बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विकास समितिको टोली पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको पुल हेर्न पुग्दा जे देखियो (फोटो/भिडियो)

बिहीबार, ०२ जेठ २०७६, १९ : ३३
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं– शुक्रबार साढे ३ बजे संसदको विकास तथा प्रविधी समितिका सांसदहरु गाडिबाट तिनकुने पुलछेउ ओर्लिए । ओर्लिने बित्तिकै उनीहरुले बनाउँदा बनाउँदै अलपत्र अवस्थामा छाडिएको पुलको छेउमा उभिएर सो पुलका निर्माण व्यवसायी पप्पु कन्स्ट्रक्सनका मालिक सुनित रौनियार, उनका बुवा निलम्बित सांसद हरिनारायण रौनियार र काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्याल लगायतसँग पुल अलपत्र पारिएकोमा स्पष्टीकरण लिए । 

२०७१ साल पुस ४ गते सम्झौता गरेको र ७३ साल मंसिर १९ गते डिजाइन स्वीकृत गरिएको सो पुलको निर्माण ९ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।  डिजाइन तथा निर्माण गर्ने दुबै ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले २०७५ असार ५ गते आयोजनाको काम सम्पन्न गरिसक्नुपर्ने थियो । 

हाल कायम रहेको तिनकुनेको बागमति पुलको दायाँ–बाँया गरेर कूल ३० करोड ८५ लाख बजेटमध्ये २१ करोड ३३ हजार रुपैयाँको सम्झौता भएको थियो ।  निर्धारित समयमा काम नसकेपछि ७७ सालको असारसम्म म्याद थपका लागि सिफारिस गरेको पठाएको काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले बताए ।  

गल्तीमाथि गल्ती गरेर निर्माण 

तिनकुनेको बागमती पुलको एकातर्फ दुईवटा फाउन्डेसन निर्माणको काम पूरा भएको छ भने पुलको अर्को भागमा भने एउटा फाउन्डेसन तयार भएको छ ।  जाँचका क्रममा पुलमा २९ दशमलव ५ मिटरको १६ वटा पाइल मध्ये दुईवटा पाइल भाँचिएको देखिएपछि सडक विभागले काम रोक्न निर्देशन दिएको थियो । अहिलेसम्म आयोजनाले पप्पु कन्सट्रक्सनालाई ६ करोड ६२ लाख ३५ हजार ९ सय ४१ रुपैया भूक्तानी गरेको छ । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जाँच गर्दा ४ वटा पाइलमा समस्या आएपछि काम रोकिएको थियो । एउटा पाइल काम नलाग्ने भएको थियो । त्यसका लागि अर्को पाइल थप्न भनिएको थियो । त्यसको सुधारको रुपमा अर्को पाइल थप गरेर १६ वटा पाइललाई जोड्न गरिने पद्धती क्याप गर्नुपर्ने हुन्छ । सडक आयोजनाले क्यापपछि गर्ने भनेपनि पप्पु कन्स्ट्रक्सनले पाइल थप नगरी क्याप गर्ने काम ग¥यो । काम बिग्रिसकेपछि त्यसको समाधानका लागि अन्तरिम डिजाइन पेस गरेको अर्यालले बताए । 

पुलको स्थलगत अवलोकनका क्रममा पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझीले आफूले सक्ने डिजाइन किन निर्माण व्यवसायीलाई दिएको ? भन्दै सडक विस्तार आयोजनाका प्रमुखसँग आक्रोस पोखे । उनले भने– ‘निर्माण व्यवसायीले पनि सो बाहानामा देशैभर काममा ढिलासुस्ती ग¥यो । यसमा सडक बिस्तार आयोजना र पप्पु कन्स्ट्रक्सन दुबैको गल्ती देखियो ।’

सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले नेपालमा नयाँ खालको पुल ल्याएकोले ठेकेदार कम्पनीलाई डिजाइनको काम दिनुपरेको बताएपछि सांसद रायमाझीले तपाईहरुले किन गाइड गर्न नसकेको भन्दै प्रश्न गरे । 

सांसद रायमाझीले काम अल्झाइरहने बजेट बढाइरहने गर्ने भन्दा पनि समस्या समाधानका लागि सडक विभाग र निर्माण व्यवसायी लाग्नुपर्ने बताए । उनले भने– ‘यस्तै गरेर काममा ढिलाई गरिरहने हो ? निष्कर्ष निकाल्नुपर्यो । जनताले राज्यले केही बुझ्दैन, रिजल्ट छिटो चाहियो । यसमा के के समस्या हो तपाईहरुले हल गर्नुप¥यो नी । हल गर्न नसक्ने हो भने जिम्मेवारी लिनुपर्यो नि । 

अर्का सांसद गणेश पहाडीले भने–‘नेपालमा नयाँ टेक्नोलोजी ल्याउनुपर्छ । तर हामी पहिला डिपिआर बनाएर पुल निर्माणको काममा जान्थ्यौँ, तर डिजाइन सहितको निर्माणमा जाँदा राम्रो भएपनि निर्माणमा समस्या छ भनेर सडक विस्तार आयोजना र कन्सल्ट्यान्सले भन्दा भन्दै पनि त्यो भन्दा माथिको भाग पनि बनाउँन थालेपछि त्यसको जिम्मा कसले लिन्छ ?  

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले १९ महिना काम ठप्प हँुदाकोे जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न गरिन् । उनले भनिन्– ‘६ महिनामा पनि काम सकिन्छ भन्ने त बिजुली बजारको पुलले पनि देखाइरहेको छ । यहाँ केही न केही गढबढी त छ नी ।’ 

उनले सरकारी पक्ष र निर्माण व्यवसायी दुबैको कमजोरी रहेको बताउँदै कसले कमजोरी रहेको भनेर समितिले छानविन गर्ने बताइन् ।  यता पप्पु कन्स्ट्रक्सनले भने पुल निर्माणका लागि सडक विभागले विद्युतका पोलहरु, खानेपानी लाइन र ढल लाइन सार्न ८ महिनासम्म ढिलाई गरेको, बागमती खोलाको बायाँतर्फ पुल बनाउन महानगरीय प्रहरी वृत्तको पर्खाल समेत भत्काउनुपर्नेमा सो पनि काम नगरिदिएको जस्ता कामले ढिलाई भएको दावी गरेको छ । 

भिडियो हेर्नहोस्ः


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप