बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालबाट जापानमा कामदार लैजाने अनिश्चित

शनिबार, ०४ जेठ २०७६, ०८ : ००
शनिबार, ०४ जेठ २०७६

काठमाडौं - आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ । नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति जुट्न नसक्दा जापान रोजगार अनिश्चित भएको हो ।

स्रोतका अनुसार सन् २०१९ भित्र कामदार जापान जान नपाउने निश्चितजस्तै भएको छ । कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषय टुंग्याउन नसक्दा अझै ६ महिनाभन्दा अघि कामदार जापान जान सक्ने अवस्था न्यून छ । जापानले कुन संयन्त्रबाट कामदार लिने भन्ने विषयमा स्पष्ट खाका बनाउन सकेको छैन । संयन्त्रबारे जापान स्पष्ट हुन नसक्दा जापान रोजगारीमा अन्योलता छाएको हो ।

जापानले सन् २०१९ अप्रिलदेखि विदेशी कामदार लिने नीति अबलम्बन गरेको थियो तर पछिल्लो समय विदेशी कामदार कुन संयन्त्रबाट भित्र्याउने भन्ने टुंग्याउन सकेको छैन । जापानले परीक्षणको रूपमा फिलिपिन्स र भियतनामबाट कामदार भित्र्याउन थालेको छ । भियतनाम र फिलिपिन्सको परीक्षण सफल भएपछि मात्र अन्य देशबाट कामदार लैजाने जापानको पछिल्लो रणनीति छ ।

नेपाल र जापानबीच गत चैत ११ गते श्रमिक आपूर्तिसम्बन्धी समझदारी भएको थियो । समझदारीपश्चात दुई देश सम्मिलित उच्च प्राविधिक टोलीबीच बैठकसमेत बस्न सकेको छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जापान रोजगारसम्बन्धी थप प्रक्रिया अघि नबढेको बताए । जापानबाटै भाषा र सीपको परीक्षण हुने भनिए पनि नटुंगिएकाले केही समय ढिलाइ भएको उनको बुझाइ छ । ‘जापान रोजगारी ईपीएसजस्तै मोडेलमा अघि बढ्छ’, उनले भने, ‘उताबाट टुंगेपछि वैदेशिक रोजगार विभागमा जापान युनिट स्थापना हुन्छ ।’ याे समाचार तुलसी सुवेदीले अन्नपूर्णमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप