शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाटन अस्पतालको बेडमा बुहारी छट्पाइरहँदा लुटिइन् सासु !

मङ्गलबार, ३१ वैशाख २०७६, १७ : ४६
मङ्गलबार, ३१ वैशाख २०७६

वैशाख २४ गते काठमाडौँको कालीमाटीकी तुलसी श्रेष्ठलाई प्रसुती व्याथाले च्यापो । टंकेश्वर टोलकी तुलसीलाई सासु पदममाया श्रेष्ठले तत्कालै लगनखेलस्थित पाटन अस्पताल पुर्याइन् ।

तुलसी अस्पतालमा त भर्ना भइन् तर चिकित्सकले उनको डेलिभरी २ दिनपछि मात्रै हुने जानकारी दिइ । पदममायाले अस्पताल लगेपनि २ दिनको ग्याप भएपछि कुरुवाको रुपमा बसे उनका भाइ ।

तर जब डेलिभरीको समय आयो चिकित्सकले कुरुवाको लागि महिला चाहिने बताए । त्यसपछि फेरी अस्पताल पुगिन् पदममाया । तर, बुहारी अस्पतालमा छट्पटाइरहँदा मध्यरातमा अस्पताल परिसरबाटै अज्ञात समूहले बेहोस बनाइ गरगहना लुटेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सुत्केरी व्याथाले तुलसी छट्पटाइरहेकी थिइन् । ‘रातीको ११ः३० बजेसम्म बुहारी तुलसीलाई कुरिरहेको थिएँ,’ पदममायाले भनिन्, ‘सँगै अर्को बिरामीको कुरुवा पनि थिए ।’

तुलसीलाई पनि त्यो बेलासम्म नर्सहरुले बेहोस बनाएर सुत्केरी व्याथा लगाउन चेकअप गरिरहेका थिए । तुलसीको हेरचाह नर्सहरुले गरिरहेका थिए ।

नर्सहरुको काउन्टर नजिकै खाली रहेको बेडमा पदममाया बसिरहेकी थिइन् । बेडमा बसिरहेकी पदममायालाई निन्द्राले सताउन थाल्यो । पदममायाले भनिन्, ‘नर्सहरुले मलाई सुत्न भने ।’

नर्सहरुले त्यसो भनेपछि पदममाया त्यहीँ सुतिन् । रातीको करिब १ बजेतिर पदममाया निन्द्राबाट बिउँझिन् । बिउँझेर बेडबाट उठ्न खोज्दा आफू उठ्न नसकेको उनले बताइन् ।

आफ्नो त्यस्तो अवस्था देखेपछि त्यहाँ रहेका अन्य मानिसहरु भने हाँसिरहेको पदममायाले बताइन् । उनले भनिन्, ‘सायद निन्द्रामा उठ्न खोज्दा त्यस्तो अवस्था देखेर उनीहरु हाँसेको हुनुपर्छ ।’

उनले रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘त्यसपछि एकैचोटी बिहान ६ बजे बिउँझेछु । बिउँझदा आँखा पोलेको थियो । ज्यान दुखेको थियो । पछि जर्बजस्ती उठेर हातमुख धुन बाथरुम गएँ ।’

यति बेलासम्म पदममायालाई केही थाहा थिएन । बाथरुमबाट फर्किदैँ गर्दा हातमा लगाएको औंठी नदेखेपछि उनी आश्चर्यमा परिन् । लगत्तै तुलसीको उपचारमा खटिएका नर्सहरुसमक्ष पुगिन् । घटनाबारे जानकारी गराइन् ।

उनले भनिन्, ‘राती सुत्दा दुवै हातमा रहेको औंठी बिहान उठ्दा छैन ।’

प्रसुती गृहको १ तलामाथि निदाएको बेला अज्ञात व्यक्तिले नाकमा क्लोरोफर्म सुघाँएर पदममायाको गहना लुटपाट गरेको बताइएको छ ।

टाउको दुख्ने, रिंगटा लाग्ने, आँखा पोल्ने भएपछि पदममायालाई पाटन अस्पतालमै उपचार गराइयो ।

उनले भनिन्, ‘यति ठूलो अस्पतालमा सीसी क्यामेरा नै छैन् । अस्पतालमा यस्ता घटना धेरै घट्ने भएको कारण सीसी क्यामेरा राख्न आवश्यक छ ।’

केही दिनअघि पनि पाटन अस्पतालमै यस्तो घटना घटेको थियो ।

यता तुलसीले भने वैशाख २७ गते दिउँसो सकुशल रुपमा बच्चालाई जन्म दिइन् ।

यसो भन्छ ललितपुर प्रहरी

उपचारपछि पदममायाले भोलिपल्ट महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी हालिन् ।

ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार मस्त निदाएको बेला अज्ञात व्यक्तिले नाकमा क्लोरोफर्म सुघाँएर पदममायाको सुन लुटपाट गरेको हुनसक्छ ।

अस्पताल प्रशासनसँग पनि घटनाबारे बारम्बार छलफल भइरहेको एसएसपी धानुकले जानकारी दिए । घटना १ बजेभन्दा अघि नै घटेको हुनसक्ने उनले बताए ।

घटनाबारे परिसरमा जाहेरी परेपछि थप आवश्यक अनुसन्धान भइरहेको परिसरका प्रवक्ता डीएसपी नारायण चिमौरियाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप