाख अन्तिम सातादेखि सेवा ठप्प भएको थियो । सो अस्पतालका एक मात्र तालीम प्राप्त चिकित्सक नाजिर खान गत वैशाख २८ गतेदेखि जागिर छोडेर गएपछि सो सेवा प्रभावित भएको हो । 

अस्पतालमा तालीम प्राप्त चिकित्सक नहुँदा जटिल प्रसूति शल्यक्रिया सेवा लिन आएका सेवाग्राहीलाई प्यूठान दाङ लगायतका जिल्लामा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी हेमराज पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार सेवालाई निरन्तरता दिन दुईजना चिकित्सकको व्यवस्था गर्न लागिएकामा एक जनाले तालीम लिएर आइसकेको र कार्काको लागि विज्ञापनसमेत भइसकेको छ । 

यसअघि नयाँ चिकित्सक भर्ना गर्ने भनी खोलिएको विज्ञापनमा भने कसैको दर्खास्त परेको थिएन । नयाँ आर्थिक वर्षको सुरुआती पछि बजेटको समेत सुनिश्चितता भएकाले नयाँ चिकित्सक भर्ना हुनेमा आफू आशावादी रहेको पौडेलले बताउनुभयो । 

पछिल्ला दिनमा सेवा लिनेको आकर्षण बढिरहे पनि तालीम प्राप्त चिकित्सकको अभावले सेवाग्राहीमा सेवाप्रतिको निरन्तरतामा सकारात्मक सन्देश नगएको स्टाप नर्स शर्मिला आचार्यले प्रतिक्रिया दिनुभयो । 

जिल्ला अस्पतालले विसं २०७१ फागुनबाट जटिल प्रसूतिका लागि शल्यक्रिया सेवा सञ्चालन गरेको थियो । हाल शल्यक्रिया गरिने कोठामा ताल्चा लागेको छ भने सेवा लिन आउने बिरामी महँगो शुल्क तिरेर एम्बुलेन्स तथा निजी सवारी साधन प्रयोग गरी दाङ, प्यूठान, बुटवल र नेपालगन्ज जान बाध्य भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप