शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कार्यालयमा एक्सन रुम:

राष्ट्रिय गौरवका आयोजनाको काम प्रमले लाइभ हेर्ने, मुख्यमन्त्रीसँग सीधा सम्पर्क

बिहीबार, ०२ जेठ २०७६, १० : ४९
बिहीबार, ०२ जेठ २०७६

अबको झन्डै १ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले ११ वटा राष्ट्रिय गौरवका आयोजनाको काम आफ्नै कार्यालयमा बसेर लाइभ हेर्नेछन् । त्यति मात्रै हैन कुनै विषयमा उनले ७ प्रदेशका मुख्यमन्त्रीसँग पनि एकै पटक प्रत्यक्ष छलफल गर्नेछन् ।

भिडियो कन्फर्मेसन पद्धतिबाट देशको मुख्य आयोजनाको कामको अवलोकन गर्न र प्रदेशका मुख्यमन्त्रीसँग समन्वय गर्न प्रधानमन्त्री कार्यालयमा अहिले धमाधम एक्सन रुम बनाउने काम भइरहेको छ । प्रधानमन्त्री कार्यालयको भुइँतलामा रहने सो संयन्त्रका लागि आवश्यक प्रविधि झिकाउने काम भइरहेको छ ।

एक्सन रुम निर्माणको काम अन्तिम चरणमा पुगेको र जेठको अन्तिम साताबाट सञ्चालनमा आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले रातोपाटीलाई जानकारी दिए । झन्डै साढे ४ करोड लागतमा निर्माण गर्ने ठेक्का पाएको कम्पनी शास्त्र नेटवर्क सोलुसन्स इङ्क प्रालीले धमाधम काम गरिरहेको छ ।

राष्ट्रिय गौरवका आयोजना स्थलमा क्यामेरा जडान हुने

एक्सन रुम निर्माण भइसकेपछि प्रधानमन्त्रीले विशेषगरी राष्ट्रिय गौरवका आयोजनाहरूको प्रत्यक्ष अवलोकन गरेर समस्या पहिल्याउने र आवश्यक निर्देशन दिनेछन् । यसका लागि प्रधानमन्त्री कार्यालयमा रहेको सूचना प्रविधि शाखाले ११ वटा राष्ट्रिय गौरवका आयोजनास्थल पुगेर क्यामेरा जडानका लागि प्रारम्भिक अध्ययनसमेत गरेको छ । सुरुमा एउटा आयोजना स्थलमा ६ वटा क्यामेरा राख्ने तयारी गरिएको छ । सो क्यामेराबाट प्राप्त लाइभ दृश्यबाट प्रधानमन्त्रीले आयोजनाको कामको प्रगति हेर्नेछन् र कामको गति बढाउन निर्देशन दिनेछन् ।

मुख्यमन्त्रीसँग सीधा सम्पर्क

प्रधानमन्त्रीको कार्यालयले ७ वटै प्रदेशमा एउटा टेबल, ३ वटा कुर्सी र एउटा ५५ इन्चको मोनिटरसहितको भिडियो संवाद कक्ष पनि बनाइरहेको छ । प्रधानमन्त्रीले कुनै विषयवस्तु वा मुद्दामा ७ वटै मुख्य मन्त्री वा चाहेको मुख्यमन्त्रीसँग प्रत्यक्ष कुराकानी गर्नेछन् । प्रधानमन्त्री कार्यालयको एक्सन रुममा तीनवटा मोनिटरमा सातवटै प्रदेशका मुख्यमन्त्री एकसाथ देखिनेछन् र प्रधानमन्त्रीसँग सीधा संवाद हुने व्यवस्था मिलाइँदैछ ।

प्रतिकात्मक तस्विर

यस्तै प्रदेशका मुख्य मन्त्रीहरुबीच मात्रै पनि भिडियो स्ट्रिमिङबाट कुरा गर्ने व्यवस्था मिलाइन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तो हुनेछ एक्सन रुम 

वार रुम नाम दिएकोमा लाइभ भिडियो स्ट्रिमिङ कक्षलाई अहिले एक्सन रुम नाम दिइएको छ । यो कक्षमा कन्ट्रोल युनिटसहित ३ वटा ठूला स्क्रिन हुनेछ । मुख्यमन्त्रीको कार्यालयमा ५५ इन्चको एउटा मोनिटर राखिए पनि यो कक्षमा ७० इन्चका ३ वटा मोनिटर जोडेर राखिनेछ । साथै एउटा ६५ इन्चको छुट्टै मोनिटरको पनि व्यवस्था हुनेछ । भिडियो लाइभ स्ट्रिमिङका लागि प्रधानमन्त्री कार्यालयमा इन्टरनेटको सर्भर रहने व्यवस्था गरिएको छ ।

विभिन्न देशमा यस प्रकारको अभ्यास गरिए पनि सरकारी कामको सहजताका लागि नेपालमा पनि यस्तो अभ्यासको थालनी हुन लागेको हो । खासगरी ठूला संस्थाहरुले धेरै ठाउँमा छरिएर काम गरिरहेका आफ्ना कर्मचारीसँग सूचना जानकारी आदानप्रदान गर्न र कामको समन्वय गर्न यस किसिमको भिडियो कन्फ्रेसन कक्षको प्रयोग गर्ने चलन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप