शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा पर्यटक आगमनमा वृद्धि

मङ्गलबार, ३१ वैशाख २०७६, १३ : १५
मङ्गलबार, ३१ वैशाख २०७६

भक्तपुर– भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ ले वृद्धि भएको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ । 

वि.सं २०७४ मा भक्तपुरमा सार्क राष्ट्र तथा चीनका ९३ हजार ५३० र अन्य राष्ट्रका एक लाख २५ हजार ४९९ पर्यटक गरी दुई लाख १९ हजार २९ पर्यटकले आगमन भएको छ । २०७५ सालमा भने सार्क तथा चीनका एक लाख १५ हजार ९०६ र अन्य राष्ट्रका एक लाख ३७ हजार ९५७ गरी दुई लाख ५३ हजार ८६३ पर्यटकले आगमन भएको छ । 

नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रति पर्यटक रु ५०० र अन्य राष्ट्रका पर्यटकबाट प्रति पर्यटक रु एक हजार ५०० पर्यटन शुल्क सङ्कलन गर्दै आएको छ । पर्यटन शुल्कबापत नगरपालिकाले २०७५ सालमा सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु पाँच करोड ७९ लाख ५३ हजार र अन्य राष्ट्रका पर्यटकबाट रु २० करोड ६९ लाख ३५ हजार ५०० गरी कूल रु २६ करोड ४८ लाख ८८ हजार ५०० राजश्व सङ्कलन गरेको छ ।

नगरपालिकाले २०७४ सालमा भने सार्क राष्ट्र तथा चीनका पर्यटकबाट रु चार करोड ६७ लाख ६५ हजार र अन्य राष्ट्रका पर्यटकबाट रु १८ करोड ८२ लाख ४८ हजार ५०० गरी कूल रु २३ करोड ५० लाख १३ हजार ५०० राजश्व सङ्कलन गरेको थियो ।  

भक्तपुर आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनबाट पर्यटक आएका छन् भने त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशका पर्यटक आएको केन्द्रले जानकारी दिएको छ । नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन नगरका १४ स्थानमा काउन्टर स्थापना गरेको छ । भक्तपुर प्रवेश गर्ने पर्यटकसँग उठाउने सेवा शुल्क नै भक्तपुर नगरपालिकाको प्रमुख आयस्रोत हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप