शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के अमेरिका र इरान युद्धतर्फ अघि बढिरहेका छन् ?

शनिबार, ०४ जेठ २०७६, १३ : ०७
शनिबार, ०४ जेठ २०७६

बीबीसी । पछिल्लो समय इरान र अमेरिकाबीचको तनाव निकै जोखिमपूर्ण बिन्दूमा आइपुगेको छ । 

पछिल्ला कदमलाई हेर्दा दुई राष्ट्र युद्धको मुखमा आइपुगेकोजस्तो देखिन्छ । केहीले दुई राष्ट्रले भित्रभित्रै युद्धको तयारी गरिरहेको आशंका व्यक्त गरेका छन् । 

इरान र अमेरिकाबीचको विवादलाई लिएर प्रमुख दुई दृष्टिकोण बाहिर आएका छन् । 

दृष्टिकोण एकः इरानको गल्तीले समस्या आयो  
पहिलो दृष्टिकोण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका सथर्मकहरुको हो । तिनमा हालको समस्या आउनु इरानको गल्ती छ भन्ने परेको छ ।  

अमेरिकाको मध्यपूर्वमा रहेका आधारमाथि आक्रमण हुने सम्भावनाबीच अमेरिका अघि बढेको तिनको भनाई छ । इरानबाट अमेरिकी आधार खतरामा परेको बारे एकदमै कम जानकारी मात्र बाहिर आएको छ । 
हालै अमेरिकाले मध्यपूर्वमा अतिरिक्त सेना र युद्ध सामाग्री तैनाथ गरेको छ । साथै इरानको छिमेकी देश इराकबाट अत्यावश्यक बाहेकका अमेरिकी कर्मचारी फिर्ता बोलाइएको छ । युद्धको योजनामा विचारमन्थन भइरहेको खबर पनि आएका छन् ।  

अमेरिकाले यी कदमबाट इरानलाई प्रष्ट संकेत दिन खोजेको छ, यदी मध्य–पूर्वको अमेरिकी आधारमा कुनै प्रकारको पनि आक्रमण भयो भने त्यसको कडा जवाफ दिइनेछ । 

दृष्टिकोण दुईः अमेरिकाले संकट चुल्यायो
अर्को दृष्टिकोण अनुसार यो पूरै संकटको लागि अमेरिकालाई जिम्मेबार बताउँछ । 

स्पष्ट रुपमा इरानमा यो सोचाई छ । तर अमेरिका भित्र पनि ट्रम्प प्रशासनको उग्रताका आलोचकले यही विचार व्यक्त गरिरहेका छन् । 

त्यति मात्र होइन, अमेरिकाका मित्रशक्ति मानिने कयैन प्रमुख युरोपेली राष्ट्रले पनि यस्तै चिन्ता व्यक्त गरेका छन् । 

यस दृष्टिकोणका अनुसार ट्रम्प प्रशासनमा हाल इरानमाथि आक्रमक व्यवहार गरिनुपर्छ भन्ने व्यक्ति हाबी भएका छन् । 

त्यस्तो विचार राख्ने प्रमुख व्यक्तिमा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र विदेश मन्त्री माइक पोम्पेओलाई मानिन्छ । 

यी दृष्टिकोण राख्नेले अमेरिकी प्रशासनका गरमपन्थीहरुले जुनै हालतमा इरानको इस्लामिक सत्ता परिवर्तन गर्न चाहेको आरोप लगाएका छन् ।

तिनको विश्वासमा गरमपन्थी अत्यधिक आर्थिक दवाव हाल्दा पनि सफलता प्राप्त नभए उपयुक्त समयमा सैन्य कारबाहीबारे विचार गरिरहेका छन् ।  

वास्तविकता के हो ?
यी दुई दृष्टिकोणलाई मिलाएर हेर्दा मात्र ‘यथार्थ’ बाहिर आउँछ । अहिलेको अमेरिका र इरानबीचको विवाद कुनै पूर्व निर्धारित योजनाबीना अचानक अगाडि आएको जस्तो देखिए पनि ट्रम्प सत्तामा आएबाट नै यस्तो अवस्थाको आशंका गरिएको थियो । 

सन् २०१५ मा इरान र विश्वका शक्ति राष्ट्रबीच भएको परमाणु सम्झौतापछि इरानमाथिका जुन जुन प्रतिबन्ध हटाइएका थिए, हाल सम्झौताबाट अमेरिका बाहिरिएर ति प्रतिबन्ध पुन लगाइएको छ । 
यहीँबाट इरान र अमेरिकाबीचको वर्तमान गतिरोध शुरु भएको हो ।

यसबाट इरानको अर्थव्यवस्था नराम्रोसँग प्रभावित बनेको छ । यसबीच इरानले सम्झौतामा प्रतिवद्ध जनाइरहेका बाँकी युरोपेली शक्तिलाई परमाणु गतिविधि पुनः संचालन गर्ने चेतावनी दिएको छ । 

ट्रम्प अमेरिकी सेनालाई विदेश पठाउन चाहँदैनन् ?
डोनाल्ड ट्रम्प सत्तामा आएपछि इरानसँगको अमेरिकी सम्बन्ध महत्वपूर्ण मोडमा पुगेको छ । 

एक वर्ष अघि राष्ट्रपति ट्रम्पले इरानसँग भएको परमाणु सम्झौता तोडिदिए । त्यसपछि उनले इरानविरुद्ध अधिकतम दवावको रणनीति अंगिकार गरेका छन् । यसबाट इरानले ठूलो असहजता भोगिरहेको छ । 

इरानले परमाणु कार्यक्रमका युरोपेली हस्ताक्षरकर्ता राष्ट्रलाई खराब हुदैं गएको आफ्नो अर्थतन्त्रलाई सहयोग गर्न माग गरेको छ । यसो नभएमा आफू परमाणु कार्यक्रमबाट बाहिरिने उसले धम्की दिइरहेको छ । 
तर इरानको उक्त कदम अमेरिकालाई इरानमाथि कारबाहीको गर्ने बहाना हुनसक्छ । 

इरानसँग युद्ध गर्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्प आफै पनि त्यति उत्साहित नभएको रिपोर्ट बाहिर आएका छन् । उनले राष्ट्रपति निर्वाचन अभियानमा अमेरिकी सेनालाई विदेश पठाउने कुराको विरोध गरेका थिए । 
तर अमेरिकी सेना वा तिनको आधारमाथि आक्रमण भएको अवस्थामा उनले चुपचाप बस्न मिल्नेछैन । 

युरोपेली राष्ट्रको चिन्ता
यो सबैबीच अमेरिकाको मध्यपूर्वका प्रमुख सहयोगी इजरायल र साउदी अबर किनारामा बसेर तमासा हेरिरहेका छन् । तर अमेरिकाका युरोपेली मित्र राष्ट्र भने विकसित घटनाक्रमबाट चिन्तित छन् । 

स्पेन, जर्मनी र नेदरल्याण्डले विकसित तनावलाई औँल्याउँदै विगतदेखि अमेरिकासँग गर्दै आएको सैन्य गतिविधिलाई रोकिदिएको छ ।

यदी भावी दिनमा इरान र अमेरिकाबीच युद्ध भड्किएमा त्यो मुलत समुन्द्री र हवाई युद्ध हुनेछ । तर केहीपछि नै युद्ध सम्पूर्ण मध्यपूर्व फैलिनेछ । 

युरोप इरानसँगको युद्धले निम्त्याउन सक्ने यही भयावह अवस्थाबाट चिन्तित देखिन्छ । 

ट्रम्पको कमजोर अन्तराष्ट्रिय कुटनीति
ट्रम्प सत्तामा आएपछि केही विज्ञले विदेश नीति मामिलामा अमेरिकाबाट ठूल ठूला कमजोरी हुने आशंका व्यक्त गरेका थिए । 

इरानसँगको गतिरोधलाई त्यही कमजोरीको हिस्साको रुपमा हेरिदैंछ । ट्रम्प सत्तामा आएलगतै जलवायु परिवर्तनजस्ता महत्वपूर्ण अन्तराष्ट्रिय सम्झौताबाट अमेरिकालाई निकाले । अन्य अन्तराष्ट्रिय सम्झौताप्रति पनि उनको असहमति व्यक्त गरे । 

त्यस्तै क्षेत्रीय मित्रका एजेण्डमा पूर्ण निर्भर रहने, लामो समयदेखि नाटोका सहयोगी मित्रसँग तनाव सिर्जना गर्नेजस्ता कुटनीतिक कमजोरी अवलम्बन भएका छन् ।  

के साँच्चै इरानबाट अमेरिकालाई खतरा छ ?
के इरानबाट अमेरिकामाथि ठूलो संघर्षनै आवश्यक हुने खालको खतरा छ ? धेरै अमेरिकी कुटनीतिक पण्डित यसमा सहमत छैनन् । 

अमेरिकी कुटनीतिज्ञहरुले हाल इरानलाई अमेरिकी हितमाथि आक्रमण भए गम्भीर परिणाम भोग्नुपर्ने प्रष्ट सन्देश दिए पनि युद्ध आवश्यक नभएको बताएका छन् । 

स्थिति निश्चित रुपमा युद्धतर्फ अघि बढीरहेको छ । तर पुरा प्रक्रिया अनिच्छा पूर्ण रुपमा अघि बढिरहेको देखिन्छ र यसमा कसैको नियन्त्रण नभएको देखिन्छ ।  

तर यदी कुनै संघर्ष भयो भने यो अमेरिकी र इरानीबीचको अल्पकालीन सोच र कुटनीतिक असक्षमताका कारण निम्तनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप