शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालोपुल एसिड प्रकरण : जेनीको आमाले भेटिन् नाती तर...

बाबुआमाको झगडामा विजेस अलपत्र, ‘पुतली घर’ पठाइँदै
बिहीबार, ०२ जेठ २०७६, १९ : १४
बिहीबार, ०२ जेठ २०७६

बिहीबार साँझ महानगरीय प्रहरी वृत्त, कमलपोखरी परिसरमा एक अबोध नाबालक यताउता गरिरहेर खेलिरहेका थिए । कहिले कार्यालय प्रमुखको कार्यकक्षमा पुग्ने त कहिले क्यान्टिनमा ।

ती नाबालकको गतिविधि नियाल्दै कमलपोखरी वृत्तमा कार्यरत केही प्रहरी अधिकारीहरु भने कानेखुसी गर्दै थिए । ती नाबालक न कसैले बोलेको राम्रोसँग बुझ्थे न आफू नै राम्रोसँग बोल्न सक्थे । 

ती नाबालक थिए विजेस भुजेल । काभ्रे घर भएका विष्णु भुजेल उर्फ विकास र दोलखा घर भएकी जेनी खड्काको सन्तान हुन् विजेस । ३ वर्षअघि उनीहरुले सन्तानको रुपमा विजेसलाई जन्म दिएका थिए । 

भुजेलले विभिन्न प्रलोभन देखाउँदै जेनीलाई १० कक्षामा पढ्दापढ्दै ६ वर्षअघि भगाएका थिए । त्यतिबेला जेनी १४ वर्षकी थिइन् । 

तर, बुधबार साँझ ८ बजेतिर कालोपुलमा २० वर्षीया जेनीमाथि भुजेलले एसिड प्रहार गरे । जेनी आफूसँगै बस्न नमानेको भन्दै एसिड हानेको भुजेलले प्रहरीसमक्ष बयान दिइसकेका छन् । 

भुजेलले श्रीमती जेनीलाई एसिड हानेपछि उनै नाबालक विजेस अलपत्र परेर प्रहरी चौकीमा भेटिएका हुन् । 

यतिबेला बाबु भुजेल प्रहरी हिरासतमा छन् भने आमा जेनी उपचाररत अवस्थामा कीर्तिपुरस्थित फेक्ट अस्पतालको बेडमा छट्पट्याइरहेकी छन् । एसिडले जेनीको शरीरको विभिन्न भागहरु जलेको छ ।

विजेसलाई ‘पुतली घरमा’ पठाइने तयारी
अलपत्र परेका विजेसलाई सिएनएन हिरो र सुपर हिरो पुष्पा बस्नेतको ‘पुतली घरमा’ पठाइने तयारी भइरहेको छ । 

यस विषयमा वृत्तका प्रमुख डीएसपी रवीन्द्रनाथ पौडेलले भने, ‘अलपत्र परेका बालबालिकालाई पुष्पा बस्नेतको ‘पुतली घर’ ले संरक्षण दिइरहेको हुँदा विजेसलाई पनि पुष्पालाई नै जिम्मा लगाउने तयारी भइरहेको छ ।’

पुतली घरमा कसुरदार बाबु आमासँग जेलमा परेका निर्दोष बालबालिकालाई बाहिर ल्याएर पढाईलेखाई सक्षम नागरिक बनाउने काम गरिन्छ । 

पुष्पाले आफ्नो जीवन नै यस्तै नानीबाबुहरुको पढाइमा अर्पित गरेकी छन् । 

हजुरआमाले पहिलोपटक वृत्तमा विजेसलाई भेटेपछि...
बाबु भुजेलसँग बस्दै आएका विजेस (नाती) लाई उनकी हजुरआमाले पहिलोपटक आज महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा भेटिन् । 

यसअघि कहिले पनि नभेटेकी विजेसलाई बाबु भुजेलले जसोतसो पाल्दै आइरहेको बताइएको छ ।

नाबालक विजेसलाई हजुरआमाले भेटेपनि लिएर जान नमानेको बताइएको छ । घर लगेर स्याहारसुसार गर्नुको सट्टा हजुरआमाले बरु ‘पुतली घर’ पठाउनमा सहमति जनाएको बताइएको छ । 

यता भुजेलको पनि घरमा एक्लो बुबा मात्र छन् ।

यस्तो थियो घटना
प्रहरीका अनुसार भुजेलको जेठी श्रीमती पनि रहेको जेनीले पछिमात्रै थाहा पाएकी थिइन् । भुजेलको पहिलो श्रीमती हाल वैदेशिक रोजगारीको क्रममा खाडीमुलूकमा रहेको बताइएको छ ।

सोही थाहा पाएपछि उनीहरुबीच असमझदारी बढ्न थालेको र पछिल्लो समय उनीहरु छुट्टाछुट्टै बस्दै आएका थिए । भुजेल काभ्रेमै बस्थे भने जेनी कालोपुलमा बुबाआमासँग बस्दै आएकी थिइन् ।

अलग–अलग बस्न थालेपछि आमा जेनीले छोरा विजेसलाई राख्न नमानेको भुजेलले प्रहरी समक्ष बताएको प्रहरीले जनाएको छ । 

‘विष्णुले जेनीलाई धेरैपटक सँगै बस्न बोलाउने गरेपनि जेनीले दोस्री श्रीमती भएको भन्दै माइतमा नै बसेकाले दुई बीचमा विवाद सुरु भएको अनुसन्धानबाट खुलेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले रातोपाटीसँग भने । 

प्रहरीका अनुसार बेला–बेला भुजेलले जेनीलाई आफूसँग बस्न आग्रह गरेपनि जेनीले नमानेपछि कुनै पनि बेला मारिदिने धम्की दिने गर्थे । भुजेलले प्रहरी समक्ष श्रीमती आफूसँग बस्न नमानेपछि एसिड हानेको स्वीकार गरिसकेका छन् । 

यो पनि...

एसिड प्रकरण : जेनीलाई झुक्याएर बिहे, सँगै बस्न नमानेपछि एसिड प्रहार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप