बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एसिड प्रकरण : जेनीलाई झुक्याएर बिहे, सँगै बस्न नमानेपछि एसिड प्रहार

सुन पसलबाट किनेको एसिड रक्सीको बोतलमा ‘सप्लाई’
बिहीबार, ०२ जेठ २०७६, १२ : ३६
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं–बुधबार साँझ ८ बजेतिर कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । एसिडले जेनीको शरीरको विभिन्न भागहरु जलेको प्रहरीले जनाएको छ । 

जेनीलाई एसिड हानेको अभियोगमा प्रहरीले घटनाको दुई घण्टामै २७ वर्षीय विष्णु भुजेल उर्फ विकास पक्राउ परे ।  प्रहरी अनुसन्धानका क्रममा उनी जेनीकै श्रीमान भएको खुल्न आयो ।  महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भुजेललाई काँडाघारी सनसिटी अपार्टमेन्ट नजिकैबाट पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अपार्टमेन्ट नजिकैको एक भट्टी पसलमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए । श्रीमतीलाई कालोपुलमा एसिड प्रहारपछि उनी सो भट्टीमा मदिरा सेवन गर्न पुगेका थिए । 

जेनीलाई गरेका थिए झुक्याएर बिहे
प्रहरीका अनुसार भुजेलले विभिन्न प्रलोभन देखाउँदै जेनीलाई १० कक्षामा पढ्दापढ्दै गर्दा ६ वर्षअघि भगाएका थिए । त्यतिबेला जेनी १४ वर्षकी थिइन् ।

बिहे भएको ३ वर्षपछि उनीहरुले एक सन्तानलाई जन्म दिए (छोरा) । उनीहरुको ३ वर्षका छोरा छन् । प्रहरीका अनुसार भुजेलको जेठी श्रीमती पनि रहेको जेनीले पछिमात्रै थाहा पाएकी थिइन् । सोही थाहा पाएपछि उनीहरुबीच असमझदारी बढ्न थालेको र पछिल्लो समय उनीहरु छुट्टाछुट्टै बस्दै आएका थिए । भुजेल काभ्रेमै बस्थे भने  जेनी कालोपुलमा बुबाआमासँग बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार बेला–बेला भुजेलले जेनीलाई आफूसँग बस्न आग्रह गरेपनि जेनीले नमानेपछि कुनै पनि बेला मारिदिने धम्की दिने गर्थे । विकासले प्रहरी समक्ष श्रीमती आफूसँग बस्न नमानेपछि एसिड हानेको स्वीकारेका छन् ।

‘विष्णुले जेनीलाई धेरैपटक सँगै बस्न बोलाउने गरेपनि जेनीले दोस्री श्रीमती भएको भन्दै माइतमा नै बसेकाले दुई बीचमा विवाद सुरु भएको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी बोगटीले रातोपाटीसँग भने । विष्णुले जेनीलाई एसिड प्रहार गर्दा जेनीकी ९ वर्षकी बहिनी पनि साथैमै रहेको एक प्रत्यक्षदर्शीले बताए । यद्यपि जेनीकी बहिनीलाई भने एसिड लागेको छैन । भुजेलकाे पहिलाे श्रीमती हाल वैदेशिक राेजगारीकाे क्रममा खाडीमुलूकमा रहेकाे बताइएकाे छ ।

सुन पसलबाट किनेका थिए एसिड
काभ्रेको बनेपास्थित मिथुन शाक्य मोटर ग्यारेजमा काम गर्थे, भुजेल ।

पहिलेदेखि एसिड हान्ने योजना बनाएका भुजेलले प्रहरीसमक्ष एसिड बनेपास्थित एक सुन पसलबाट किनेको बताएका छन् । उनले एसिड किनेको हो वा चिनजानका आधारमा ल्याए भन्ने खुलिसकेको छैन । 

भुजेल सुन पसलबाट खरिद गरेको एसिड रम ब्राण्डको मदिराको बोतलमा राखी ज्याकेटको खल्तीमा लुकाएर श्रीमतीलाई छ्याप्न कालोपुल पुगेका थिए । त्यहाँ पुगेका उनले भेट्ने बहानामा जेनीलाई बोलाएर एसिड छ्यापी फरार भएका थिए । 

जेनीको अवस्था चिन्ताजनक
एसिड हानेलगत्तै भुईंमा ढलेकी जेनीलाई २० मिनटमै चाबहिलस्थित ओम अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचार भएपछि उनलाई कीर्तिपुरस्थित फेक्ट अस्पताल रिफर गरियो ।

हाल उनको कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको छ । परिसरका प्रवक्ता डीएसपी बोगटीका अनुसार जेनीको अहिले अप्रेशन हुँदैछ । जेनीको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।  यसैबीच आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या भएको जेनीको परिवारले जनाएको छ । 

यसअघि २०७१ फागुन १० गते काठमाडौको बसन्तपुरमा एसएलसी परीक्षाको तयारीको शिलशिलामा ट्युशन पढ्न गएको समयमा किशोरीहरु संगीता मगर र सीमा बस्नेतमाथि एसिड प्रहार भएको थियो । 
 जुन घटनामा संलग्न जीवन बिकलाई प्रहरीले महिनौपछि पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप