बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

च्याम्पियन्स लिगमा प्रतिबन्ध ? : म्यान्चेस्टर सिटीको भाग्यको फैसला हुँदै

बिहीबार, ०२ जेठ २०७६, ११ : ५४
बिहीबार, ०२ जेठ २०७६

इंग्लिस प्रियिमर लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई च्याम्पियन्स लिगबाट प्रतिबन्ध गर्ने वा नगर्नेबारे युरोपिन फुटबलको नियामक निकायका अनुसन्धानकर्ताहरु बीच बिहीबार छलफल हुँदैछ ।

न्युयोर्क टाइम्सले सोमबार एक रिपोर्ट प्रकाशित गर्दै अनुचित आर्थिक अभ्यास गरेको आरोपमा सिटी युरोपको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताबाट प्रतिबन्धित हुनसक्ने बताएका हुन् ।

युइएफएको क्लब फाइनान्सियल कन्ट्रोल बडी इन्भेस्टिगेटरी च्याम्बरका सदस्य पेट्रोस माभ्रोइडिसले सिएनएन स्पोर्टसँग कुरा गर्दै रिपोर्टमा निकै आश्चर्यजनक सूचना प्राप्त भएको बताए ।

न्युयोर्क टाइम्सले आफ्नो समाचारमा अनुसन्धानकर्ताहरुले सिटीलाई एक सिजनका लागि प्रतिबन्ध गर्ने सुझाव दिन सक्ने बताएको थियो ।

आफूबिरुद्ध फैसला आए सिटीले स्विटजरल्याण्डमा रहेको कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) मा अपिल गर्न पाउनेछ ।

युइएफएले आधिकारिक रुपमा यस विषयमा कुनै प्रतिक्रिया दिन मानेको छैन ।

यता, सिटीले भने आफूले कुनै आनुचित आर्थिक अभ्यास नगरेको पटक–पटक दोहोराउँदै युइएफएको अनुसन्धानको स्वागत गरेको थियो ।

डेर स्पेइगेलले सिटीले फाइनान्सियल फेयर प्ले (एफएफपी) तोडेको गोप्य दस्तावेज सार्वजनिक गरेपछि सिटीमाथि अनुसन्धान शुरु गरिएको थियो ।

एफएफपीले फुटबल क्लबलाई ठूलो ऋणमा पर्नबाट जोगाउँछ भने धनी क्लबहरुलाई अन्य क्लबहरुभन्दा अनुचित लाभ लिनबाट रोक्दछ ।

इन्डिपेन्डेन्ट फुटबल लिकले प्राप्त गरेको दस्तावेजलाई आधार मान्दै जर्मन पत्रिका डेर स्पेइगेलले सिटीमाथि धेरै खर्चका गर्नका लागि स्पोन्सरको रकम बढाइचढाई गरेको आरोप लगाएको थियो ।

हाल युएईका शेख मन्सुर बिन जायेदको अबुधावी युनाइटेड ग्रुप नामक इन्भेस्टमेन्ट कम्पनीसँग सिटीको स्वामित्व रहेको छ ।

युइएको राष्ट्रिय ध्वजाबाहक इतिहाद एयरवेजले क्लबको सर्ट स्पोन्सर रहेको छ भने स्टेडियमको नामको अधिकार पनि उसैसँग रहेको छ ।

यसअघि सन् २०१४ मा पनि सिटीले एफएफपी तोडेको आरोपमा कारवाही भोगेको थियो । सिटीले ६.७ करोड डलर जरिवाना तिरेको थियो भने क्लबमाथि नयाँ खेलाडी किन्नेमा प्रतिबन्ध लगाउनुका साथै च्याम्पियन्स लिगको क्लबको टोली संख्या घटाइएको थियो ।

सन् २०१५ मा चाइना मिडिया ग्रुपले क्लबको १३ प्रतिशत सेयर खरिद गरेको थियो । योसँगै सिटीको मूल्य ४ सय करोड डलर पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप