शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वार्थरहित मित्रता

बिहीबार, ०२ जेठ २०७६, ०७ : २३
बिहीबार, ०२ जेठ २०७६

ययातिका जेठो छोराको नाम यदु थियो । यदुका छोरा नातिहरुलाई यादव भन्नेचलन चल्यो । त्यसै यादव वंशमा वासुदेव कृष्ण जन्मे । कृष्ण आफ्नो समयका विछट्ट शक्तिशाली व्यक्तित्व थिए । वुद्धि शक्ति चलाखी र युद्धकौशल देखेर कतिले उनलाई भगवान् ठान्थे । उनको मित्रता र प्रेमको यत्र तत्र चर्चा थियो । उनले महाभारत युद्धमा सारथी बनेर आफ्ना मित्र अर्जुुनलाई सघाएका थिए । उनकै आत्मीय सल्लाह र सहयोगका कारण युद्धमा पाण्डवपक्षको विजय भएको थियो ।

कृष्ण मथुरामा जन्मे । गोकुलमा हुर्के । बस्न द्वारकामा पुगे । त्यति बेलाको स्थापत्य कलाको उत्कृष्ट नमुना थियो कृष्णको द्वारका शहर । शहरको बीचमा उनको निवास थियो । यादव गणले भरिएको त्यस शहरमा कृष्ण आफ्ना बाबा वसुदेव, आमा देवकी, श्रीमती र छोरा छोरीका साथ बस्थे । कृष्णकोे शान मान शक्ति सम्पत्ति त्यति बेलाका कुनै सम्राट्को भन्दा कम्ती थिएन । बढी नै थियो । युधिष्ठिरजस्ता सम्राट् पनि उनको आज्ञा शिरोपर गर्थेे । यति हुँदा पनि कृष्ण राजा बनेनन् । बन्नै चाहेनन् ।

कृष्णका बाल बेलाका साथीहरुमध्येका एक व्राह्मण साथी थिए सुदामा । गुरुकुलमा सँगै पढेका थिए । उनको घर वृन्दावनपारिको दुर्गम गाउँमा थियो । कृष्ण गोकुलबाट मथुरातिर सरेपछि सुदामा पनि गोकुल छोडेर गाउँतिर लागेका थिए । यसैबीच उनको बिहा भयो । छोराछोरीहरु जन्मे हुर्कंदै गए । चाहेर पनि सुदामाले छोरा छोरीलाई राम्रो गुरुकुलमा राखेर पढाउने आँट गर्न सकेनन् । भर पर्दो पेशा थिएन । परिवारलाई खाना र कपडा जुटाउनै  हम्मे थियो ।

एक दिन एकान्त पारेर श्रीमती बाहुनीचरीले भनिन् , श्रीमान्जी , अव त अति भयो । मैले कति मात्र सहने ? के मात्र सहने ? छोराछोरीलाई राम्रो गुरुकुलमा राखेर पढाउन पनि सकिएन । आबारा मूर्ख बनेर हिँड्ने हुन् कि भन्ने डर भइसक्यो । दुःखले गर्दा तपाइँँ चालीस बर्ष नपुग्दै सत्तरी बर्षे बुढो जस्तो देखिन थाल्नु भएको छ । मेरो पनि कपाल तिलचामले भयो । गालामा चाउरी आयो । कम्मर दुख्न थालिसक्यो । पँधेरामा दौंतरीहरु दाँजिँदै भन्छन् कठैबरा तिमी कति चाँडै बुढी भएकी ? पेटभरि ढीँडो खान पनि पउँदिनौ कि कसो ? हुन पनि हो , खान लाउनको पनि दुःखै छ । दुःखको कुनै किनारा देखिएको छैन । मैले कति भनेँ एक पटक कृष्णलाई भेट्नुस् न । आफ्ना समस्या स्पस्टसँग भन्नुहोस् । कृष्ण त्यस्तोविधि ऐश्वर्यशाली हुनुहुन्छ । वहाँले अलिकति कृपादृष्टि दिनुभयो भने हामी पनि दुःखबाट पार हुन्छौं कि ? म फेरि पनि भन्छु , मेरोे बिन्ती छ एक पटक कृष्ण्लाई भेट्न जानुस्  । त्यत्रो वर्षसम्म सँगै खाएर खेलेर हुर्केको बालसखा । तपाइँलाई बिर्सनु भएको त छैन होला नि ।

कृष्ण मनस्वी साथी हुन् । सन्दीपनी गुरुकोमा सँगै पढेका हौं । कृष्णमाथि मलाई पूरा विश्वास छ । मैले मागेँ भने पूरै द्वारका पनि मलाई दान दिन सक्छन् । एउटै समस्या छ चरी , मलाई माग्न मन लाग्दैन । मगन्ते बनेर म कसरी मागूँ ? मेरा हात खुट्टा छन् । वुद्धि थोरै भए पनि सद्दे  टाउको छ । मैले माग्नु भनेको मेरा यी हात खुट्टा टाउको सवैलाई अपमान गर्नु हो । लाछी हुनु हो । अहिलेसम्म म गरीब छु । लाछी छैन । अव म लाछी पनि बनूँ ?

हैन श्रीमान् जी , त्यसो होइन । आत्मीय साथीसित दुःख बिसाउँदा लाछी भइँदैन । धन सम्पत्ति माग्नुहोस् म भन्दिन । नमाग्नुहोस् । सल्लाह त माग्न सकिन्छ नि । साथीसित सल्लाह माग्दा लाज हुँदैन । म करजोरी विनति गर्छु , मेरो विनति मानेर एक पटक जानुहोस् । नभेटेकै कति वर्ष भयो । एक पटक भेट्न मात्र भने पनि जानुहोस् । आजै जानुहोस् । चरीले जिद्दी गर्दै भनिन् ।

तिमीले धेरै पटक भन्यौ । ठिकै छ । म कृष्णलाई भेट्न जान्छु । भेट्छु । वर्षौंपछि गाउँबाट साथी भेट्न जाँदा रित्तो हात कसरी जाऊँ ? लिएर जाऊँ त के लिएर जाऊँ ? बोटमा मेवा पनि एउटै बाँकी छैन । तिहुँन खाएरै सकियो । सुदामा थप के भन्दै थिए बिचैमा चरीले भनिन्  । आफूसँग जे छ त्यही लाने न हो । अहिले हामीसँग चामल पनि छैन । अलिकति कनिका मात्रै छ । पुरानै भए पनि सुकिलो टालोमा चार मुट्ठी कनिका पोको पारिदिएको छु । यति भन्दै चरीले कनिकाको पोको सुदामाको हातमा राखिदिइन् ।

परिस्थितिले लाचार सुदामा बगलीमा कनिकाको पोको राखेर द्वारका तिर लागे ।

कृष्ण आफ्ना प्रिय मित्र सुदामाका एक एक समस्यासँग परिचित थिए । सुुसूचित थिए । सुदामा द्वारकातिर लागेको थाहा पाउनासाथ कृष्णले आफ्नो एउटा टोली सुदामाग्राम पठाए । टोलीले त्यहाँ पुगेर कुनै हल्ला नगरी एउटा भव्य गुरुकुल निर्माण सुरु ग¥यो । टोली साधनसम्पन्न थियो । चाहेको समयभित्रै गुरुकुल निर्माण सम्पन्न भयो । सहायक गुरुहरु र विद्यार्थीहरु जुटाइए । प्रधानगुरु सुदामा निश्चित गरिनु भयो । प्रधान गुरुकक्षमा सुदामाकी श्रीमती र छोराहरुलाई ससम्मान बस्न बोलाइयो । यति काम पूरा हुन पूरै तीन महीना पनि लागेन । जम्मा ८८ दिनमा यी कामहरु पूरा भए ।

यता सुदामा हिँड्दै विभिन्न गाउँ शहरका गृहस्थकामा बास बस्दै द्वारकातिर अघिबढे । त्यसताका साँझ घर आइपुगेका अतिथिलाई गृहस्थहरु आदरसाथ गाँसबास दिन्थे । त्यसमा पनि कृष्णका सखा सुदामा भनेपछि बेग्लै मानमनितो पनि हुने नै भयो ।

घरबाट हिँडेको पन्ध्रौंैं दिन झम्के साँझमा सुदामा कृष्णनिवास पुगे । कृष्ण अचानक आइपुग्ने अतिथिको स्वागत गर्न सधैं यति बेला घरको आँगनमा निस्कन्थे । सुदामालाई आउँदै देखेर कृष्ण दगुर्दै पर बाटैमै अँगालो मारे । बडो चासो राखेर सन्चोबिसन्चो साधे । मटानमा पुगे पछि कृष्ण आफैले सुदामाको गोडा धोए र उच्च आसनमा बसाए । “तपाइँ आइदिनुभएर आज म धन्य भएँ साथी, मैले कति अगाडिदेखि तपाइँको प्रतीक्षा गरेको थिएँ !” कृष्णले भने ।

सुदामा गदगद भए । उनीसँग जवाफ फर्काउने शव्द थिएन । यसैबीच सुदामा एकाएक झल्याँस्स भए । जुरुक्क उठ्दै गोजोबाट कनिकाको पोको निकाले । लाज मान्दै कृष्णतिर बढाए । कृष्णले के के न पाएजसरी पोको समाते र फुकाएर फकाफक कनिका फाँको मारे । मिठो छ, तिमी पनि खान्छौ ? कृष्णले नजिकै उभिएका बालक सात्यकीलाई साधे । कृष्णकी रानी रुक्मिणी जिल्ल परेर यो अभूतपूर्व दृश्य हेरिरहेकी थिइन् ।

माया ममता श्रद्धा र सम्मानसहितको सुुखमय वातावरणमा साथी कृष्णसँग विभिन्न ज्ञानगुनका कुरा गरेर बस्दा दुई महिनाभन्दा बढी समय बितेछ । सुदामालाई पत्तै भएन । एक दिन रामायणको चर्चा चलेको थियो । कुरैकुरामा सवरीको कुरा उठ्यो । जङ्गलवासी दुःखी शवरीको चित्रणले सुदामालाई झल्याँस्स बनायो । उनले आफ्नो घरपरिवार सम्झे ।

“म यहाँ बसेको मात्र पनि सत्तरी दिन बितिसकेछ ल ! यत्रो दिन बितेको मैले पत्तै पाइनँ !! कृष्ण, अव मलाई बिदा दिनुहोस् । म गाउँ जान्छु ।” सुदामाले भने ।

“किन र ? अलि दिन अरु बसौं न । तपाइँसँग बस्न पाएर म त दङ्गै छु !” 

“यसरी बसिरहने हो भने मलाई त बर्षौं बितेको थाहा हुदैन । गाउँमा मेरो सानो गृहस्थी छ । दायित्वहरु छन् ।” सुदामाले विनयपूर्ण लवजमा आफ्नो समस्या बिसाए ।

कृष्णले मुसुक्क हाँसेर एउटा श्लोक भने,—

‘प्रेम सत्यं तयोरेव ययोर्योगवियोगयोः

वत्सरा वासरीयन्ते, वत्सरीयन्ति वासराः ।’

“त्यो त हो रहेछ मित्र,” भन्दै सुदामा पनि हाँसे ।

“अव भोलि बिहान सवेरै चारगाँस भोजन गरेर निस्कनुहोस् न त ?” कृष्णले अनुरोधको लवजमा भने, “घरमा भाउजु र छोराछोरी पनि नियाश्रिनुभयो होला । शहरमाभन्दा गाउँमा दिन लामो हुन्छ ।”

बिहान हुँदा कृष्णका भान्छामा भोजन तयार भयो ।  स्नानसन्ध्या सकेर सुदामा पनि भान्सामा उक्ले । बडो श्रद्धासाथ रुक्मिणीले खाना पस्किन् । त्यत्तिकै श्रद्धा प्रेम र आदरका साथ कृष्णभवनबाट सुदामालाई  बिदा गरियो । कृष्णले आफ्नै रथमा राखेर प्रिय मित्रलाई आधा बाटोभन्दा पनि परसम्म पु¥याइदिए । नदीकिनारसम्म त वसुदेव, अक्रूर उद्धव लगायत सैयौं द्वारकावासी जनहरु पनि गएका थिए ।

कृष्णसँग बिदा भएर बाटो लागेपछि सुदामाका मनमा कुरा खेल्न थाले । ‘म माग्न गएको थिएँ । माग्ने वातावरण नै भेटिन । त्यत्रो प्रेम श्रद्धा र आदरका माहौलमा म कसरी मगन्ते बन्ने ? कृष्णले मलाई आत्मीयता र समानताको व्यवहार गर्नुभयो । दान दिएर अपमानित गर्न चाहनु भएन । मेरो स्वाभिमानको ख्याल गरेर नै कृष्णले मलाई केही नदिनुभएको हो । कृष्णबाट स्नेह, आदर र समानताको व्यवहार पाउनु नै मेरो लागि अत्यन्त ठुलो कुरा हो । बरु घरमा बुढियालाई के भनुँ ?’ सुदामा यस्तै तर्क वितर्क खेलाउँदै हिँडे । हिँडिरहे । भोक प्यासको पनि ख्याल रहेन ।

गाउँबाहिर गणेशथाननिर पुगेका थिए । श्रीमती र छोराछोरीहरु भेटिए । आउँदैछ भन्ने थाहा पाएर लिन आएका रहेछन् । सबै सुकिलामुकिला र हाँसीखुसी थिए । सुदामालाई अचम्म लाग्यो ।

“अचम्म नमान्नुहोसु । हजुर घरबाट निस्कनुभएकै दिन बेलुका यहाँ एउटा विद्याव्यसनी टोली आइपुग्यो । तिनीहरुले रातोदिनखटेर तपाइँका नाममा एक गुरुकुल निर्माण गरे । विद्यार्थी जुटाए । सहायक गुरुहरु जुटाए । खाने, बस्ने सवै आवश्यक प्रबन्ध मिलाए । हाम्रा लागि विशेष कक्षहरु बनाएर हामीलाई अनुरोध गरे । हिजोबाट हामी गुरुकुलमै बस्छौं । बडो भव्य छ गुरुकुल । सहायक गुरुहरु र विद्यार्थीहरु बडो व्यग्रताका साथ तपाइँको प्रतीक्षामा छन् !” चरीले भनिन् ।

सुदामा छक्क पर्दै आफ्नी पत्नीतिर हेर्दैथिए, गुरुकुलको ढोका आइपुग्यो । ढोकामा पूर्णकलशकासाथ सहायक गुरुवर्ग र विद्यार्थीगण आफ्ना कुलपति गुरु सुदामाको हार्दिक स्वागत गर्न श्रद्धापूर्वक हात जोडेर उभिएका थिए ।

सुदामाले कृतज्ञ बन्दै हात जोडेर गुरुकुल प्रवेश गरे । यो सवै प्रिय मित्र कृष्णकै चमत्कार हो भनी बुझ्न सुदामालाई समय लागेन ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप